इमो मार्फत चिट्ठा पर्‍यो भनेर ठगी गर्ने तीन जना पक्राउ

  
इमो मार्फत चिट्ठा पर्‍यो भनेर ठगी गर्ने तीन जना पक्राउ

दाङ । सामाजिक सञ्जाल इमो मार्फत चिट्ठा पर्‍यो भनेर ठगी गर्ने तीन जना प्रहरीको फन्दामा परेका छन् । दाङको लमही नगरपालिका-५ का दुई जना महिलालाई इमोमार्फत चिट्ठा पर्‍यो भनेर ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको दुर्गा भगवती गाउँपालिका-६ का १८ वर्षीय सुमन झा, रौतहटकै देवाही गोनाही नगरपालिका-६ का ५० वर्षीय सोनालाल ठाकुर र पर्साको वीरगञ्ज महानगरपालिका-१६ को नगवाका १८ वर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।

गएको असोज २२ गते पीडित महिलाले इमोमार्फत चिट्ठा पर्‍यो भनेर आफूलाई ठगी गरेको भनेर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि दाङ प्रहरीले खोजीका क्रममा उनीहरुलाई पक्राउ गरेको उनले बताए। जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले रौतहट प्रहरीको सहयोगमा दुई जना र पर्सा प्रहरीको सहयोगमा एक जनालाई पक्राउ गरेको हो । उनीहरुले ठूलो धनराशीको प्रलोभन देखाए आईएमई तथा विभिन्न व्यक्तिगत बैंक खातामार्फत ६३ हजार रुपैयाँ रकम पठाउन लगाएका थिए ।

त्यो रकम पठाइसकेपछि पनि फेरि फोन, म्यासेज, भ्वाइस कलका माध्यमबाट थप रकम पठाउन बारम्बार आग्रह गरेपछि महिलाहरुले आफू ठगिएको महसुस गरेर प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय