कोरोना फैलाउने केन्द्र बन्दै विमानस्थल

विदेशबाट आउनेकाे न स्वास्थ्य परीक्षण, न क्वारेन्टाइन

  
कोरोना फैलाउने केन्द्र बन्दै विमानस्थल

काठमाडौं । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण पुनः तीव्र रूपमा फैलिएपछि नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न क्षेत्रमा कडाइ गरेको छ। २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्देशन दिएको छ। फिल्म हल, रात्रिकालीन व्यवसाय, विद्यालय बन्द गरेको छ। सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। 

संघीय सरकारको राजधानी रहेको शहर काठमाडौं उपत्यका भित्रिने सबै नाकामा कडाइ गरिएको छ। हवाई जहाजका यात्रुलाई पनि विभिन्न स्वास्थ्य मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ। तर‚ दैनिक १० हजार यात्रु आवतजावत गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य स्वास्थ्य मापदण्ड समेत अपनाइएको देखिएन। गत शुक्रबार विमानस्थलमा भीडभाड थियो। बिदाई र स्वागत गर्न आफन्तलाई नजान सरकारले निर्देशन दिएको भए पनि सर्वसाधरणले निर्देशनको बेवास्ता गरेका थिए।

त्यहाँ एकातिर वैदेशिक रोजगारीको शिलशिलामा देश छोड्नेहरूको लर्को थियो भने अर्कातिर नेपाल भित्रिनेहरूको थियो। सोही भीडमा रामेछापका अशोक विक भेटिए। उनी आडैमा ठूलो झोला राखेर बौद्ध जानका लागि ट्याक्सी पर्खिरहेका थिए। साउदी अबरमा कोरोना परीक्षण गरेर नेपाल आएका विकलाई विमानस्थलमा कुनै परीक्षण भएन। नेपाल आउनुअघि समाचार हेर्दा  विमानस्थलमा स्वास्थ्य परीक्षण गरिन्छ, अनिवार्य क्वारेन्टाइनको व्यवस्था छ भन्ने सुनेको उनले बताए। तर,नेपालको विमानस्थलमा त्यो कुनै पालना नभएको अशोकले सुनाए। 

‘विदेशबाट आउनेहरूको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेक्स त राखिएको छ‚’ उनले भने, ‘तर मेरो थप परीक्षण भएन। उताको कोरोना परीक्षणको रिपोर्ट मात्र हेर्‍यो। क्वारेन्टाइनको त कुरै भएन।’

वैदेशिक रोजगारीबाट तीन वर्षपछि नेपाल फर्किएका सिन्धुपाल्चोकका  विजय तामाङ पनि विमानस्थलमा भेटिए।  उनले पनि  विमानस्थलमा कोरोना परीक्षण नगरिएको बताए। ‘कतारमा कोरोना परीक्षण गरी नेपाल आएँ‚’ विजयले भने‚ ‘१० दिन क्वारेन्टाइन बस्नु पर्ने हल्ला सुनेको थिएँ। बस्नु परेन। अब सिधै घर जान्छु।’ 

विमानस्थलमा भएको यस्तो लापरवाहीले कोरोना संक्रमण फैलिने जानकारहरू बताउँछन्। 

विदेशबाट फर्कनेलाई १० दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने भनिएको छ तर सोको अनुगमन गर्ने निकाय भने सक्रिय बन्न सकेको छैन। कोरोनाको पहिलो चरणदेखि नै सरकारले रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्दै आएको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले जनाएको छ। स्वाथ्य मन्त्रालयमार्फत विमानस्थलमा विदेशबाट फर्कनेको स्वास्थ्य परीक्षण भइरहेको सिसिएमसीकी प्रवक्ता सुनिता नेपालको दावी छ।

उनले भनिन्, ‘विदेशबाट फर्केकाको क्वारेन्टाइनको निगरानी स्थानीय तहले गर्ने भएकाले  क्वारेन्टाइनमा कति छन् भन्ने यकिन तथ्यांक छैन।’

दुई वर्षअगाडि पहिलो चरणको कोरोना विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनको गेटमा स्यानिटाइजर, मास्क, थर्मल गन र दुई मिटरको भौतिक दूरी कायम गर्ने व्यवस्था  लागु गरिएको थियो। तर, अहिले कोभिडको संक्रमण तीव्र गतिमा फैलिए पनि दुई वर्षअघि लागू भएको जनस्वास्थ्य मापदण्ड पालनामा लापरवाही भएको हो।  यता स्वास्थ्य मन्त्रालयले भने विदेशबाट आउनेको  नियमित स्वास्थ्य परीक्षण गरिएको बताउँदै आएको छ। 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय