मन्त्रिपरिषद् पुर्नगठन अनिश्चित

  
मन्त्रिपरिषद् पुर्नगठन अनिश्चित

काठमाण्डौ । नेकपाका नेता मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपनि अझै अन्योलमै छ।

नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा यससम्बन्धी एजेन्डाले प्रवेशै पाएन। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई दिनयताका छलफल मन्त्रिपरिषद् पुनर्गठनबारे सकारात्मक भएको नेताहरूले बताएका थिए। तर, प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे विषय नै प्रवेश नगराएको नेताहरूले बताएका छन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे सचिवालयमा छलफल नभएको बताए। ‘प्रधानमन्त्रीले त्यसबारे जानकारी गराउनुभएन’, प्रवक्ता श्रेष्ठले भने, ‘दुई अध्यक्षबीच छलफल चलिरहेको छ।’ ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भने जारी रहेको प्रवक्ता श्रेष्ठले बताए।

प्रधानमन्त्री ओलीले सोमबारै तीन रिक्तसहित केही मन्त्री हेरफेरको तयारी गरेका थिए। ओलीनिकट एक नेताका अनुसार मन्त्री बनाउन खोजिएकाहरूले नै अनेक समस्या देखाएपछि मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डा छलफलमा नल्याइएको हो। मन्त्री बनाउन खोजेकाहरूले नै समस्या देखाएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डाबाट पछि हटेको ती नेताले बताए।

बैठकमा राजदूत नियुक्तिको सिफारिसबारे प्रश्न उठेको स्रोतले बतायो। सचिवालयका सदस्यको सुझाव, दुई अध्यक्षको आपसी परामर्श र सहमतिका आधारमा मात्र संवैधानिक र राजनीतिक निर्णय गर्ने सहमतिविपरीत प्रधानमन्त्रीले एकलौटी रूपमा राजदूत सिफारिस गरेको भन्दै नेकपामा असन्तुष्टि देखा परेको छ। बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले संवैधानिक र राजनीतिक नियुक्तिका लागि रोस्टर बनाएर पार्टीमा छलफल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए। संवैधानिक नियुक्तिका विषयमा प्रारम्भिक छलफल भएको र आगामी बैठकमा त्यसबारे गहन छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।

वरिष्ठ नेता झलनाथ खनालले कुनै विषयवस्तु केन्द्रित छलफल बैठकमा नभएको बताए। ‘छल भयो, फल भएन’, खनालले अन्नपूर्णसँग भने, ‘राजदूत सिफारिसबारे पनि के सुझाव दिनु रु बैठकमा नेताहरूबीच गफगाफ मात्र भयो।’ बैठकमा संगठन विभाग प्रमुख वामदेव गौतमले तीन महिनाभित्र पार्टीका सबै सदस्यको सदस्यता नवीकरणको कार्ययोजना पेस गरेका थिए। विभागले असोज, कात्तिक र मंसिरमा सदस्यता नवीकरण अभियान सञ्चालन गर्न प्रस्ताव गरेको छ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय