मृत्यचिन्तन

  
मृत्यचिन्तन

डा.बालाकृष्ण अधिकारी


मृत्यु एउटा अस्तित्वको अन्त्य हुनु हो । जीवन र मृत्यु प्रकृतिका दुई महान् अङ्ग हुन् । प्रकृति यी दुबै अङ्गको अखण्ड मातृका हो । आत्मा अमर हुन्छ भन्ने अध्यात्मवादी र अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा अनुवंशको स्थानान्तरण हुन्छ भन्ने विकासवादी धारणाको अन्तरतहमा समानता छ । 

अध्यात्मको आत्मिक अमरताको अवधारणा पूर्णतः गलत छैन र विकासवादको अनुवंश सिद्धान्तमा चैतन्यरूपी आत्माको प्रतिच्छविको गुणात्मक रूपान्तरण नमान्ने हो भने विकासवाद पनि पूर्ण हुन सक्दैन । अध्यात्मले भनेको आत्माको अमरताको तात्पर्यलाई विज्ञानसँग नजोड्ने हो भने त्यो अपूर्ण हुन्छ । प्रकृतिका केही उदाहरणबाट यसलाई पुष्टि गर्न सकिन्छ । एउटा केराउको गेडामा शरीर र आत्मा दुबै हुन्छ । निश्चित आकार र भारयुक्त पदार्थ (पिण्ड) केराउको गेडा यसको शरीर हो भने त्यस गेडाका शरीरमा व्याप्त अङ्कुर क्षमता, केराउको बोट, पात, लहरा, जरा, फूल, कोसा र कोसाभित्रका गेडाको अस्तित्व नै यसको आत्मा हो । एउटा केराउको गेडाको अस्तित्व समाप्त नभएसम्म केराउको नयाँ बोट उम्रिनु सम्भव छैन । यसको अर्थ यो होइन कि केराउका गेडाभित्र रहेको आत्मारूपी अस्तित्वको पनि समूल नष्ट हुन्छ । त्यसो भए के हुन्छ त ! अदृश्य र गुणभूत अस्तित्वमा रहेको आत्मारूप केराउ पहिलेकै रूपमै रहिरहे पनि नयाँ जीवनको सम्भावना हुँदैन । यसको शरीर रूप पञ्चतत्त्वमा परिणत हुन्छ भने आत्मारूपको गुणपरक आनुवांशिक रूपान्तरण हुन्छ । त्यसकारण आत्माको अमरतालाई मान्छेको मृत्युपछि उसको आत्मा शरीरबाट निस्किएर आकाशमा जान्छ र आफ्नो अनुकूलता हेरी नयाँ शरीरमा प्रवेश गर्छ भन्ने अध्यात्मवादी मृत्योपरान्त चिन्तन संशोधनीय छ ।

मृत्युपछि जीवित प्राणीका अनेक अस्तित्वहरूको समूल नष्ट हुँदैन । मृत्यु जीवनका विरुद्ध छ । विरुद्धताको अर्थ द्वन्द्व हो । द्वन्द्वमा एउटाको निषेध अर्कोले गर्छ तर यति मात्र बुझियो भने हामीमा बोधको सीमितता छ भन्ने बुझ्नुपर्छ । उदाहरणका लागि अँध्यारो र उज्यालोलाई लिन सकिन्छ । अँध्यारो यस ब्रह्माण्डको मूल सत्य हो । जापानी मूलका भौतिकशास्त्री माइकल काकुले आफ्ना पूर्ववर्ती  महान् भौतिकशास्त्री आइन्सटाइन, हकिन्स आदिका महान् खोजमूलक निष्कर्षको विमर्शबाट यस कुरालाई प्रमाणित गरेका छन् । उनका विचारमा  हाम्रा ब्रह्माण्डको लगभग ९५ प्रतिशत वस्तुता अँध्यारो शक्ति (डार्क इनर्जी) ले ओगटेको छ । बाँकी पाँच प्रतिशतमा पनि लगभग आधाजति वस्तुता हाम्रा मस्तिष्कको पहुँभन्दा बाहिर छ । यदि मानवीय मस्तिष्कले सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरले जत्तिकै कार्यसम्पादन गर्न सक्यो भने ब्रह्माण्डको निकै थोरै अंशको बोध गर्न सक्छ भन्ने कुरामा काकु सहमति दिन्छन् । धर्तीका साढे सात अर्ब मस्तिष्कको मोठले यति विशाल ब्रह्माण्डको अत्यन्त झीनो अंशको मात्र बोध गर्न सक्छ भने हामी तत्त्वमीमांसाको अहंमा भ्यागुताको पेटफुलाइ गर्नु बेकार छ । त्यसो भए मृत्युचिन्तन पनि बेकार छ त ? कदापि होइन । मृत्युचिन्तन त्यो कर्म हो जसले हाम्रा जीवनको अधिकाधिक आयामलाई ज्ञातव्य बनाउँछ । प्रकृति रहेसम्म यसलाई अस्तित्ववान् बनाउने ऊर्जासमूहको अस्तित्व रहिरहन्छ । मृत्यु ऊर्जा र ऊर्जासमूहको नाश हो भन्ने बुझियो भने जीवनबोध नै हुन सक्दैन । निरन्तर गतिमान् एवं सङ्घर्षशील ऊर्जा र ऊर्जासमूहहरू आफ्ना विलक्षण क्षमताका कारण कहिले एकापसमा संश्लेषित हुने र कहिले विश्लेषित हुने अटुट चक्रगतिमा आधारित हुन्छन् । संश्लेषित हुँदा जीवन परिघटित हुन्छ र विश्लेषित हुँदा मृत्यु परिघटित हुन्छ । जीवन र मृत्युको दार्शनिक तत्त्वबोध ऊर्जाहरूको यसै विलक्षण गतिचक्रले निर्धारण गर्दछ । मृत्यु भनेको जीवनसम्भावनाका ऊर्जा र ऊर्जासमूहहरूको गतिचक्रका क्रममा हुने रूपान्तरण (ऊर्जा र ऊर्जासमूहहरूको विश्लेषित वा सम्बन्धहीनताको अवस्था) मात्र हो । व्यावहारिक दृष्टिले मृत्यु पक्कै त्रासदीपूर्ण  र विषादयुक्त छ तर दार्शनिक दृष्टिले उत्तिकै आनन्ददायक र सिर्जनात्मक पनि छ– ठिक केराउको एउटा बीउबाट सयौँ अरू केराउ बन्ने प्रक्रियाजस्तै । यस सत्यलाई बुझेका बुद्धले मृत्युलाई महापरिनिर्वाणको संज्ञा दिनु, हिन्दूहरूका उपनिषद, श्रीमद्भागवत् गीता आदि दार्शनिक ग्रन्थमा मुक्ति, कैवल्यप्राप्ति आदि महान् शब्दको प्रयोग हुनु मृत्युचिन्तनका सर्वोत्तम उदाहरण हुन् ।

मृत्युका अनगिन्ती रूप हुन्छन् । प्रत्येक क्षण मान्छेको शरीरमा लाखौँ कोष जन्मिरहेका हुन्छन् र मरिरहेका हुन्छन् । एउटा निश्चित उमेरसम्म मर्नेभन्दा बन्ने (जन्मिने) कोषको अनुपात बढी हुन्छ भने बुढ्यौलीमा प्रवेशसँगै जन्मको भन्दा मृत्युको मात्रा क्रमशः बढ्दै जान्छ । यस प्रकारको अनुपातमा गुणात्मक वृद्धि हुँदै जाँदा त्यस्तो अवस्था आउँछ जब कोषको नयाँ जन्म हुँदैन, मात्र मृत्युको गति बढिरहन्छ । हामीलाई मृत्यु एक्कासि भए झैँ लाग्छ तर त्यस्तो हुँदैन । मृत्यु त सासैपिच्छे, धड्कनैपिच्छे हुँदै जाने प्रक्रिया हो । जन्मको पनि प्रक्रिया  हुन्छ र मृत्युको पनि प्रक्रिया हुन्छ । मृत्युको कारणअनुसार यसको प्रक्रिया घटित हुन्छ । यसमा पारिस्थितिक चक्रको अनुकूलता र प्रतिकूलता, मनको संरचना, प्राकृतिक र कृत्रिम प्रतिरक्षा प्रणाली, ऊर्जाहरूको सङ्घटना आदिले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

कतिपय मृत्युमा पुरानो शरीर नयाँ जीवनको परिपोषक बनेको हुन्छ भने कतिपयमा त्यस्तो हुँदैन । भटमास उम्रिँदा त्यसका दुई दल पहिलो दुइटा पातका रूपमा परिपोषक भएर आएका हुन्छन् । केराको मृत बोट नयाँ बिरुवाको परिपोषक हुन्छ । यसको आशय के हो भने बीउबाट उम्रिने, जरा (गाना) बाट पलाउने र हाँगाबाट सर्ने आदि अनेक प्रकारका जन्मचक्र भए पनि अघिल्ला दुईओटामा मृतदेह नयाँ जन्मको परिपोषक बनेर आएको हुन्छ भने पछिल्लोमा त्यस्तो हुँदैन । यसकै आधारमा पुनर्जन्मको अवधारणा बनेको हुनुपर्छ । तर पुनर्जन्म किन भ्रम हो भने जैविक ऊर्जाहरूको पूर्ववर्ती अन्तःसम्बन्ध ठिक त्यही सङ्घटनामा पुनरुक्ति हुनु असम्भवप्रायः छ । मान्छेको मृत्युसँग नयाँ जन्मको जैविक सम्बन्ध छैन । उसले करोडौँ शुक्रकीटसँग जीवनमरणको सङ्घर्ष गरी डिम्बसँग सहसम्बन्ध जोडेपछि रूपान्तरणसहितको जीवन अस्तित्व प्राप्त गर्ने भएकाले पूर्ववर्ती जीवनको पुनरुक्ति सिद्धान्ततः सम्भव छैन । प्राकृतिक जीवनचक्रलाई पुनर्जन्मका रूपमा व्याख्या गर्नु तत्त्वमीमांसाको भ्रष्टीकरण र विद्रूपीकरणबाहेक अरू केही हुन सक्दैन ।

जीवन र मृत्यु दुबै प्रकृतिका उत्तिकै महत्त्वपूर्ण महान् सत्य हुन् । जीवनबारेको चिन्तन जति महत्त्वपूर्ण छ, मृत्यबारेको चिन्तन पनि उत्तिकै महत्त्वपूर्ण छ । जीवनको चिन्तन मात्र होइन मृत्य चिन्तन पनि आशावाद र अस्तित्ववादको परिचायक हो । मृत्यसँग डराएर होइन, संवाद गरेरै मात्र जीवन सार्थक बन्दछ । त्यसैले आउनुहोस्, जीवनको मात्र चिन्तन गर्ने एकोन्मुख ज्ञानबाट मृत्युको पनि चिन्तन गर्ने प्रतिज्ञान (?) तर्फ हाम्रा अनुसन्धानलाई अभिमुख गरौँ ।

पक्कै दुःख लाग्छ; अचेल हरेक दिन हाम्रा आदरणीय व्यक्तित्वहरू गन्नुपर्ने, परिवारका सदस्य गन्नुपर्ने, आफन्तहरू र समग्र मानवहरू घट्दै जाने विषम अवस्था हाम्रा अगाडि प्रत्यक्ष छ । विचारणीय कुरा के छ भने म, तपाईँ, समग्र जीवनजगत् सृष्टिचक्रबाट वशीभूत छौँ । कारण र समय फरक हुन सक्छन् तर मृत्यु निर्विकल्प छ । मृत्युसँग डराएर र भागेर बाँच्नु सम्भव छैन बरु जीवनको अस्तित्व हाम्रा पक्षधरताको अहं प्रश्न हो भने यसलाई व्यवस्थित रूपमा सामना गर्ने र सङ्घर्ष गर्नेबाहेक अर्को बाटो हामीसँग छैन । 


 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय