रचना- लक्ष्मण घिमिरे ।
को बदमास को सज्जन थियो, पत्तै भएन ।
कस्ले निभाएछ बलेको दियो, पत्तै भएन ।
म बिचारा उस्लाई सोझो ठान्दैं गएँ
फाली बनेर निस्केछ सियो, पत्तै भएन ।।
मरेको मान्छे फर्केर आओस, अनि पत्याँउँछु ।
स्वर्गको बयान गरेर जाओस, अनि पत्याँउँछु ।
भन्छन कलियुग हो, जे पनी हुन्छ यहाँ
लोग्नेले बच्चा पाएर देखाओस,अनि पत्याँउँछु ।।
धेरै घमन्ड नगर, कँहा पुग्नु छ र ?
माथी नउड झर,कँहा पुग्नु छ र ?
सबैको गन्तव्य एउटै हो अन्तिममा
चिहान भन्दा पर, कँहा पुग्नु छ र ?
चढाएर पुष्प थुङ्गा,देउता खोज्दैछौ ।
गङ्गा जमुना तरेर डुङ्गा,देउता खोज्दैछौ ।
मन भित्रको ईश्वर दबेको छ छाती भित्र
तिमी भने पुजेर ढुङ्गा,देउता खोज्दैछौ ।।
जान्छु भन्छौ भने जाउ,यत्ती भन्नुछ ।
फेरि फर्केर नआउ, यत्ती भन्नुछ ।
म पनि तिम्लाई, भुलिदिनेछु बस्
याद बनेर नसताउ, यत्ती भन्नुछ ।।
पद्य कविता बिधाको लघुतम रुप नै मुक्तक हो। संस्कृत साहित्यमा यसलाई श्लोक, उर्दुमा सवाई, फारसिमा रुवाइ या रुवाइयात भनिन्छ भने नेपाली साहित्यमा मुक्तकको नामले चिनिन्छ। मुक्तक आफैमा एक पुर्ण कविता हो।
मुक्तक अनिवार्य मुक्तकको ढाँचामा रहेर चार हरफमा लेख्नुपर्छ। जहाँ पहिलो, दोस्रो र चौथो हरफ अनुप्रासयुक्त र तेस्रो फरक स्वतन्त्र हुनुपर्दछ। यसरी शृजना गरिएको मुक्तकको संरचनामा पहिलो हरफले कुनै पनि बिषय बस्तुको उठान गर्दछ, दोस्रो हरफले थप ब्याख्या गर्दछ, तेस्रो हरफले थप लचकता दिदै चौथो हरफका लागि प्रस्तुत गर्ने भावलाई वातावरण तय गर्दछ भने चौथो हरफले निष्कर्ष वा प्रहार दिने गर्दछ।
प्रतिकृया दिनुहोस