अधिकांशमा भिटामिन ‘डी’ कमी

  
अधिकांशमा भिटामिन ‘डी’ कमी

काठमाडौं, जेठ २९ । निषेधाज्ञाका कारण अधिकांश नेपाली घरभित्रै सीमित छौं। कोरोना भाइरसबाट संक्रमितहरू पनि धेरै घरमै आइसोलेसनमा बसेका छन्। घामसँग साक्षात्कार हुन पाइरहेको छैन। यसले शरीरमा कतै भिटामिन ‘डी’को कमी त भइरहेको छैन ? चिकित्सकीय भाषामा ‘भिटामिन डी डिफिसेन्सी’ भनिने यो समस्याले प्रायःलाई प्रभावित पारिरहेको डाक्टरहरू बताउँछन् ।

वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ प्रा.डा. गणेश गुरुङका अनुसार बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्तिलाई भिटामिन ‘डी’को कमी हुन सक्छ। ‘बालबालिकामा हड्डीको विकास नहुने वा बांगिने समस्या देखापर्छ’, प्रा. डा. गुरुङ भन्छन्, ‘प्रौढहरूमा मांसपेशी एवं जोर्नीमा दुखाइ र नसा तथा मांसपेशीमा समस्या हुने फ्रयाक्चरको समस्या देखिन सक्छ। थकान महसुस हुन्छ।’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार यो नेपालको मात्र नभई विश्वकै साझा समस्या हो।

‍‍स्पार्क हेल्थ होमका हाडजोर्नी रोग विशेषज्ञ डा. सुनील पौडेल नेपालीमध्ये झन्डै ८५ प्रतिशतमा यो समस्या रहेको आँकलन गर्छन्। ‘भिटामिन डी डिफिसेन्सी भएका व्यक्ति कोरोनाबाट संक्रमित हुने सम्भावना बढी हुन्छ’, डा. पौडेल भन्छन्, ‘डायबिटिज, अधिक वजन र भिटामिन डी डिफिसेन्सी कोरोनाकालमा जोखिम मानिन्छ।’  कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतम कोरोना संक्रमणअघि पनि नेपालीलाई भिटामिन डीको कमी रहेको उल्लेख गर्छन्। डा. गौतम भन्छन्, ‘समुदायममै भिटामिन डीको कमी देखिन्छ। यस्तो बेला कोरोना संक्रमित भएको व्यक्तिमा भिटामिन डी डिफेसेन्सी हुनु स्वाभाविक हो।’

हेल्पिङ हेन्ड्स सामुदायिक अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये झण्डै २५ प्रतिशतमा यो समस्या देखिएको छ। अस्पतालका विशेषज्ञ प्रा. डा. गुरुङका अनुसार भिटामिन डी को कमी हुँदा रोग प्रतिरक्षात्मक शक्ति (इम्युनिटी पावर)मा कमी आउँछ। संक्रमणको जोखिम बढी हुन्छ।

विभिन्न अध्ययनको निष्कर्ष 
यसअघि व्यक्तिगत एवं विभिन्न स्वास्थ्य संस्थामा आएका बिरामीमा गरिएको छुट्टाछुट्टै अध्ययनमा पनि भिटामिन डी डिफिसेन्सी रहेको देखिएको थियो। ललितपुरस्थित हेल्थ होम केयर सेन्टरमा आएका ५० बिरामीमा डा. सुनील श्रेष्ठको नेतृत्वमा सन् २०१२ मा परीक्षण गरिएको थियो। उक्त अध्ययनले ७८.२ प्रतिशतमा भिटामिन डीको कमी देखाएको थियो। एक वर्षयता भने कोरोनाका कारण घरभित्रै बसिरहनुपरेका कारण उक्त संख्यामा वृद्धि भएको जानकार बताउँछन्।  

यस्तै, नर्वेको युनिभर्सिटी अफ ओस्लोको कम्युनिटी मेडिसिन विभागले सन् २०१३ मा दुर्गम भेगका पाँच वर्षमुनिका २ सय ८० जनामा गरेको अध्ययनमा ९१.१ प्रतिशतमा यो समस्या देखिएको थियो। डा. महेशप्रकाश भट्टको टोलीले सन् २०१४–१५ मा पोखरामा गरेको अध्ययनले ७३.६८ प्रतिशतमा भिटामिन डीको कमी देखाएको थियो। चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारार्थ आएका १ सय ८ बालबालिका तथा किशोर–किशोरीमा गरिएको अध्ययनले ७४.१ प्रतिशतमा भिटामिन डीको कमी रहेको देखाएको थियो।

विदेशी मापदण्ड कति उपयुक्त ?  
शरीरमा भिटामिनको मात्रा कति हुनुपर्छ ? नेपालको सन्दर्भमा कुनै मापदण्ड छैन। युरोप, अमेरिकाको मापदण्डलाई नेपालमा पनि लागू गरेको पाइन्छ। वरिष्ठ मुटु रोग विशेषज्ञ डा. रेग्मी युरोप, अमेरिकावासी र नेपालमा हुनुपर्ने भिटामिन डीको लेभलमा फरक हुन सक्ने बताउँछन्।  ‘भिटामिन डीबारे धेरै कुरा अझै विवादास्पद छ। जसको जाँच गर्दा पनि भिटामिन डीको कमी आउन सक्छ’, डा. रेग्मी भन्छन्, ‘विदेशीले बनाएको मापदण्डलाई आधार बनाइएको छ। हामी नेपालीका लागि हुनुपर्ने भिटामिन डीको मापदण्ड के हो त ? घाम लाग्ने क्षेत्रमा हुनुपर्ने भिटामिन डीको लेभल कति हो ? घाम नलाग्ने क्षेत्रमा हुनुपर्ने कति हो ? यसको निश्चित मापदण्ड नै छैन।’ 

घाम लाग्ने र घाम ताप्नुपर्छ भन्ने सोच भएको अवस्थामा किन भिटामिन डी डिफिसेन्सी देखिएको छ ? यो अनुसन्धानको विषय भएको चिकित्सकको भनाइ छ। डा. रेग्मीका अनुसार विकसित मुलुकमा भिटामिन डीको अवस्था जाँच गर्ने प्रवृत्ति भए पनि नेपालमा वास्ता गरिँदैन। साँघुरो गल्लीमा घर बनाउने र कोठामा बसेर टेबल वर्क गर्ने, ल्यापटप, मोबाइल गेम हेर्नेहरू बढ्दै गएका कारण भिटामिन डीको कमी हुन सक्छ। 

विकसित मुलुकमा भिटामिन डीको कमीबारे चर्चा भए पनि तुलनात्मक रूपमा नेपालमा सार्वजनिक  चासो र चिन्ता थोरै हुने गरेको डा. रेग्मीको भनाइ छ।  युरोप, अमेरिकामा जस्तै नेपालमा पनि घरभित्रै टेबल वर्क धेरै हुन थालेकाले भिटामिन डीको कमी भइरहेको छ। ‘घरबाहिर घाममा बसेर काम गर्नेलाई भिटामिन डीको कमी भएको पाइँदैन’, उनी भन्छन्।
भिटामिन डीको कमीले विशेष गरी मांसपेशी र हाड तथा जोर्नीमा गम्भीर असर पर्ने डा. गुरुङ बताउँछन्। हड्डी बाँगिने वा विकास नहुने मात्र होइन अन्य रोगहरू पनि उत्पन्न हुने डा. रेग्मी बताउँछन्। 

के गर्ने ? 
घाममा केही बेर बसेपछि पाइन्छ, सूर्यको अल्ट्राभायोलेट बी किरण। यही किरण नांगो छाला हुँदै शरीरभित्र प्रवेश भयो भने भिटामिन डी डिफिसेन्सीको अभाव पूर्ति हुन्छ।
सूर्य (घाम)को किरण नांगो छालाद्वारा भित्र प्रवेश गरेपछि कोलेस्ट्रोलमा पुग्छ। त्यसपछि भिटामिन डीमा परिवर्तित हुन्छ। घामको किरण शरीरमा प्रवेश गर्ने गरी बस्यो भने निःशुल्क भिटामिन डी प्राप्त गर्न सकिन्छ। शरीरभित्र घाम प्रवेशपछि विभिन्न राशायनिक प्रतिक्रिया भई शरीरलाई चाहिने भीटामिन डी प्राप्त हुन्छ। बुढ्यौली लागेसँगै छालाका छिद्रहरूले घामको किरण पर्याप्त ग्रहण गर्न सक्दैन। फलस्वरूप, शरीरमा ‘भिटामिन डी’ को अभाव हुन्छ। 

डा. रेग्मीका अनुसार सूर्यको प्रकाश वा खानपानबाट नै भिटामिन डी ग्रहण गर्नुपर्छ। ‘अहिले त सप्लिमेन्ट (पूरक)का रूपमा भिटामिन डीको चक्की खानेहरू धेरै छन्’, डा. रेग्मी भन्छन्।
डा. गुरुङका अनुसार कोठामा मात्र बसिरहनुहुँदैन। घरबाहिर निस्कने वा छतमा  गएर १०–१५ मिनेट घाम ताप्नुपर्छ। घामबाट पनि भिटामिन डी  पाउन सकिन्छ। 
त्यस्तै शारीरिक व्यायामका साथै खानपानमा ध्यान दिनुपर्छ। नेपाली खानाका रूपमा दाल, भात, तरकारीसँगै सागसब्जी पनि खानुपर्छ। अन्डा सेवन गर्न सकिन्छ। विशेषगरी प्रौढहरूमा खानपानले पनि धेरै प्रभाव पार्छ। माछामासु सेवन गर्नुपर्ने  डा. गुरुङको सुझाव छ। 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय प्रत्यक्ष भिटामिन डीको स्रोतको उपयोगभन्दा हर्बलजन्य पदार्थ खानुपर्ने सुझाव दिन्छन्। डा. उपाध्याय भन्छन्, ‘भाइरससँग लड्दालड्दै शरीरमा भिटामिन डीको कमी हुन सक्छ। 

सिधै ट्याब्लेट वा जिंक सेवन गर्नुभन्दा हर्बल मेडिसिनको उपयोग गर्न सकिन्छ। अमला, च्यवनप्रास, अश्वगन्धा सेवन गर्दा शरीरलाई चाहिने भिटामिन डी पाउन सकिन्छ।’  होम आइसोलेसनमा बसेका वा अन्य व्यक्तिले दैनिक रुटिन अनुसार खानपान र नियमित  व्यायाम गर्नुपर्ने डा. उपाध्यायको सुझाव छ। 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय