एसईई खारेज गर्नुपर्नेमा प्रधानाध्यापक, शिक्षाविद् लगायत सरोकारवालाको जोड

  
एसईई खारेज गर्नुपर्नेमा प्रधानाध्यापक, शिक्षाविद् लगायत सरोकारवालाको जोड

काठमाडौं,जेठ ३१ । माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न नेपालको संविधानले व्यवस्था गरे पनि सोको कार्यान्वयन हुन नसकेको गुनासो सरोकारवालाहरूले गरेका छन् । शिक्षा पत्रकार समूहले सोमवार आयोजना गरेको ‘एसईई के गर्ने ?’ विषयक भर्चुअल अन्तरक्रियामा प्रधानाध्यापक, शिक्षाविद् लगायत सरोकारवालाले १२ कक्षाको परीक्षा निर्णायक हुने भएकाले एसईई खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।

हालसम्म यसको सम्पूर्ण जिम्मा राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएकाले अब यसलाई विद्यालय तथा स्थानीय तहको जिम्मामा छाड्नुपर्ने उनीहरूको तर्क छ ।
संविधानअनुसार माध्यमिक शिक्षा कक्षा १२ सम्म कायम भएकाले १० कक्षामै लिइने एसईई खारेज हुनुपर्नेमा जोड दिँदै उनीहरूले उक्त परीक्षालाई अतिशय महŒव दिँदा मानसिक दबाबले विद्यार्थीको सृजनशीलतामा आँच आएको समेत औंल्याएका छन् । 

अन्तरक्रियामा बुटवलस्थित कालिका माविका पूर्व प्रधानाध्यापक घनश्याम पाठकले विगतदेखि एसईई खारेज गर्न भन्दै आए पनि राज्य तहबाट परीक्षा लिन निर्देशन आएपछि यसलाई पालना गर्न बाध्य भएको बताए । ‘विद्यार्थीले प्राप्त गरेको शीप, ज्ञान र व्यवहारलाई ठीक ढंगले मापन गर्न नसकिए त्यसको नकारात्मक प्रभाव उत्पन्न हुन्छ,’ उनले भने,  ‘एसईईमा अंक, ग्रेड लगायतबारे चर्चा हुँदा विद्यार्थीमा दबाब सृजना भएर  सृजनशीलतामा ह्रास आएको अनुभव गरेका छौं ।’ सबै कक्षामा अहिलेको तीनघण्टे लिखित परीक्षाको मूल्यांकन प्रणाली नै परिवर्तन गरेर कक्षाकोठामा विद्यार्थीले देखाएका शीप, व्यवहार र क्षमताका आधारमा मूल्यांकन गर्ने परिपाटीको विकास गर्नुपर्नेमा उनले सरकारको ध्यानाकर्षण गराए ।  

रत्नराज्य लक्ष्मी माविकी पूर्व प्रधानाध्यापक डा. गीता पोखरेल शिवाकोटीले संविधानले १२ कक्षालाई अन्तिम परीक्षा भनेकोमा अहिले कोभिडले त्यसको कार्यान्वयनमा अवसर जुटाइदिएको बताइन् । एसईईलाई ‘आइरन गेट’को संज्ञा दिएर अभिभावक तथा विद्यार्थीलाई त्रासमा पार्नु नहुने धारणा उनको छ ।

शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षकले प्रश्न बनाउने, कपी जाँच्ने शिक्षकलाई विश्वास गर्ने विकल्प नभए गाउँपालिका, अन्तरपालिका तथा प्रदेश तहबाट जाँच्ने संयन्त्र अपनाउन सकिने सुझाए । ‘अब विद्यार्थीको सक्षमतामा आधारित स्तरीय करीयर परीक्षा प्रणाली कार्यान्वयन गरौं,’ उनले भने ।

यस्तै अर्का शिक्षाविद् प्रेम फ्याकले एसईईको आवश्यकता नभएकाले यसलाई खारेज गर्न ढिलाइ गरिरहेकोप्रति मन्त्रालयको ध्यानाकर्षण गराए ।
शिक्षक नेता लक्ष्मण शर्माले परम्परागत एसईई र गतवर्षको एसईईका विद्यार्थीको अहिलेको अवस्थाको अध्ययन गर्नुपर्ने औंल्याए । अहिले विद्यालयले परीक्षाको तयारी गरिरहेको भन्दै उनले सामुदायिक विद्यालयले मूल्यांकनपछिको माक्र्स दिएको, तर निजी विद्यालयको मोनोपोली समेत भएको टिप्पणी उनले गरे । 

कोभिड १९ का कारण सरकारले यस वर्षको एसईई स्थगित गरेर आन्तरिक मूल्यांकनबाट नतीजा निकाल्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । गएको वर्ष पनि कोभिडका कारण एसईई परीक्षा स्थगित गरिएको थियो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय