क्यान्भासको शुन्यतामा

  
क्यान्भासको शुन्यतामा

कवि- इन्दिरा पौडेल

रङ्गीन सपनाले रङ्गाएको मेरो वास्तविकता
कल्पनाका ज्वारभाटाले निर्माणाधीन
क्यान्भासको शुन्यतामा
एकाएक प्रतिबिम्बित भएर छरिन खोज्ने

मेरो जिन्दगीको शब्द्कोश
सधै ठोक्किरहने कस्ता निर्मम बाध्यता र विवशता
फैलिन खोज्ने चाहनाहरू
लजावति भएर खुम्चिनु पर्ने

सुक्ष्म आकृति विशाल ब्रह्माण्ड भएर व्यक्त हुन खोज्छ
अनायासै मेरो मौनता सारङ्गिको तार भएर रेटिन्छ
अन्तरङ्ग भावनामा बहकिन्छ
ज्वाला भएर बल्न खोज्छु बर्षाले निभाइदिन्छ

सम्हालिन खोज्छु हुरिले पन्छाइदिन्छ
फुल्नै नपाई ऐलाउने मेरो कठोर संघर्ष
लेख्नै नपाई मेटिने तीक्ष्ण झिल्काहरू
भुकम्पको कम्पन जस्तै सधै थर्किरहने एउटा विचार

अनेकौ घुम्ती र मोड हुँदै यत्रतत्र छरिन्छ
स्वयमले वाँधेको अन्तस्करणको बाँध बाढीले बगाइ दिन्छ
म जितेर पनि हार्नु पर्ने
तिमी हारेर पनि जित्नु पर्ने

तिम्रो कायरता हो वा मेरो बाध्यता
द्वन्द्व नै द्वन्द्वले सिर्जिएको अस्थिरता
भुल भुलैयामा हराइ रहने
गन्तव्य बिनाको यात्रा हो या यात्रा बिनाको गन्तव्य !!

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय