बुटवलको हिल पार्कलाई विस्तार गर्दै अब बिग बुद्ध पार्क बनाउने काम सुरु

  
बुटवलको हिल पार्कलाई विस्तार गर्दै अब बिग बुद्ध पार्क बनाउने काम सुरु

रुपन्देही,असार २३ । बुटवल उपमहानगरपालिकाले हिल पार्कलाई विस्तार गर्दै अब बिग बुद्ध पार्क बनाउने काम सुरु गरेको छ । बुटवलको पहाडी भागको उच्च स्थानमा पर्ने हिल पार्कमा बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहितको बुद्धपार्क निर्माण गर्ने योजना अगाडि सारिएको जनाएको छ ।

उपनगरपालिकाले प्रस्तावित क्षेत्र हिलपार्कको जग्गा किटान गर्ने गरी अहिले क्षेत्र निर्धारण गरेर सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले जनाएको छ । भने डीपीआरलगायतका आवश्यक काम यसअघि नै पूरा भइसकेका छन् । कोभिड महामारीका कारण ढिला भएको कामलाई अहिले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढेको जनाएको छ ।

आयोजना स्थलमा माटो परीक्षण, सर्भे र डीपीआरका काम पूरा भइसकेको अहिले ईआइएका लागि आवश्यक प्रक्रिया अगाडि बढेको मेयर शिवराज सुवेदीले बताए ।

परामर्शदाताले आयोजनाका दुई विकल्पसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लिएर उपमहानगरका प्रमुख सुवेदी अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसमक्ष पुगेका थिए । त्यहाँ अर्थ मन्त्रालयका प्रतिनिधि तथा केही विज्ञहरूसमेतले प्रस्तावित आयोजनाको डीपीआर हेरेका थिए । त्यसपछि बुद्ध प्रतिमाको आयोजनामा सङ्घीय सरकार र प्रदेश सरकारले समेत लगानी गर्न चासो देखाएको आफूहरूको एउटा अर्को ‘ड्रिम प्रोजेक्ट’ सफल हुने चरणमा प्रवेश गरेको प्रमुख सुवेदीले दाबी गरेका छन् ।

ईआईएका लागि उपमहानगरपालिकाले परामर्शदाता ह्यान्ड्स फर ग्रीनरी कन्जरभेसन प्रालि काठमाडौँलाई जिम्मेवारी दिएको छ । यो संस्थाले आगामी असोज १५ गतेसम्मको म्याद पाएको छ । ईआईएका लागि बुटवलमा आएका कम्पनीका ईआईए एक्सपर्ट लीलाराज पौडेलले समय सीमा भित्रै ईआईएको काम सक्ने लक्ष्यसहित आफूहरू ‘फिल्ड’मा खटिइरहेको बताए ।

बुटवललाई बुद्धावलीको ऐतिहासिक क्षेत्र मानिन्छ । बुद्धावलीको पहिचान बढाउने प्रयास स्वरूप हिल पार्कमा बिग बुद्धपार्क बनाउन लागिएको हो । बुटवलको ऐतिहासिकता लुम्बिनीसँग सिधा जोडिएकाले बुद्ध मूर्ति बनाउने योजना प्रस्ताव गरिएको नगरप्रमुख सुवेदी बताउँछन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय