अर्घाखाँचीका आचार्य राष्ट्रिय कविता प्रतियोगितामा प्रथम

  
अर्घाखाँचीका आचार्य राष्ट्रिय कविता प्रतियोगितामा प्रथम

काठमाडौँ ११ फागुन काठमाडौँ महानगरपालिका टोखास्थित न्हुज खलः ले आज राजधानीमा आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम हुनु भएको छ । मालारानी– ५ बागीका आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा झापाका केशव भट्टराई द्वितीय, उदयपुरका जीवन आरोही तृतीय, पोखराका प्रकाश आचार्य, रौतहटका मनोजकुमार विश्वकर्मा र काठमाडौँ बत्तिसपुतलिका सुनिता भेटवालले सन्त्वना स्थान हासिल गर्नुभयो ।
उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई २० हजार, तृतीलाई ३० हजार र सान्त्वना हुनेलाई १० हजार सहित सम्मानपत्रबाट पुरस्कृत गर्नुभयो ।

प्रतियोगितामा एक सय जना प्रतिस्पर्धीले भाग लिएका थिए । एक सय जना मध्येबाट प्रथम चरणमा ५० जना, द्वितिय चरणमा २५ जना, तृतिय चरणमा १५ जना गर्दै चौथो चरणबाट १५ बाट उत्कृष्ट छ जना छनोट गरिएको हो ।
उपप्रधानमन्त्री पोखरेलले कविले कवितामार्फत राष्ट्रभक्ति भावना जागृत गरेको बताउँदै साहित्यकारका सिर्जनाले जागरण र रुपान्तरणमा मद्दत मिल्ने गरेको बताउनुभयो ।

विश्मा अहिले शक्तिशाली मानिएका मुलुक समेत इतिहासमा पराधिन रहनु परेपनि नेपाल सधै स्वतन्त्र राष्ट्रिको रुपमा रहेको बताउनुभयो । उहाँले नेपालमा विकासका प्रशस्तै संभावनाहरु रहेको भन्दै वर्तमान सरकारले आवश्यकता र औचित्यलाई पहिचान गर्दै समृद्धिको अभियानलाई सकार पार्ने बताउनुभयो ।

“प्राकृतिक श्रोत र साधनको उपयोग गर्दै युवाहरु उत्पादन मूलक कार्यमा जोडिनुपर्छ” उहाँले भन्नुभयो, “युवाले अब विदेशमोह त्याग्दै राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्ने बेला आएको छ । ”
प्रतियोगिता निर्णायक मण्डलका संयोजक साहित्यकार श्यामलले प्रतियोगितामा भाग लिएका ६० प्रतिशत व्यक्तिका कविता पूर्ण रुपमा कविता बनिनसकेको बताउनुभयो ।

“धेरै कविता भर्खर सिक्न लागे जस्ता छन्” राससका अध्यक्ष समेत रहनुभएका उहाँले भन्नुभयो, “सिक्ने प्रयास गर्नु सकारात्मक पक्ष हो, मिहिनेत गरेमा भविश्य उज्जवल छ ।” उहाँले कवितामा पुरानै विषयवस्तु हावी भएको पाइएको बताउँदै मौलिकता र नयाँपन दिनुपर्ने बताउनुभयो । श्यामलले पर्याप्त अध्ययन विना कविताको सान्दर्भिकता नझल्कने भन्दै प्रकृति, मानवशास्त्र र विश्वजगतको अध्ययन जरुरी रहेको औंल्याउनुभयो ।

नेपाल प्रज्ञा– प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले साहित्यले मनोरञ्जनसँगै मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न समेत मद्दत गर्ने धारणा राख्नुभयो । उहाँले छन्द लयमा लेखिएका कविताले मानिसको मानसपटलमा राम्रो प्रभाव छाड्ने बताउँदै कविताले छिट्टै मानिसलाई आर्षित बनाउने बताउनुभयो ।

सोही अवसरमा न्हुव प्रगतिशिल साहित्य पुरस्कारबाट साहित्यकार पूर्ण वैद्यलाई रु ५० हजार र सम्मानपत्रबाट पुरस्कृत गरियो ।
संस्थाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले समाज सुधारमा युवा वर्गलाई आकर्षित गर्ने उद्देश्यका साथ विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने गरिएको बताउनुभयो ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय