सिद्धेश्वर शिवालय मन्दिरको महिमा बढ्दै

बिना जडित स्फटिक कै कारण मन्दिरको महत्व बढ्दै

  
सिद्धेश्वर शिवालय मन्दिरको महिमा बढ्दै

सन्धिखर्क नगरपालिका वडा नं.वडा नंं. २ चुत्राबेशी भक्तिटोलमा रहेको सिद्धेश्वर शिवालय मन्दिरको महिमा बढेर गएको छ । यहाँ भारतको राजस्थानबाट बिना जडित स्फटिक ( चन्द्रकान्तमणि) को ठूलो शिवलिङ्ग ल्याई राखिएको छ । बिना जडित स्फटिकको शिवलिङ्ग हाल सम्म नेपालको कुनै पनि ठाउँमा नरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण खनाल बताए । बिना जडित स्फटिक कै कारण मन्दिरको महत्व बढ्न गएको स्थानीय बताउँछन् ।


१२ औँ शताब्दीमा लिच्छिविकालिन समयमा विकास भएको कलात्मक प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको छ । पछिल्लो समयमा सिद्धेश्वर शिवालयको प्रचार–प्रसार बढ्दो छ । सिद्धेश्वर शक्तिपिठमा वैदिक सनातम धर्मलाई मुख्य प्राथमिकता दिँदै विभिन्न कार्यहरु हुँदै आएका छन् ।

शिवालयमा महाशिवरात्रीमा भव्य मेला लाग्नुका साथै अक्षय तृतीया, लघुरुद्री लगायत अन्य धार्मिक कार्यको आयोजना गरिन्छ । महिना भरका लागि श्रावण १ गते कलश यात्राबाट बोलबमको आरम्भ गरिन्छ । मन्दिरसँगै वृद्धाश्रम निर्माण गरिएको छ । प्रत्येक कोठामा शैचालयको व्यवस्था सहित १९ कोठे सुविधा सम्पन्न वृद्धाश्रम निर्माण गरिएको हो । यहाँ आवास सुविधिा सहित संस्कृत शिक्षा पढाई हुन्छ ।

आश्रममा दुई जना असाहयले आश्रय लिइरहेका छन् भने २८ जना विद्यार्थीले संस्कृत गुरुकुल अध्ययन गरिरहेका छन् । मन्दिर निर्माणका लागि ८७ लाख ४७ हजार र वृद्धाश्रम निर्माणका लागि १ करोड १८ लाख रुपैयाँ खर्च भएको छ । विभिन्न व्यक्तिहरुको सहयोगबाट मन्दिर र वृद्धाश्रम निर्माण गरिएको हो ।

 

                                                                                                                                          तस्विर सौजन्य राजकुमार श्रेष्ठ

सिद्धेश्वरको ऐतिहासिकता
यहाँ धेरै ठूलो पीपलको बोट थियो । सोही बोटको छेउमा स्थापना गरिएको सिद्धेश्वर भगवानको मूर्तिमा मनोकांक्षा पूरा गर्नकालागि भक्तजनहरुले पूजाआजा गर्थे।सन्धिखर्क १० का पिताम्वर चुँदाली (भक्ति बा) बाले पूजा र्गथे । उहाँले २०११ साल देखि नियमित पूजागर्न थाले । उहाँलाई शिव मन्दिर निर्माण गर्ने इच्छा भयो । हाल शिवालय रहेको स्थानमा शिवालय मन्दिर निर्माण गर्नुभयो ।

भक्तिबालाई सबैले रुचाउँथे । पछि भक्ति बा बस्दै आएको ठाउँको नाम नै भक्तिटोल रहन पुग्यो । १९६२ सालमा जन्मनुभएका भक्तिबाबाको २०४१ सालमा निधन भएको थियो । करिव ६ सय वर्ष पहिले भारतको गडवालमा साम्प्रदायिक दङ्गा भएपछि हिन्दु राजा जिल्ला राई धर्मको रक्षार्थ आवश्यक भारदार लिएर नेपाल पसेका थिए ।


उनले सिद्धेश्वर शिवालय र मेघासी देवीको पूजा आरधना गरेका थिए भन्ने गरिन्छ । पूजा गरिसकेपछि उनलाई शक्ति प्राप्त भएको र जस्को फलस्वरुप अव्यवस्थित रुपमा रहेको अर्घा राज्यमा अधिपत्य जमाई बस्न सफल किम्वदन्ती छ । २०२० सालमा विभिन्न व्यक्तिहरुको अग्रसरतामा जनज्योति माविको स्थापना भएपछि चुत्रावेशीको त्रिवेणीधामको चहलपहल बढ्न गयो ।

२०३२ सालमा नरपानीमा रहेको जिल्ला सदरमुकामलाई सन्धिखर्कमा सारियो, त्यतिबेला सन्धिखर्कमा कुनै पनि घर, भवनहरु निर्माण नभएकाले करिब दुई वर्ष चुत्रावेशीमासरकारी कार्यालयहरु राखिएको थियो । केहि कार्यालयहरुलाई भक्तिटोलमा राखियो । सदरमुकाम भईसकेपछि सन्धिखर्कमा घर, भवनहरु निर्माणले व्यापकता पायो । मसानघाटको रुपमा रहेको त्रिवेणीधाममा सदरमुकाम आइसकेपछि शवहरु दाह संस्कार गर्न छाडिएको थियो ।


चुत्रावेशीमा बागेश्वरी, भद्रकाली र बीरभद्रा मिलि बनेको बनेको त्रिवेणीधाम छ । यो ठाउँ भक्तजनहरुको लागि महत्वपूर्ण मानिन्छ । यहाँ सिद्धेश्वर शिवालय र मेघासी देवीको मन्दिर नजिक, नजिक थिए । दुई देवालयको नजिकै विशाल सतीढुङ्गो थियो । यहाँ सति प्रभाको समयमा महिलाहरु श्रीमानसँगै सती जाने गर्थे । १९७७ मा चन्द्रशमशेर राणाले सती प्रथाको अन्त्य गरेपछि यो क्रुर प्रथा हट्न गयो ।

विसं १९७५ मा यस क्षेत्रमा अतिवृष्टि भई दुई मन्दिर भत्किएको र सतीढुङ्गो पुरिएको जानकारहरु बताउँछन् । जानकारहरुका अनुसार बाँगी (बागेश्वरी ) खोला हाल भक्तिटोल रहेको क्षेत्रको नजिकबाट बग्थ्यो । तिन नदीको संगम स्थल हाल अहिले रातो पुल रहेको स्थान रहेको अनुमान गर्न सकिने मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद भुसालले बताए ।

 

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय