हरेक मानिससँग आत्महत्या गर्नुपर्ने कथा छ

  
हरेक मानिससँग आत्महत्या गर्नुपर्ने कथा छ

श्रीमती माइत गएकी थिइन् । गाइवस्तु भोकाएका थिए । बारीमा कुटमिरोको घाँस खसाल्न रुख चढेको थिएँ । थाहै थिएन एउटा हाँगो बर्खामै सुकेको रेैछ भाँचियो । तल खसेँ । आँखा तिरिमिरी भो। तै पल्लो खरबारीमा बाख्रा चराउँदै गरेका भुपाल दाइले देखे । बोकेर घरमा लगे । हर नचल्ने भएछ । रातभर निद्रा परेन । इन्तु न चिन्तु भएँ । छिमेकी कुर्न बसे ।

बिरिन चोकका साइला राईले भात ल्याए । अघिपछि धोतीपाटा फेरी भान्सामा खाने बाहुन म तर आज राइले पकाको खाएँ । श्रीमती यही बेला माइत जानुपर्ने र मलाई यही बेला लड्नु पर्ने । कतिदिन ओछ्यान पर्ने हुन् लेखबहादुर दाइ अब हस्पिटल जानुपर्छ भन्न थाले। भोलिपल्ट गाडीमा दुईवटा सिट रिजर्भ गरी सुताएर काठमाडौँ ल्याए । सुमेरु अस्पतालको दुई सय तीन नम्बर वार्डमा भर्ना गरे । सनद नेपाली, लालबहादुर विक, कान्छा दमाई, काले सार्की र गुइँठे घर्तीले साथ दिए । धन्य बाँच्न पाएँ । मेरा छिमेकी भगवानका अंश । के हो जात के हो कूजात । सबै भगवानका सिर्जना । एउटा बाहुन भनाउँदो आगन जोडिएर के भो हिड्ने बेलामा भेट्न् पनि आएन ।

श्रीमतीजी भोलिपल्ट आइन् । पैसाको जोहो गरिछन् । ढाडको अप्रेसन गर्नुपर्छ भन्ने कुरा भो । निकै महङ्गो रैछ यो । अप्रेसन गरेको मात्रै एक लाख । अप्रेसन नगर्ने हो भने भित्र फुटेको हड्डीबाट रगत बगिरहन्छ रे । पछि धेरै नै समस्या आउने कुरा ग-यो हस्पिटलले । खेतीपातीको बेला छिमेकीलाई अल्मलाउनु पनि भएन । उनीहरूलाई जाऊ भनेँ । गए बिचाराहरू । तिनीहरू गएपछि कस्तो एक्लो भएजस्तो लाग्यो ।

ऋण गरेरै भए पनि बाँच्नुत प-यो नि है ! श्रीमतीले एक लाख डिपोजिट गरिन् । तीन दिनपछि अप्रेसनको पालो आउने भयो । एक लाख धरौटी राखेपछि अप्रेसन हुने भयो । लाग्ने औषधि र वेड चार्ज अलग । अप्रेसन हुन दुई दिन अझै बाँकी थियो । गाउँमा गाईवस्तु भोकै । अप्रेसन गर्नी बिहान मात्रै आउनु भनेर श्रीमतीलाई पनि गाउँ पठाएँ । ह्वीलचियरमा बाथरुमसम्म लैजाने र ल्याउने काम नर्सिङहोमले गर्दो रहेछ । 

तीन दिनपछि अप्रेसन भयो । खोइ के के भो । मलाई त बेहोस गराएछन् । अप्रेसन वार्डमा जाँदासम्म श्रीमती र छिमेकी काले सार्की देखेथेँ । एक पाउन्ड रगत चाँहिदा उही आफ्नै छिमेकी काले सार्कीले दिएछन् । अप्रेसनपछि दुई दिन त आईसीयूमा राखियो । जिब्रो लरबरिएर बोल्न पनि नसक्ने भएछु । धन्न बाँचेछु । अहिले मेरो शरीरको नसामा बगिरहेको रगत उही छिमेकी काले सार्कीको हो । म बाहुन अरुको घरको पानी मुखमा नपरेको जात आज कालेको रगतले बाँचिरहेको छु ।

सार्की होइन उ मेरा लागि देउता हो । देउता मान्छेभन्दा उपल्लो स्तरमा गनिन्छ । तर खोइ मलाई रगत चाहिएको बेलामा देवता चुपचापले स्वर्गमै बसे । नर्सिङहोममा एक एक घन्टामा डाक्टर आउँछन् । नर्सको त्यस्तै रेखदेख छ । अप्रेसन गरेको घाउ निको हुन समय लाग्छ भन्छन् । श्रीमतीले ऋण गरेर ल्याएकी एक लाख रूपैयाँ सकिएर पनि अर्को सत्तरी हजारको बिल आयो । एक लाख ऋण तिर्न गोठका सबै खसीबोका र दुनु भैँसी बेच्नुपर्छ । कसरी पत्याए मलाई ऋण यही अचम्म लाग्यो । धन नकमाए पनि मान्छे चैँ कमाएको रेछु । आईसीयूबाट निकालेपछि श्रीमती घर गइन् । म कहिलेसम्म ठीक हुने हो टुङ्गो थिएन । तल गेटमा खाना र सुप खाएको पैसा पनि तिरेको थिएन । घरिघरि किन आउनु प¥यो अब डाक्टर ? कोठाभित्र छिरेपछि सात सयको बिल चढ्छ भनेँ । बिलहरू थुप्रो आउन थाल्यो । 

आज पाँचौँ दिन भो । बेडसँगै जोडिएको झ्याल थियो । अलिकति उभिन सक्ने भएछु । रिगटाचैँ लागि नै रहेको छ । झ्यालबाट तलतिर हेरेँ । झिलमिल बत्तीहरू बलेका छन् । तर मनको बत्ती भने मधुरो बलिरहेछ । रातपरेपछि उल्का एक्लो महसुस हुन्छ । हिजोसम्म श्रीमती थिई गुँइठे घर्ती थियो । सबै राखेर पनि के खर्च पु-याउनु पनि हम्मे प-यो । गीलो जाउलो खान पाए पनि हुने । भोक धेरै लागेको छ । भोक एकातिर अर्काेतिर बिलको चिन्ता ।

श्रीमतीले पनि कताबाट खोजेर ल्याओस् । कस्तो दसा । किन म अभागीलाई कुटमिरोको रुख चढ्नुपरेको होला । अप्रेसन गरेर पनि ढाड सोझो होला भन्ने ग्यारेन्टी छ र खै । दुखाइ उस्तै त छ । पहिलाको जस्तो सोझिएर हिँड्न पाउछु होलार ? सधैँ पिँडीमै सुतेर जिन्दगी बिताउनु प-यो भने के गर्नु ? गाइवस्तु भोकले कराएको बेला छेउमा रहेको घाँस पनि हाल्दिन सकिन भने म बाँचेको पो के काम है ? तिन्लाई प्यास लागेको बेला नजिकै रहेको खड्कुलाको पानी उचालेर दिन सकिन भने तिनको आँसुले मलाई कति पिर्दो होला । प्यासले सुकेको तिनको घाँटी तिनलाई लागेको भोक म कसरी टोलाएर हेर्नु है ! सधैँ पिँडीमै सुतेर मेरो जिन्दगी बित्ने हो भने म बाँचेको के सार ?

खोरमा एउटा मोटो थुम्मो थियो । आफूले खाएपछि ढिँडाको डल्लो त्यसको मुखमा हाल्दिन्थेँ । कस्तो मीठोसँग खान्थ्यो त्यसले ! 
बेडमा टेकेर तलतिर मुन्टो फर्कारहेछु । ढाड उल्का दुखेको छ ।

भोलि निको भए पनि नर्सिङहोमको बिल नतिरी मलाई निस्किन दिँदैनन । निस्किँदासम्म तीन लाखको बिल आउने होला । त्यति रकमलाई त मेरो सबै घरबार बेच्नु पर्छ । बिहे गरेको तीन वर्षसम्म सन्तान पनि भएनन् । श्रीमती पनि कति अभागी रैछ । हिजो चेक गर्न आउँदा डाक्टरले भनेको कुराबाट झन् चिन्तित पो छु । ढाडको अप्रेसनपछि सन्तान हुने सम्भावना कम हुन्छ रे ! धन्न त्यतिबेला एक्लै थिएँ । म जिन्दगीभरको कुप्रो बिमारी सधैं पिँडी छेउमा । अनि श्रीमती तरुनी । उसको बैँस । सन्तानइच्छा होला । उसको चाहना पूरा गर्न पनि सक्तिन ।

सन्तान खेलाउने रहर हुन्छ महिलालाई । पँधेरोमा चर्चा होला भोलि । तिम्रा पोइको कमजोरी कि तिम्रो कमजोरी सन्तानत भएन नि भन्लान् । कुरा होला । मलाई आएर सोध्ली । म ओछ्यानमा ढलेको एउटा जावो कालो मुढोले के जवाफ् दिनु फेरि । कुरो खोल्नु कि नखोल्नु । ऋण त ज्याला मजदुर गरेर पनि तिरुँला । तर निसन्तान बनेर त के बाँच्नु खै । हेला गर्छे श्रीमतीले । खोइ के पोइ भन्लिन् र कमजोरी भेटेपछि । सम्बन्ध सुरुमा मात्रै हो सुवासीलो, प्यारोपन, मधुमय तर भोग्दै जाँदा खोइ किन पो हो रमाइलो हराउँदै जाँदो रहेछ । कमजोरी थाहा भएपछि कति हेप्छन् त्यो बिरिनचोके राई साइँलाको देखेछु मैले ।
निद्रा लागेन । आँखा टर्रो छ । रातको बाह्र बज्यो । पेन किलर पाँच सय एमजी खाएपछि अति कमजोर होइँदो रहेछ ।
कस्तो भोकले आँखै तिरिमिरायो । 

कठै ती गाईवस्तुलाई पनि यस्तै भोक त लाग्दो होला नि है । पल्लो बेडमा जन्डिस लागेको एक जना बिमारी भाई थिए । तिनलाई उनको आफन्तले खाना ल्याएका रहेछर्न । चिल्लो धेरै रैछ भनेर उनले मलाई दिए । मैले निलेको प्रत्येक भातको गाँसमा एउटा दारुण चिन्ता थियो । एउटा अभावको बतासले छोएर गयो झ्यालबाट सुटुक्क । अनिश्चित भोलिको घामले पनि मलाई उज्यालो दिने हुन् कि नदिने हुन् । उधारो ओखतीको बिलमा निहाले । आँसु तरर आयो । कसरी तिर्ने । यो प्रश्नले घोचेको छ छाती । अघि भात खाएको हो कि मैले माटो खाए रन्थनिए केही बेर । चारैतिर अँध्यारो लाग्यो । एकाएक सहरको बत्ती निभेजस्तो लाग्यो ।

उपचार गर्न नर्सिङहोम कसैलाई पनि नजानु भन्छु सब गाउँलेहरूलाई । भोलि अपाङ्ग भएर निस्किँदा पनि त्यत्रो ऋण बोकेर गाउँ फर्किन प-यो भने । के मलाई निको होलात ? के मप्रति भगवान दायिना होलान त ? के म फेरि पहिलेको जस्तै हुन्छु हाला र ? के म बाबु बन्न सक्छु होला त ? के म आफ्नो वंश चलाउने एउटा सन्तान दिन सक्छु होला त श्रीमतीलाई ? के म फेरि दरौदी किनारमा बगेको कन्चन पानी हातले उभाएर पिउनसक्ने हुन्छु हुला त ? के म फेरि सद्दे भएर गहुँबारी हुँदै सिरानचोकसम्म हिँडेर जान सक्छु होला त ? के म फेरि सनद नेपालीको पर्म तिर्न सक्छु होला त ? के अब फेरि म गाईलाई कुँडो दिने खडकुलो उचाल्न सक्छु होला त ? झ्यालबाट चन्द्रमाको उज्यालो चुहियो । 

सम्झनाको आँसुले भिज्यो आँखा । कोल्टे फर्किएर रोएँ । उता बेडको भाइले सोधे “दाइ निकैबेर भो उता फर्किनु भाको“ झल्यास भएँ । नदेख्ने गरेर आँसु पुछेँ । मध्य रात भो । ती भाइ निदाए । शून्य छ कोठा यतिबेला । फेरि उठें । झ्यालबाट हेरेँ । तेस्रो तल्लाबाट भुइँसम्म आँखा पु-याए । तल भुइँमा मोटरसाइकल पार्क गरेको थियोे । के होला म यो झ्यालबाट हामफालेँ भने... उत्तर पाउन सकिन । भोलि नर्सिङहोमको बिल तिर्न नसक्ता जेल जानुपर्ने हुन्छ । गाउँलेहरू कहिले बेमान भएर बाच्न चाहँदैनन् बरु प्राण दिन तयार छन् । बेमान भएर बाँच्न प-यो भने त आधा मरेझैँ भै त गो नि । 

उठेँ, हेरेँ फेरि झ्यालबाट । खुट्टा काम्न थाल्यो । हाम फाल्छु जे त पर्ला । उसै त म जिन्दगीभर अपाङ्ग नै त हुँ । अब के छ र । कसैको बोझ बन्न त पर्दैन । गाउँलेहरू केही दिन दुखी होलान् । गाइवस्तुले पनि बिर्सिँदै जालान् । श्रीमतीलाई केही महिना वा वर्ष गाह्रो होला । पछि अरु नै सँग बिहे गर्ली । आखिर स्थायी सम्बन्ध कसैसँग छैन यहाँ । मन बाधेँ । ऋण सम्झेँ । बिल सम्झेँ । बेज्जति सम्झेँ । अनि सम्झिए पिँडीमा झोक्राएर अपाङ्ग भई बाँचिरहेको पल । 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय