उर्जा मन्त्री रायमाझी द्वारा नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालय उदघाटन

  
उर्जा मन्त्री रायमाझी द्वारा नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालय उदघाटन

अर्घाखाँची चैत्र २९ । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालय उदघाटन गर्नु भएको छ ।

कार्यालय उद्घाटन भएसँगै २ सय ८१ मेगावाट क्षमताको आयोजना निर्माण कार्यले गति लिने विश्वास गरिएको छ ।

राप्ती नदीमा १ सय ६९ मिटर अग्लो बाँध बनाई पानी संचय गरी प्रयोग गर्ने गरि प्रस्ताव गरिएको बहुउद्देश्यीय आयोजना अन्तर्गत तिन ओटा आयोजना निर्माण गर्न लागिएको छ ।

प्यूठानको सरूमारानी गाउँपालिका वडा नं। ३ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ७ र ८ को सिमानामा नौमुरे बाँध बनाई सरूमारानीमा विद्युतगृह निर्माण गरि २१८/३४ मेगावाट क्षमताको नौमुरे जलविद्युत आयोजना निर्माण गरिँदै छ ।

सितगंगा ७ को लामातालमा रि रेगुलेटिङ बाँध बनाई ८ मेगावाटको लामाताल जलविद्युत आयोजना निर्माण गरिने भएको छ ।

यस्तै लामाताल जलविद्युत आयोजनाको टेलरेसबाट छोडिने केहि पानीको प्रयोग गरी सितगंगा नगरपालिका हुँदै सुरूङ मार्फत अर्घाखाँची र कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ को सुराइ खोला नजिक रहने विद्युतगृहबाट ५४/७ मेगावाटको सुराईनाका जलविद्युत आयोजना निर्माण गरिँदै छ ।

बहुउद्देश्यीय आयोजना निर्माणका लागि १ खर्व २८ अर्व बजेट अनुमान गरिएको छ । कार्यालय उदघाटन गर्दै मन्त्री रायमाझीले नौमुरे परियोजना निर्माणको कार्यलाई अब कसैले रोक्न नसक्ने बताउनुभयो ।

उहाँले जलविद्युत, सिंचाइ सुविधा, माछा पालन, बाढी नियन्त्रण र पर्यटन लगायतका धेरै फाइदायुक्त आयोजना निर्माणले सयौं व्यक्तिले रोजगारी पाउने बताउनुभयो । उहाँले नौमुरे बहुउद्देश्यीय आयोजना निर्माणको कार्य सम्पन्न भएपछि लुम्बिनी प्रदेशको समृद्धिको ढोका खुल्ने बताउनुभयो ।

मन्त्री रायमाझीले अवको बजेटमा नौमुरे परियोजनाको लागि आवश्यकीय वजेट विनियोजन गरि काम अघि बढाइने बताउनुभयो ।

कार्यक्रममा अर्घाखाँचीका प्रदेश सांसद रामजी प्रसाद घिमिरे, प्यूठानका सांसद हरि रिजाल, कपिलवस्तुका सांसद अर्जुन केसी,जिल्ला समन्वय समिति अर्घाखाँचीका उपप्रमुख ऋषि पुलामी, सरूमारानी गाउँपालिकाका झगबहादुर विश्वकर्माले मन्त्री रायमाझीको सक्रियता र अगुवाइमा आयोजना निर्माण हुन लागेको भन्दै समयमै आयोजना निर्माण सम्पन्न गर्न सबै पक्षको सहयोग जरूरी रहेको बताउनुभयो ।

कार्यक्रममा विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, उपमहानिर्देशक संजय ढुंगेल, आयोजना प्रमुख गोपी प्रसाद शाहले नौमुरे बहुउद्देश्यीय आयोजना जस्तो प्रचुर संभावना बोकेको अन्य कुनै आयोजना नरहेको दावी गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खडका ९उज्ज्वल०, प्रदेश सांसद तथा नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्य, प्रदेश सांसद जाल्पा भुसाल, एमालेका केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपाने, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेल, प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगायतको आतिथ्यता थियो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय