सबै अंग तातीसक्दा पनि खुट्टा किन चिसै रहन्छ ?

  
सबै अंग तातीसक्दा पनि खुट्टा किन चिसै रहन्छ ?

खुट्टा चिसो रहनुको सामान्य कारण कम तापक्रम वा एन्जाइटी हो । सामान्यतया चिसो मौसममा शरीरका अन्य भाग ताते पनि अधिकांशले खुट्टा चिसो रहेको महसुस गर्छन् । विशेषगरी खुट्टा र नाकजस्ता अंगमा धेरै चिसो महसुस हुन्छ । शरीरले तापक्रम व्यवस्थापनका लागि रक्तसञ्चार कम गरेर अन्य ठूला अंगहरूका लागि तापक्रम बचाएर राख्छ । यही कारण यस्ता अंगमा रक्तसञ्चार कम हुँदा अक्सिजनको तह घटेर जान्छ, जसले गर्दा खुट्टामा चिसो महसुस गराउँछ ।

खुट्टा चिसो हुने कारण तापक्रम मात्र नभई अन्य रोगको लक्षण पनि हुन सक्छ । कतिपयमा खुट्टा चिसो रहने समस्यासँगै छालाको रङमा परिवर्तन आउने, छालाले केही पनि महसुस नै नगर्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने, कमजोर हुने, घाँटीमा समस्या आउनेजस्ता लक्षण पनि देखिइरहेका हुन्छन् । अर्थात् खुट्टा चिसो हुने समस्या अन्य रोगको लक्षण पनि हुन सक्छ ।

एनिमिया
शरीरमा आइरनको कमी हुँदा पनि खुट्टा चिसो हुने हुन्छ । आइरनले शरीरमा हेमोग्लोबिन बनाउन मद्दत गर्छ, जसले शरीरमा अक्सिजन परिपूर्तिमा पनि सहज हुने हुँदा शरीरका सबै भागमा सहज आपूर्ति हुन्छ । शरीरमा आइरनको कमी हुँदा हेमोग्लोबिनको पनि कमी हुने हुँदा सबै अंगमा अक्सिजनको आपूर्ति कम हुन्छ, जसले गर्दा खुट्टा चिसो हुने गर्छ । सामान्यतया पुरुषको तुलनामा महिलामा एनिमियाका कारण खुट्टा चिसो हुने समस्या बढी हुने गरेको पाइन्छ ।

मधुमेह
मधुमेहको समस्या भएका व्यक्तिमा खुट्टाको अल्सर हुने जोखिम हुन्छ । अध्ययनअनुसार यस्ता व्यक्तिमा खुट्टामा असामान्य दुखाइ हुने, चिसो भइरहने, पेट दुख्ने, खुट्टामा अन्य सेन्सेसन महसुस हुने वा दुखाइ भइरहने हुन्छ । यो हाइपर ग्लेमेसियाका कारणले हुने गर्छ । जसले खुट्टाको कोषिकामा असर पार्ने हुँदा मांसपेशी कमजोर बनाउने र पैतालामा हुने साना कोषिकामा दुखाइ उत्पन्न गराउँछ ।

चिसो मौसम
स्वस्थ व्यक्तिमा खुट्टा चिसो हुनुको मुख्य कारण चिसो मौसम मात्रै हो । सामान्यतया शरीरको तापक्रम ९८।६ डिग्री फरेनहाइटभन्दा तल झर्छ, हाइपोथालेमसले मुटु, दिमाग, फोक्सो र अन्य महत्वपूर्ण अंगका लागि तापक्रम बचाउन खुट्टामा कम तापक्रम पठाउँछ । धेरै चिसो महसुस हुँदा खुट्टामा रक्तसञ्चार बिस्तारै बन्द हुन्छ जसले गर्दा चिसो महसुस हुने वा बिस्तारै महसुस गर्न नसकिने हुँदै जान्छ ।

हाइपोथाइराडिजम
हाइपोथाइराडिजम अर्थात् थाइराडिजम हर्मोनको अपर्याप्त उत्पादनले शरीरमा समस्या उत्पन्न गराउँछ । जसले शरीरको तापक्रममा पनि प्रभाव पारिरहेको हुन्छ । थाइराइड हर्मोनले स्नायुप्रणालीसँग नजिक रहेर काम गर्छ, जसले शरीरको तापक्रम पनि व्यवस्थित गर्छ । शरीरमा थाइराइड हर्मोनको कमी हुँदा छालामा रक्तसञ्चारको माध्यमबाट तापक्रम घट्छ, जसका कारण खुट्टा लामो समयसम्म चिसो रहन्छ ।

एक्युट स्ट्रेस
मनोवैज्ञानिक कारण, जस्तै अत्यधिक तनाव वा एन्जाइटीले पनि शरीरको तापक्रममा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । जसले गर्दा खुट्टा चिसो रहने हुन्छन् । जस्तै तनावले रगतमा एड्रेनालाइन हर्मोन पठाउँछ, जसले गर्दा हात वा खुट्टामा रगत प्रवाह कम हुन्छ ।

योसँगै खुट्टा चिसो हुने विभिन्न कारण रहेको पाइन्छ । विभिन्न अध्ययनहरू अनुसार धुम्रपान, शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै हुनु, गर्भावस्था, औषधिको प्रयोग आदिका कारण पनि लामो समयसम्म खुट्टा नतात्ने समस्या हुन सक्छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय