प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न संसद् भंग गर्‍यौँ : बादल

  
प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न संसद् भंग गर्‍यौँ : बादल

भरतपुर । गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न संसद् भंग गरिएको बताएका छन् । ओली समूहले भरतपुरको एक रिसोर्टमा सोमबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले उक्त कुरा बताएका हुन् ।

जसरी पनि प्रधानमन्त्री बन्ने महत्वाकांक्षाका कारण प्रचण्डले पार्टी नेतृत्व र प्रधानमन्त्रीविरुद्ध सोनारको सय चोटजसरी निरन्तर प्रहार गरेको उनले चर्चा गरे । ‘प्रचण्डले सोनारको सय चोटजसरी हानिरहे । हामीले पनि लोहारको एक चोट भनेजसरी संसद् भंग गरिदिएर प्रधानमन्त्री बन्ने प्रचण्डको बाटो नै बन्द गरिदियौँ ।’ 

पार्टी र सरकारको नेतृत्वलाई असफल बनाउन प्रचण्डले सुरुदेखि नै अनेक चलखेल गरेको चर्चा गर्दै उनले त्यही क्रममा प्रचण्डले अध्यक्षमाथि आरोपपत्र ल्याएको दाबी गरे । ‘प्रधानमन्त्री हत्याउने प्रचण्डको योजना असफल बनाउन संसद् विघटन गरिएको हो,’ उनले भने, ‘प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सी मात्र चाहिएको छ । सही विचार र सही नेतृत्व भएकै कारणले मैले केपी ओलीलाई साथ दिएँ ।’

प्रधानमन्त्री बन्ने भए जनताको बीचमा गएर निर्वाचित हुन र अध्यक्ष बन्ने भए महाधिवेशनबाट विजयी भएर आउन बादलले प्रचण्डलाई सुझाब दिए । ‘पुरानो संसद्ले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सक्दैन । त्यसैले, प्रधानमन्त्री हुन केपी ओलीले घोषणा गरेको चुनावमा आउनुको विकल्प छैन,’ उनले भने । प्रचण्डका लागि यो अवसरसमेत भएको उनले जिकिर गरे । उनले प्रचण्डलाई अवसरवादी नेताको आरोपसमेत लगाए । उनले प्रचण्ड–नेपाल समूहले पार्टी नभई गुट निर्माण गरेको दाबी गरे । 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय