टेलिकमले सुटुक्क सुधार्‍यो अर्काको प्याकेज हेर्न मिल्ने कमजोरी

  
टेलिकमले सुटुक्क सुधार्‍यो अर्काको प्याकेज हेर्न मिल्ने कमजोरी

काठमाडौं, सावन १५ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले अर्काको मोबाइलमा रहेको प्याकेज र त्यसको भ्यालिडिटी (मान्य अवधि) हेर्न सकिने सुरक्षा कमजोरी सुटुक्क परिवर्तन गरेको छ । कम्पनीले अर्काको ब्यालेन्स हेर्न सकिने विषयमाथि पुनर्विचार गर्दा प्याकेज सम्बन्धी कमजोरी समेत सुधार गरेको हो । 

यसअघि सुविधाको रुपमा यस किसिमको व्यवस्था गरिएको भन्दै नेपाल टेलिकमका सहायक प्रवक्ता रञ्जित लोहियाले प्रश्न उठेपछि सुधार गरिएको बताए । प्रयोगकर्ताले सजिलै आफूले लिएको प्याकेज थाहा पाउन सकोस् भन्ने उद्देश्यका साथ त्यस किसिमको फिचर राखिएको उनको भनाई छ ।

सहप्रवक्ता लोहियाले भने, ‘तर यो फिचरले व्यक्तिगत गोपनीयता सार्वजनिक भएको सूचना प्राप्त भएसँगै सम्बन्धित व्यक्तिले मात्र हेर्न सक्नेगरी मिलाएका छौं । कुनै व्यक्तिको मोबाइलमा लिएको भ्वाइस तथा डेटाको प्याकेज र त्यसको भ्यालिडिटी सकेसम्म अरुले थाहा नपाएकै राम्रो हो ।’

यसअघि टेलिकमको वेबसाइटमा रहेको अफर फिचरभित्र रहेको भोलुम क्वेरीमा गएर मोबाइल नम्बर राखेकै भरमा कुनै पनि जीएसएम तथा सीडीएमए मोबाइलमा रहेको प्याकेजको जानकारी हेर्न सकिने अवस्था रहेको थियो । अब भने पुक नम्बर राखेपछि मात्रै यस्तो विवरण थाहा पाउन सकिनेछ ।

तर पुक (PUK) नम्बर थाहा पाएको खन्डमा अझै पनि सम्बन्धित बाहेकका अन्य व्यक्तिले समेत यस्तो जानकारी हेर्न सक्छन् । त्यसैले आफ्नो मोबाइल नम्बरको पुक नम्बर सुरक्षित राख्न टेलिकमका सहप्रवक्ता लोहियाको आग्रह छ ।

यो विषय प्रयोगकर्ताको व्यक्तिगत गोपनीयतासँग सम्बन्धित रहेको भन्दै साइबर सुरक्षा जानकारहरूले सुधार गर्न आवश्यक रहेको बताउँदै आएका थिए । यद्यपि सर्भिस नम्बरको आधारमा एफटीटीएच, एडीएसएल र वाईम्याक्सको मान्य अवधि हेर्न सकिने अवस्था कायमै छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय