मेटाउनु छ सिमारेखा

  
मेटाउनु छ सिमारेखा

रचनाकार- ईन्दिरा पौडेल ।

धर्तीको पालुवा गगनको शीतले कठाङ्ग्रिएर
खोजिरहेछ अस्तित्व प्रत्येक कणकणमा
चाहन्छ खुला आकाशमा सम्पूर्ण ब्रह्माण्ड चाहार्न
विचाररुपी गमलामा सिर्जनाका फूलहरू लहराउन
तंग्रिँदै फक्रदै मौलाउन चाहन्छन आस्थारुपी चिन्तनहरू
स्नेहको छत्र छायामा पन्छाउँदै तप्केनी, नियाल्दै झुल्के घाम
अदृश्य यात्रापथ पछ्याउँदै, चम्केका प्रकाशपुञ्जहरुलाई
काटिदै छांटिदै बन्नुछ कलमी
सुसाउनु छ भिरपाखा पहरामा
मुस्कुराउँदै माग्नु छ मार्गदर्शन
फुल्नु छ, फल्नु छ आफ्नै मनको बगैँचामा
दयाको भिख होइन स्वाभिमानको पर्दा फिंजाएर
अन्तर मनको सुस्केराबाट, टुक्रिदै छरपष्टिएका संस्काररुपी यातनाबाट
चिर्दै औंसीको रातलाई, पूर्णिमाको जूनको खोजीमा
बाल्दै दियो हत्केलामा लम्कनु छ आफ्नै गोरेटोमा
साकार पार्नु छ अधुरा सपनाहरु, सुन्दर दृश्यहरु
हराउनु छ सागरको गहिराईमा अमूल्य रत्न भेटाउन
चलायमान शब्द शब्दबाट अन्तर्मनको गित गुनगुनाउनु छ
पृथ्वीको चक्र जस्तै फन्को मार्दै
भावनाका बिम्बहरु पाइलापाइलामा छर्दै जानुछ
दृढ संकल्प र आत्मविश्वासका साथ
मेटाउनु छ मेरो निम्ति कोरिएको यो सिमारेखा ।।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय