डा. केसीको अनसनमा प्रधानमन्त्री ओलीको चाँसो

  
डा. केसीको अनसनमा प्रधानमन्त्री ओलीको चाँसो

काठमाण्डौ । डा. गोविन्द केसी अनसन बसेको २३ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली चासो दिएका छन् । डा. केसीका मागहरु सम्वोधन गर्न सरकारले वार्ता सुरु गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

मंगलबार बेलुका बालुवाटारमा आयोजित नेकपा सचिवालय बैठकमा नेकपाका नेताहरुले डा. केसीको जीवनरक्षा बारे चासो राखेपछि प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको जवाफ दिएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार अपरान्ह बसेको सचिवालय बैठक अनशनरत डा. गोविन्द केसीमाथि नै केन्द्रित भएको थियो । सचिवालयका नेताहरुले डा. केसीको जीवन रक्षाबारे सरकारले ठोस् कदम चाल्नुपर्ने कुरा उठाएपछि बैठक त्यसैबारे केन्द्रित भएको हो । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले सरकारले गर्नुपर्ने पहल गरिरहेको जवाफ दिएका थिए ।

सचिवालय बैठकमा नेताहरुले डा. केसीबारे आवाज उठाउनुभन्दा केही घण्टाअघि मात्रै प्रधानमन्त्री ओलीले शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीलाई डा. केसीसँग भेट्न अस्पतालमा पठाएका थिए । अपरान्ह बसेको सचिवालय बैठकमा नेताहरुले डा. केसीबारे चासो राखेका थिए । सचिवालय बैठक अगाडि बरिष्ठ नेता माधवकुमार नेपालले डा. केसीको जीवन रक्षा गर्नुपर्ने प्रतिक्रिया दिएका थिए । मंगलबार बिहान नेता नेपालले डा. केसीको जीवन रक्षालाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।

मंगलबारको बैठकमा सहभागी नेताहरुले सहजकर्तालाई प्रयोग गरेर भए पनि समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको ती नेताले बताए । विभिन्न ६ बुँदे माग राख्दै डा. केसी २२ दिनदेखि अनशनरत छन् । १९औं पटक अनशन बसेका केसीले यसपटक विकट क्षेत्रमा चिकित्सा शिक्षासहित कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्न पनि माग गरेका छन् । केसी अनसन बसेको २३ दिन पछि बल्ल सरकारले चासो दिन थालेको हो ।

भदौ २९ मा जुम्लाबाट अनशन थालेका डा. केसी अहिले त्रिभुवन शिक्षण अस्पतालमा अनशनरत छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै दिनहुँ सडक प्रदर्शन समेत भइरहेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय