रचनाकार- ईन्दिरा पौडेल ।
खियै खियाले थोत्रिएको,
बन्द बाकसको पिँधमा, कोरा कागज नियाल्दै,
निसासिएर बसेको मेरो डिग्री,
आज हेरिरहें, निकैबेर टुलुटुलु, ओल्टाई पल्टाई,
भावुक हुँदै एक्लै बर्बराई रहें,
तिमीलाई पाउन गरेको मेरो अहोरात्र संघर्ष,
म शब्दमा कसरी व्यक्त गरूँ,
दुधे बालक अर्कैको जिम्मा लगाई,
बसको सिट त के,
एउटा खुट्टाले गरेका यात्रानुभूतिहरु,
आज कसरी भुल्न सक्छु,
टीयुको गेट छिर्दा खुशीले संसार चुमेको त्यो दिन,
मन्द मन्द पवनमा मस्त झुमेको त्यो दिन,
प्रोफेसरका शब्द शब्दले मुटुको स्पन्दन स्पन्दन हल्लाएको त्यो दिन,
ए डिग्रीतलाई मैले चिनिन वा तैंले मलाई चिनिनस्,
तैंले तय गरेको मेरो परिचय आज,
कुचोसँग लडिबुडी गर्दै, जुठेल्नो मै निदाइरहेछ,
श्रीमानको कोटमा ठाँटीदै जुत्तामा टलक्क टल्किरहेछ,
बारीको कान्ला कान्लामा सुस्ताउँदै आज,३३ % को खोजीमा भौंतारी रहेको छ,
ए डिग्री कहाँ सम्म कोरिएको छ तँ सँग मेरो परिचय,
आज तँसँग जिन्दगीको हिसाबकिताब गर्नुछ,
नचांहदा नचांहदै पनि टप्प एउटा थोपा रेंकिंगको बीचमा टलपलाउँदैछ,
ए डिग्री तँसँग आज धेरै धेरै प्रश्न गर्नुछ ।
प्रतिकृया दिनुहोस