सहकारी संघमा तीव्र विवाद

  
सहकारी संघमा तीव्र विवाद

काठमाडौं नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा विवाद उत्पन्न भएको छ। सञ्चालक समिति दुई धारमा विभाजित भएपछि संघमा विवाद बढेको हो। 

सदस्यता विवादका कारण पुस २९ मा तय भएको साधारणसभा अन्योलमा छ। अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव माधवप्रसाद तिमल्सिनाबीच विवाद हुँदा सञ्चालक समिति दुई धारमा विभाजित भएका हुन्। 

अध्यक्ष भण्डारीले साधारणसभा रोक्न सूचना जारी गरेका छन् भने सचिव तिमल्सिनाले तोकिएको मितिमै साधारणसभा तथा निर्वाचन हुने सूचना जारी गरेका छन्। यसले सदस्य अन्योलमा परेका छन्।

सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले बहुउद्देश्यीय केन्द्रीय संघको विवाद नजिकबाट नियालिरहेको बताए। ‘साधारणसभा स्थगित र आह्वानको विवाद हामीले हेरिरहेका छौं’ उनले भने,‘उहाँहरूको सूचना युद्ध जारी छ।’ 

विभागले हस्तक्षेप भन्दा पहिला दुबै पक्षलाई मिलाएर लैजान चाहेको जनाएको छ। राष्ट्रिय सहकारी महासंघले नै समन्वय गरेर विवाद समाधान गर्न पहल गर्नुपर्ने विभागले बताउँदै आएको छ। तर, संघको विवाद समाधानउन्मुख हुन सकेको छैन। 

विभागले साधारणसभा स्थगित गर्नुको कारणसहित बैठक बसेको प्रमाणित माइन्युट मागेको छ। मंगलबारसम्म विभागले म्याद दिएपनि अध्यक्ष भण्डारीले साँझसम्म लिखित जवाफ दिएका छैनन्। 

सचिव तिमिल्सिनाले अध्यक्ष भण्डारीले संघमा गाइजात्रा निम्त्याएको बताए। ‘अध्यक्षले चुनाव प्रभावित गर्न २८ वटा किर्ते फाइल ल्याएर सदस्यता प्रदान गर्न खोज्नुभयो’ उनले भने, ‘नेतृत्व हस्तान्तरण गर्दा पहिल्यै मिलाएर नजाने, अरुलाई पनि छेकबार लगाउने कुरा सह्य हुँदैन।’

विभागले पौष मसान्तभित्रै साधारणसभा गर्न पुस २३ गते लिखित निर्देशन दिएको हो। संघको पौष १९ गते बसेको सञ्चालक समितिको बैठकमा सदस्यता दिने विषयमा विवाद उत्पन्न भएपछि तत्काल अर्को बैठक बस्नेगरी साधारणसभा स्थगित गरिएको थियो। त्यसलगत्तै नियामक निकाय सहकारी विभागमा केही सञ्चालकले पौष २० गते उजुरी दिएका थिए। उजुरी परेपछि सहकारी विभागले संघलाई पत्र काटेर तोकिएको समयमै साधारणसभा गरी पौष मसान्तभित्र सो को जानकारी दिन निर्देशन दिएको थियो। 

निर्वाचनसहितको साधारणसभाको मुखमा आएर सदस्यता प्रदान गर्न नहुने विषय केही सञ्चालकले उठाएका थिए। सदस्यता प्रदान गर्ने विषय कुनैपनि निर्णयबाट बन्द नगरिएको र २० गतेसम्म आएका फाइलहरूलाई सदस्यता दिने प्रस्ताव अध्यक्ष भण्डारीले गरेपछि विवाद सुरु भएको हो। सोही विषयमा धेरै विवाद उत्पन्न भएपछि बैठक तत्काल बस्नेगरी स्थगित भएको थियो। उजुरी परेपछि तोकिएको समयमा साधारणसभा गर्न नसकिने भण्डारीेद्वारा जारी सूचनामा उल्लेख छ। सचिव तिमल्सिनाद्वारा जारी सूचनामा तोकिएकै मितिमा निर्वाचनसहितको साधारणसभा हुने उल्लेख छ।

पौष १९ गते साधारणसभाको तयारी, सदस्यतालगायत विषयमा बोलाइएको बैठकमा चुनाव प्रभावित गर्नेगरी भण्डारीले २८ वटा सहकारीको प्रस्ताव पेश गरेपछि विवाद सुरु भएको हो। सचिव तिमिल्सिनाले पद भन्दा पनि शासन, विधिको विषय भएकाले विभागको निर्देशन पालना गरेरै जाने बताउँछन्। आन्तरिक विवाद हुँदा बहुउद्देश्यीय केन्द्रीय संघको अस्तित्व नै धरापमा परेको छ। केन्द्रीय संघ स्थापना हुँदा पनि व्यापक विवाद भएको थियो। दर्ता गर्नै वर्षौं लागेको थियो।

 
 
 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय