प्रदेश-५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेस, प्रतिपक्ष सहित सत्तापक्षकै सांसद रुष्ट

  
प्रदेश-५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेस, प्रतिपक्ष सहित सत्तापक्षकै सांसद रुष्ट

बुटवल । प्रदेश-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेस गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभा बैठकमा प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र दाङको भालुवाङलाई केन्द्रमा राखेर देउखुरी प्रदेश-५ को स्थायी राजधानी बनाउने प्रस्ताव पेस गर्नुभएको छ । केहीबेरअघि सुरु भएको बैठकमा प्रस्ताव पेस भएको हो । यो प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुङ्गो लाग्ने छ । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिएको थिएन ।

रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेश सभामा मतभेद रहेको छ । यसअघि वाग्मती प्रदेशको राजधानीबारे पनि नेकपाको केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो भने प्रदेश ५ को राजधानीका लागि पनि नेकपाका दुई जना अध्यक्षबीच सहमति भएपछि प्रदेश सरकारले निर्णय गरेको बताइएको छ ।

                                                  नेपाली कांग्रेसको विरोध

प्रदेश-५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव शुक्रबारको संसद वैठकमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलन सुरु गरेको छ । उक्त प्रस्ताव प्रदेशसभामा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले बुटवल, मणिग्राम र सैनामैनामा सडकमा उत्रिएर विरोध जनाएका छन् । पार्टीका भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति जारी गर्दै कठोर आन्दोलनमा उत्रिएको उल्लेख गरेका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै स्थायी राजधानी सार्न नदिन सडक र सदन तताउने उनले बताएका छन् । विज्ञप्तिमा नेकपाका केही नेताको स्वार्थमा रुपन्देहीवाट राजधानी सार्ने प्रयासको विरुद्ध पार्टीका आम कार्यकर्तादेखि रुपन्देही तथा छिमेकी जिल्लाका सर्वसाधारणहरुलाई आन्दोलनमा सहभागी हुन अपिल गरिएको छ । वहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णय प्रति कठोर आन्दोलन शुरु भएको कांग्रेसले जनाएको छ ।

प्रदेश राजधानी दाङ सार्ने नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिको पृष्ठभूमिमा पार्टीका महासचिव विष्णु पौडेलले अर्थमन्त्री पद पाउने सहमति भएको कांग्रेसको दावी छ । ‘विष्णु पौडेलजीले अर्थमन्त्री पदसंग राजधानी साटेर गद्दारी गर्नुभएको छ’–कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले अनलाइनखबरसंग भने–‘अर्थमन्त्री पाउने भएपछि उहाँको बोली बन्द भएको छ ।’ विष्णु पौडेल रुपन्देहीबाट निर्वाचित सांसद हुन् ।

                                                  प्रदेशसभामा पनि विरोध

प्रदेशसभाको बैठकमा सरकारले स्थायी राजधानी दाङ सार्ने प्रस्ताव पेश गरेलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ ।

सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेश गरेपछि प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरु उठेर विरोध जनाएका हुन् । प्रदेशसभामा कांग्रेस सांसदहरुले कार्यसूची भन्दा बाहिरबाट छापामार शैलीमा छलफल विनै राजधानीको प्रस्ताव आउनु आपत्तिजनक भएको बताएका थिए ।

कांग्रेस सांसदहरु बैजनाथ कलवार, रमा अर्याल र फखरुद्दिन खानले कार्यसूचीको बारेमा जानकारी नदिई एकाएक प्रस्ताव आउनु आपत्तिजनक भएको भन्दै विरोध जनाएका थिए । उनीहरुले सर्वसत्तावाद लादेर यो प्रस्ताव ल्याइएको आरोप लगाएका छन् ।

रुपन्देही र कपिलवस्तुमा विरोध कार्यक्रम सुरु भएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय