कांग्रेस सांसदलाई दसैं भत्ता फिर्ता गर्न सभापती देउवाको आग्रह

  
कांग्रेस सांसदलाई दसैं भत्ता फिर्ता गर्न सभापती देउवाको आग्रह

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।

संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दसैं भत्ता संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिएका हुन्। कोरोना महामारी र कतिपय सांसद चाडपर्व मनाउन उपत्यका बाहिर गइसकेकोले तत्काल संसदीय दलको बैठक राख्न सम्भव नभएपछि देउवाले उक्त निर्देशन दिएका हुन्।

कांग्रेस सांसदहरूले संसदीय दलमै छलफल गरेर सबै सांसदको भत्ता फिर्ताको निर्णय गर्नुपर्ने माग गरिरहेका छन्। सभापति देउवाले सोमबार संसदीय दललाई सांसदका भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सभापतिले दसैं भत्ता फिर्ता दिन निर्देशन दिइसकेको जानकारी दिए।

‘अहिले संसदीय दलको बैठक बस्न सक्ने अवस्था छैन। कतिपय सांसदहरू उपत्यका बाहिर हुनुहुन्छ,’ उनले भने, ‘सभापतिलेज्यूले भत्ता फिर्ता दिन निर्देशन दिइसक्नु भएको छ। यसबारे दिउँसो विज्ञप्तिबाट औपचारिक जानकारी गराइन्छ।’

खाँणले आइतबार नै संसद सचिवालयलाई पत्र लेखेर भत्ता फिर्ता गर्ने जानकारी गराएका थिए। कोरोना महामारीका बेला दसैं भत्ता लिनु उपर्युक्त नहुने पनि खाँणले बताएका छन्। ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदले आफ्नो खातामा आएको दसैं भत्ता संसद सचिवालयमार्फत् सरकारलाई र कोरोना कोषलाई फिर्ता गरिदिने निर्णय भइसकेको छ,’ उनले भने।

सरकार कोरोना संक्रमितको परीक्षण र उपचारबाट पन्छन नमिल्ने पनि कांग्रेसको भनाइ छ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय