मन छ

  
मन छ

लेखक- ईन्दिरा पौडेल

म तिमी जस्तो हुन सकिन,
किन मेरा अघिल्तिर पिरामिड यसरी खडा भैदिन्छन,
म चाहेर वा नचाहेर रहरले हो या कहरले,
मलाई तिमी जस्तै हुन मनछ,
तिम्रो उन्मुक्त पखेटामा विचरण गर्दै,
तिम्रै हृदयस्पर्श गर्न मन छ,
तिम्रै सपनामा मस्त निदाउदै,
अतितमा फर्कन मन छ,
प्रत्येक पन्नामा तिम्रै हरफ लेख्न मन छ ।
दिन सक्छ एउटा सानो झिल्को,
त्यसैमा म राँको बनेर सल्किन मन छ,
जीवनलाई कायपलट गर्दै तिम्रै गोरेटोमा लम्कन मन छ,
एकपटक दृष्टि त देउ,
तिम्रै भक्त भएर बाँचिरहन मन छ।
मलाई आँसु हैन खुसीमा बौरीन मन छ,
भूमध्यसागरमा आफैंलाई हराउन मन छ,
हरेक निशब्द मा,
एक्लै-एक्लै बोल्न मन छ,
तिम्रै विचारका बिम्बहरु,
आफ्नै बाहुमा कस्न मनछ,
किनकिन मलाई तिम्रै बगैंचामा फूल्न मन छ,
समयको पर्खाल भत्काउँदै मलाई तिमी जस्तै हुन मन छ ।।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post