युद्धविराम नहुँदै हमासलाई ध्वस्त पार्न चाहन्छ, इजरायललाई छिटै युद्धविराम हुने डर

  
युद्धविराम नहुँदै हमासलाई ध्वस्त पार्न चाहन्छ, इजरायललाई छिटै युद्धविराम हुने डर

सागर मरासिनी


इजरायल, जेठ १ ।  इजरायल र हमासबीच युद्ध जारी छ । शुक्रबार अबेर रातीसम्म यो युद्धमा करिब १२० जना मारिएका छन् । यीमध्ये इजरायलमा केवल ८ जनाको मृत्यु भएको छ ।

उता हमासको नियन्त्रण रहेको गाजा पट्टी क्षेत्र भने भग्नावशेषमा परिणत भइसकेको छ । गाजाबाट इजरायलमा लगातार रकेट प्रहार भइरहेको छ । अर्कोतिर इजरायली एयरफोर्सले ६ सयभन्दा धेरै पटक गाजा र आसपासको क्षेत्रमा बम खसालिसकेको छ ।

इजरायल निकै आक्रामक रुपमा युद्धमा उत्रिएको छ र उसले आफ्या युद्ध ट्यांक र स्थल सेनालाई पनि युद्धमा उतारेको छ । अहिले हमास र प्यालेस्टाइनको लागि निकै खतरनाक स्थिति भएको छ । अहिलेसम्म इजरायलको स्थल सेनाले कारवाही गरेको छेन । तर निकै छिटो स्थल सेना आक्रमणमा उत्रिनेछ । आखिर इजरायल यति आक्रामक र हतारमा किन छ ? यसको पछाडि कारण छ । यस विषयमा बुझ्न भर्खरै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दिएको एउटा बयानमा ध्यान दिनुपर्ने हुन्छ ।

बिहीबार अबेर राती उनले भनेका थिए ‘हमासले निकै ठूलो गल्ती गरेको छ । यो गल्तीको उसले निकै ठूलो मूल्य चुकाउनु पर्नेछ । आतंकवादीलाई समाप्त पारेपछि मात्रै शान्ति सम्भव छ ।’ यता प्रधानमन्त्रीको बयान आयो उता शुक्रबार बिहानै इजरायली स्थल सेना पूरै तयारीको साथमा गाजा पट्टी र प्यालेस्टाइनको सीमा नजिक जुटेको छ ।

यसबारेमा दुई राय हुन सक्दैन कि इजरायल सैन्य रुपमा महाशक्ति छ । अमेरिका र पूरै पश्चिमी क्षेत्र उसको साथमा छ । अमेरिका र इजरायलबीच शीर्ष तहमा छलफल पनि भइरहेको छ । हमासले कैयौं वर्षपछि इजरायलमाथि यति ठूलो आक्रमण गरेको छ । त्यसैले इजरायल उसलाई छोड्ने मुडमा छैन ।

न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार इजरायललाई को कुरा राम्रोसँग थाहा छ कि दुवै पक्षमा युद्धबिराम गराउन विश्वका ठूला देश सक्रिय भइसकेका छन् । अनि त्यो दिन धेरै टाढा छेन जब युद्धबिराम हुनेछ । यसअघि नै इजरायल हमासको ढाड भाँच्न चाहन्छ ताकि हमासले भविष्यमा फेरि टाउको उठाउन नसकोस् । यही कारण इजरायली स्थल सेना पनि आक्रमणको लागि तयार छ ।

रिपोर्टका अनुसार अमेरिका र इजिप्टको सरकार युद्धबिराम गराउन सक्रिय भइसकेका छन् । अहिले यी देशका कूटनीतिज्ञहरु युद्धबिरामका शर्तको खाका बनाउनको लागि बैठक गरिरहेका छन् । तर, इजरायल यो मौकाको फाइदा उठाउन चाहन्छ । इजरायल युद्धबिराम हुनुभन्दा पहिल्यै हमासलाई ध्वस्त पार्न चाहन्छ ।

प्यालेस्टाइन सरकार र हमासबीच रणनीतिलाई लिएर गम्भीर मतभेद छ । प्यालेस्टाइन सरकार हमासको दबाबमा छ । राष्ट्रपति महमुद अब्बासलाई थाहा छ हमास उनको लागि पनि चुनौती हो । हमास शक्तिको आडमा इजरायलसँग आफ्नो क्षेत्र फिर्ता लिन चाहन्छ । अब्बास चुपचाप सबै हेरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नेतन्याहूसँग कुरा गरेका थिए । कुराकानीपछि उनले भनेका थिए ‘इजरायलसँग आफ्नो रक्षा गर्ने पूरा अधिकार छ ।’ यसको केही घण्टापछि बाइडेनले अरब इजरायल मामिलाका डेप्युटी सेक्रेटरी ह्याडी एम्रलाई इजिप्टसँग मिलेर युद्धबिराम गराउने जिम्मेवारी दिएका थिए । तर, युद्धबिराम गराउन केही समय लाग्छ । त्यो समयमा इजरायलले गाजा पट्टी र प्यालेस्टाइनको ठूलो भाग ध्वस्त पारिसकेको हुनेछ ।

आम प्यालेस्टाइनीहरुको लागि यो निकै कठिन समय हो । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले भने ‘हामी चाहन्छौं कि छलफल खुला सोच लिएर गरियोस् । यसका लागि हामीले अर्को हप्तासम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ । कूटनीतिको लागि समय चाहिन्छ ।’ यसको अर्थ सिधा र प्रस्ट छ युद्धबिरामको दिन आउनुभन्दा पहिले इजरायल अझै तीब्र र खतरनाक तरिकाले हमासमाथि आक्रमण गर्नेछ ।


 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय