प्रहरीले भन्यो : निषेधाज्ञा उल्लंघन गरेकाले लामालाई नियन्त्रणमा लिएका हौं

  
प्रहरीले भन्यो : निषेधाज्ञा उल्लंघन गरेकाले लामालाई नियन्त्रणमा लिएका हौं

गोरखा,जेठ २७। गुण्डा नाइकेको छवि बनाएका गणेश लामालाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ।

बिहीबार कास्की प्रहरीले पोखराको लेकसाइडको एक होटलबाट नियन्त्रणमा लिएको हो। 

‘उहाँ गणेश लामा नै हो भनेर नियन्त्रणमा लिएका पनि हैनौँ। अनि उहाँलाई मात्रै नियन्त्रणमा लिएका पनि हैनौँ। उहाँसहित अन्य तीन/चार जना नियन्त्रणमा लिएका छौँ’, कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले भने, ‘निषेधाज्ञा उल्लंघन गरेकाले नियन्त्रणमा लिएका हौँ। सोधपुछ हुँदै छ।’

लामा पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा छन्। उनले कांग्रेसबाट चुनावसमेत लडेका थिए। लामा पक्राउ परेसँगै उनी गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेलाई विपक्षीको पक्षमा मत हाल्न लगाउन पोखरा आएको हुन सक्ने आशंका हुन थालेका छन्।

तर, डिएसपी हमाल भने उनी पक्राउ पर्नुमा कुनै राजनीतिक कारण नभएको बताउँछन्। भन्छन्, ‘निषेधाज्ञा उल्लंघन गरेकै कारण नियन्त्रणमा लिएका हौँ। यसबाहेक अन्य कुनै कारण छैन।’

निषेधाज्ञा उल्लंघन गरेकाले प्रहरीले पक्राउ गरेको बताए पनि प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला लामा पोखरा आउनुलाई कुनै राजनीतिक चलखेल हुन सक्ने आशंका गर्न सकिन्छ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय