सरकार र डा. केसी बिचको वार्ता भाँडियो, उनको स्वास्थ्य जटिल

  
सरकार र डा. केसी बिचको वार्ता भाँडियो, उनको स्वास्थ्य जटिल

काठमाण्डौ । सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता बिना निश्कर्ष टुङ्गिएको छ ।

गएराति अबेर भएको छलफल बिना निश्कर्ष टुङ्गिएको हो । अस्ति भएको सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता विना निश्कर्ष टुङ्गिएको डाक्टर केसी पक्षका वार्ता टोलीले आरोप लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि सरकार र डा. गोविन्द केसीबीच हुनै लागेको सहमति भाँडिएको हो ।

६ बुँदे माग राखेर अनसन डा. केसी पक्ष र सरकारी टोलीबीच बिहीबार दिनभर भएको वार्तामा लगभग सहमति जुटेको थियो । सहमतिको मस्यौदाबारे सरकारी वार्ता टोली एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याएका थिए । सरकारी पक्षबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) पदाधिकारी लगायतको नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषामा थोरै हेरफेर गरेको थियो ।
अरु सबै विषयमा दुबै टोली सहमत थिए । त्यही परिमार्जित विषयमा दुई वार्ता टोली बसेर टुंगो लगाउने र डा. केसीको अनसन शुक्रबार नै तोडाउने तयारी थियो । त्यही सन्देश पाएको डा. केसीको वार्ता टोली दिनभर तयारी अवस्थामा थियो । तर सरकारी टोली वार्तामा आएन । स्रोतका अनुसार सरकारी वार्ता टोलीका संयोजक मैनालीले लाइन मिनिस्टरलाई देखाएर मात्र सहमतिलाई आौपचारिकता दिन चाहे।

तर शिक्षामन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गरे । उनले चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा डा.केसीसँग सहमति भएको मिति राख्न चाहेनन् । साथै अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद बैठकमा लैजाने भन्ने बुँदा पनि हटाउन लगाए । सहमतिको मस्यौदामा संशोधन गरेर हिँडेका शिक्षामन्त्री त्यसपछि सरकारी वार्ता टोलीसँग सम्पर्कमै नआएको बताइएको छ । डा. केसीको वार्ता टोलीले सम्पर्क गर्न खोज्दा समेत उनी सम्पर्कमा नआएपछि सहमतिको प्रयास असफल भयो ।

डा. केसीको तर्फबाट बनेको वार्ता टोलीका संयोजक जीवन क्षेत्रीले पनि सरकार सहमतिबाट पछि हटेको बताए । केसी पक्षले भने सरकारले डाक्टर केसीको ज्यान जोखिममा पार्न चाहेकाले निश्कर्षमा पुग्न ढिलाइ गरिरहेको आरोप लगाएको छ । यसैबीच डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डाक्टर सुवासप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार असामान्य धड्कन बढ्दै जाँदा मुटुको चालमा गडबड भएर मुटुले कामै गर्न नसक्ने अवस्था आउँन सक्छ । यस्तै उहाँको छातीमा समस्या देखिएकाले रेडियोलोजिस्टसँग थप सल्लाह लिन लागेको उनको भनाइ छ ।

स्वास्थ्यस्थिति निकै जटिल भएकाले जोखिम बढ्न नदिनका लागि आईसीयूमा भर्ना हुन डाक्टरले आग्रह गरेपछि डाक्टर केसीले अस्वीकार गर्दै आएका छन्। डाक्टर केसी १९ औं पटक अनशनमा बसेका आज २७ दिन पुगेको छ ।

उनले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राखेका छन् ।

उनको माग शिक्षा, स्वास्थ्य मन्त्रालय, आयोग र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय