लुम्बिनी प्रदेशः चार महिनामा ५४६ सवारी दुर्घटना, १४६ को मृत्यु ५८९ घाइते

  
लुम्बिनी प्रदेशः चार महिनामा ५४६ सवारी दुर्घटना, १४६ को मृत्यु ५८९ घाइते

रुपन्देही । गत बुधबार बुटवलको अस्पताल लाइनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा बुटवल ८ का भरत शर्माले ज्यान गुमाए। तीव्र गतिको ट्रकले आफ्नै साइडबाट गुडिरहेको स्कुटरलाई ठक्कर दिएको थियो। बिहिबार बर्दियाको मधुवनमा पनि त्यस्तै प्रकृतिको दुर्घटना भयो। मधुवन नगरपालिका ४ मा भुरीगाँउ जाँदै गरेको कारलाइ टिप्परले ठक्कर दिदा २ जनाको घटना स्थलमै मृत्यु भयो। तीन जना गम्भिर घाइते भए। सोही दिन रुपन्देहीको सखुवानीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भयो। बिहिबारै दाङबाट काठमाण्डौ जाँदै गरेको बस रुपन्देहीको चरङ्गेमा दुर्घटना हुँदा १५ जना घाइते भए। प्रदेश ३–०३–००१ ख ००५९ नम्बरको बस तिब्रगतीका कारण अनियन्त्रीत भइ सम्मो बाटोमै पल्टीएको थियो।

शुक्रबार नेपालगञ्जबाट बर्दियाको राजापुर जाँदै गरेको बस गुलरीया खैरापुरमा सम्मो र खाली सडकमै दुइ भर्ल्याङ खायो। यात्रुहरुका अनुसार बसको गति निकै तिब्र थियो। बस पल्टीदा ३३ जना घाइते भए। प्रहरीका अनुसार घाइते मध्ये केहीको हेड इन्जुरी सगै शरिरका विभिन्न भागमा गहिरो चोट छ। केहीको हात खुट्टा भाँचिएको छ।

गत शनिबार गुल्मीको इश्मा हुलमा जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै ज्यान गएको थियो। दुर्घटनामा घाइते दुई जनाको अहिले पनि गम्भिर अवस्थामा उपचार भइरहेको छ। खर्च धेरै लाग्यो भन्दै फोर ह्वील जीपलाई टु ह्वील बनाएर भिरको बाटोमा गुडाउन खोज्दा ब्रेक नलागेर उकालोमा जिप पल्टियो। अकालमा ६ जनाले ज्यान गुमाए।

यी पछिल्ला केही दिनमा भएका दुर्घटना हुन। लुम्बिनी प्रदेशमा पछिल्लो एक सातामा मात्रै सवारी दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन। ५० बढी घाइते भएका छन। लुम्बिनीमा सुरक्षा निकाय, प्रदेश सरकार र बिभिन्न संघसंस्थाहरुले दुर्घटना न्युनीकरणका लागि विभिन्न अभियानहरु संचालन गरेको भनेपनी दुर्घटनामा कमी आएको छैन। कोरोना कहर र लकडाउनले लामो समय यातायात संचालन नहुँदा समेत दुर्घटनाको दर गत बर्षकै अनुपातमा बढेको छ। तीदुर्घटनाले समाजमा मानविय,सामाजिक तथा आर्थिक रुपमा ठुलो क्षती पुरयाइरहेको छ। दुर्घटनाको बढदो तथ्याङ्कले अहिले चलीरहेका सडक सुरक्षा कार्ययोजना र अभियानको प्रभावकारीता माथि प्रश्न चिन्न लागेको छ।

पछिल्लो ४ महिनामा प्रदेशका बाह्र जिल्लामा ५ सय ४६ वटा सवारी साधन दुर्घटना भएका छन। ती दुर्घटनामा १ सय ४६ जनाले ज्यान गुमाए। ५ सय ८९ जना घाइते भएका छन। जसमध्ये २ सय ५२ जना गम्भिर अवस्थाका घाइते हुन। गम्भिर घाइते मध्ये धेरैको अंगभङ्ग भएको र अहिले पनि बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ । गत आर्थिक बर्षको सोही अवधीमा ४ सय ६८ वटा सवारी साधन दुर्घटना भएको थियो।

सबैभन्दा धेरै दुर्घटना हुनेमा रुपन्देही एक नम्बरमा छ। त्यसपछि दाङ, पश्चिम नवलपरासी र बाँके छन। पुर्वी रुकुममा कम छ। सडक दुर्घटनामा मानवीय क्षतीसगै करोडौ मुल्यका सवारी साधन नोक्सान भएको छ। सबैभन्दा धेरै २९७ वटा मोटरसाइकल,७३ जिपकार भ्यान, ४१ ट्रक टेकंर,३२ ट्रयाक्टर दुर्घटना भए। धेरै जसो दुर्घटना मानबिय त्रुटी संगै सम्बन्धित निकायको उदासिनताका कारण निम्तीएको जनकारहरु बताउँछन।

एक बर्षमा भएका दुर्घटना मध्ये झण्डै ६० प्रतिशतमा चालकको लापबारही मुख्य कारण देखिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए। उनका अनुसार अधिकाँस दुर्घटना तीब्र गतीकै कारण हुने गरेका छन। ट्राफिक प्रहरीले दुर्घटना न्युनीकरणकालागि बिभिन्न अभियानहरु संचालन गरीरहेको पनि डिएसपि पाण्डेले बताए।

बढी दुर्घटना हुने क्षेत्रमा गती नियन्त्रणकालागि लेजरगन मार्फत सवारी साधन चेकजाँच गरीएको, टिप्परकालागि टाइमकार्ड लागु गर्ने, लामो दुरीका गाडीहरुमा दुइ जना चालक अनिवार्य, नो हर्न, बाटोमै चालकको स्वास्थ्य परीक्षण,छडके जाँच, मापासे चेकिङ्ग जस्ता कार्यक्रम निरन्तर चलीरहेको उनले बताए।

डिएसपि पाण्डेले ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्रै दुर्घटना न्युनीकरण सम्भव नभएको बताए। सडक मर्मत सम्भार,सिसिटिभि जडान, सवारी साधनको यान्त्री चेकजाँज जस्ता काममा सम्बन्धित निकायको सक्रियता देखिनु पर्ने उनको भनाइ छ। (नागरिक दैनिकबाट साभार)

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय