कर्मचारीको उपचार खर्च बिमा कम्पनीलाई बेहोर्न निर्देशन

निषेधाज्ञा सकिएको १५ दिनसम्म बिनाब्याज बिमा शुल्क भुक्तानी गर्न पाइने

  
कर्मचारीको उपचार खर्च बिमा कम्पनीलाई बेहोर्न निर्देशन

काठमाडौँ ,जेठ २। कोभिड–१९ बाट संक्रमित कर्मचारीको सम्पूर्ण उपचार खर्च सम्बद्ध बिमा कम्पनीले ब्यहोर्नुपर्ने भएको छ । नियामक निकाय बिमा समितिले शुक्रबार उक्त निर्देशन दिएको हो ।

बिमा कम्पनीहरूलाई परिपत्र गरेर संक्रमित कर्मचारी तथा उनीहरूको सम्पर्कमा रहेका कर्मचारीलाई समेत पीसीआर परीक्षण शुल्कलगायत सबै खर्च बेहोर्न समितिले भनेको हो ।

‘संक्रमित कर्मचारीलाई घर, अस्पताल वा होटलमा आइसोलेसन वा क्वारेन्टाइनमा सुरक्षित रूपमा राख्ने व्यवस्था पनि सम्बद्ध कम्पनीले मिलाउनुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘आइसोलेसन वा क्वारेन्टाइनमा रहेका कर्मचारी तथा कार्यालयको अत्यावश्यक कामको सिलसिलामा कार्यालय बाहिर खटाइएका कर्मचारी कार्यालयमा फर्कंदा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्रै कार्यालय आउने व्यवस्था मिलाउनू ।’

आइसोलेसन वा क्वारेन्टाइनमा रहेका कर्मचारीलाई उक्त अवधिको पूरा तलबसहित अतिरिक्त बिदा उपलब्ध गराउन, हाजिरीमा अतिरिक्त बिदा र वर्क फ्रम होम उल्लेख गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ । बिमा कम्पनीका कर्मचारी कोरोना संक्रमणबाट आइसोलेसमा बस्नुपर्‍यो भने अन्य बिदाबाट कटौती गर्न पाइनेछैन ।

सरकारले निषेधाज्ञा जारी गरेको समयमा बढीमा १० जना कर्मचारीबाट मात्र केन्द्रीय कार्यालय सञ्चालन गर्न, बिमा समितिबाट जारी भएको पास लिएर मात्र सवारी चलाउन, काठमाडौं उपत्यकाको हकमा शाखा कार्यालयको काम पनि केन्द्रबाटै सञ्चालन गर्न र काठमाडौं उपत्यका बाहिरको हकमा सम्बद्ध जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सेवा प्रवाह गर्न पनि समितिले भनेको छ ।

‘निषेधाज्ञाको कारण बिमितलाई भौतिक रूपमा उपस्थित भई जीवन बिमा शुल्क बुझाउन असहज हुने भएकाले विद्युतीय माध्यमबाट शुल्क संकलनको व्यवस्था गर्ने,’ निर्देशनमा भनिएको छ, ‘विद्युतीय माध्यमबाट शुल्क संकलन गर्न नसकिने अवस्था भए शुल्क संकलन गर्ने काम निषेधाज्ञा अवधि सकिएको १५ दिनसम्म ब्याज नलिई संकलन गर्ने व्यवस्था मिलाउने ।’ गत वर्ष पहिलो चरणको कोभिड संक्रमण तीव्र भएको समयमा पनि समितिले भुक्तानी अवधि बढाउन र सो अवधिमा ब्याज नलिई बिमा शुल्क संकलन गर्न निर्देशन दिएको थियो ।

 
 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय