तीन महिना भित्रै फरक नतिजा दिने ढङ्गले काम अघि बढाउँछु :अध्यक्ष अर्याल

  
तीन महिना भित्रै फरक नतिजा दिने ढङ्गले काम अघि बढाउँछु :अध्यक्ष अर्याल

काठमाडौँ १९ फागुन । न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले समितिमा तीन महिना भित्रै फरक नतिजा दिने ढङ्गले काम अघि बढाउने बताउनु भएको छ ।

उहाँले श्रमजिवि पत्रकारले पाउने पारिश्रमिकका विषयमा उठने गरेका समस्यालाई हल गर्दै उचित पारिश्रमिक निर्धारण गर्न कुनै कसुर बाँकी नराख्ने विश्वास दिलाउनुभयो ।

प्रेस सङ्गठन उपत्यका प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले आफू प्रेस सङ्गठनबाट प्रतिनिधित्व गर्दै समितिको नेतृत्व गर्न पुगेकाले सबैको भावनालाई कदर गर्दै कार्यसम्पादन गर्ने बताउनुभयो ।

अर्यालले उपत्यका प्रदेश कमिटीमा वौद्धिक र क्रियाशील पत्रकारहरूको आवद्धता रहेकाले यो कमिटी अन्य कमिटीको तुलनामा शक्तिशाली रहेको बताउनुभयो । उहाँले उपत्यका प्रदेश कमिटीले अन्य प्रदेश कमिटीलाई मार्गदर्शन गर्ने ढङ्गले काम गर्न सुझाव दिनुभयो ।

भेलामा वागमति प्रदेश कमिटीका संयोजक तथा ईन्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश कमिटीका ईन्चार्ज सुरोजंग पाण्डेको आतिथ्यता थियो ।
सङ्गठनको २४ गते सम्पन्न हुन लागिरहेको प्रशिक्षणात्मक भेला तथा सपथ ग्रहण कार्यक्रमको तयारीका विषयमा बैठक आयोजना गरिएको हो । बैठकले भेलाको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ ।

बैठकले चार जनालाई कमिटीको सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेहरुमा काठमाडौँका रेणुका भट्टराई, विनय महतो, लिलाधर कोइराला र भक्तपुरका रामचन्द्र प्रजापति रहनु भएको छ ।

बैठक सङ्गठन संयोजक नवराज दाहालको अध्यक्षता र सह –संयोजक प्रकाश सिलवालको सञ्चालनमा सम्पन्न भयो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय