चमलापाटे दुलाई

  
चमलापाटे दुलाई

इन्दिरा पौडेल

आज आमाको मुख हेर्ने दिन अथवा माता तीर्थ औँसीको सबै ज्ञात अज्ञात आमाहरुलाई हार्दिक नमन् टक्राउँछु । यही प्रसंगमा मेरो अगाडि झलमल नाच्न थालिन् चमलापाटे दुलाई हजुर हरुलाई लाग्न सक्छ यो चमलापाटे दुलाई भन्ने को होला ? अर्घाखाँची जिल्लाको किमडाँडा पकले स्थित नयाँ घरे भन्ने एउटा ठूलो परिवार मध्येको एक घर थियो चमलापाटा हो त्यही घरमा कान्छी बुहारीको रूपमा बाल विवाह गरेर भित्राएकी एक सानी सानी केटी थिइन् रे चमलापाटा की दुलाई तर मैले जान्दा अलि पाकी जस्तै लाग्थिन ।राम्रै खानदानमा हुर्किएकी राम्रो कुलघरामा बिहे गरेर आएकी दुलाई हिस्सी परेकी न त काली न त गोरी।

ठूला घरको चाल चलन संस्कार त्यही अनुसारको मान सम्मान सबै गर्दै घास,दाउरा,टाढाको पानी पँधेरो,कुट पिस, मेला पात खेतीपाती, सेयार्नी, टाढाको खेत जेठाजु जेठानी तराई तिर बस्नु भएको ,गाउँ घरका तल्लार, उपल्लार सबैले चमलापाटे दुलाई, भाउजु भनेर बोलाउँथे। साथै दुई नन्दहरुले भाउजु भनेर बोलाउँदा बोलाउँदै दुलाईका सबै छोरा छोरीले भाउजु भनेर नै बोलाउँथे । हजुर बुवा हजुर आमाको छत्र छायाँमा हुर्किएका नाति, नातिनी लाई आफ्नो बा, आमाको कुनै प्रवाह नै थिएन ।

घरमा भए पनि भयो नभए पनि खासै फरक पर्दैनथियो । दुई दुई वर्षको अन्तरालमा पाँच सन्तान जन्माएकी दुलाई लाई जहिले पनि ठूलो पेट सँग कहिले घासको भारी बोकेको, कहिले पानीको गाग्री बोकेको, कहिले खलियान मा टन्नै जुठा भाँडा सँग पसिनाको धारा चुआउँदै, उस,उस गरेको मात्रै देखिन्थियो। खेताला सँग मेलापात धाउने दुलाईको कसै प्रति केही गुनासो थिएन। आफ्नै रफ्तारमा आफ्नै दुःखको जिन्दगी चलाएकी थिइन्।

ठूलो सम्पन्न साली घर परिवार आर्थिक रूपमा केही दुःख थिएन तर शारीरिक रूपमा कहिले सुख पनि थिएन। अन्तिमका दुई सन्तान जुम्ल्या निकै कष्ट खेपेकी दुलाइले कालको मुखमा पुगेर पनि भगवान भनौं वा छोरा छोरी घर परिवार छिमेकीको आशीर्वादले फेरि पुनर्जन्म लिएकी थिइन्। गाउँमा बाटो घाटो को सुविधा थिएन, सदरमुकाममा राम्रा डाक्टर थिएनन्, आउनु पर्थ्यो बुटवल अहिलेको जस्तो एम्बुलेन्स, कार, जीपको सुविधा थिएन।

घरमा एक छोरी जन्माए पछि अर्को सन्तान जन्माउन नसकेर तीन दिन सुत्केरी बेथा खपेर चार दिनको दिन बुटवल ल्याए पछि अर्को बच्चा जन्मिनु र त्यसमा पनि तीन जना दुई सन्तान सहित आमा सकुसल हुनु भनेको पत्ताउनै नसकिने दुर्लभ घटना हो। श्रीमान सधैंको बाहिर घरभरि, पाहुना, इष्ट मित्र,छर,छिमेक खेतालाको जहिले भीड, घरको भित्रको जिम्मा हजुर आमाको, घर ब्यबहार, खेतालाको, साथै केटा केटीको फिस् कापी,कलम,गाउँमा कसैलाई दिनु पर्ने सर सापट आर्थिक रूपको जिम्मा हजुर बुवाको।

दुलाई लाइ सधैं भ्याई नभ्याई बाहिरको काम गरेर राति सम्म भाँडा माझेर सबै छोरा छोरी, सासु, नन्द आमाजु, भान्जा भान्जी सबैको खुट्टामा तेल लगाएर सुत्दा मध्य रात हुन्थ्यो। आँखा झिमिक्क पार्न नपाउँदै नेता,कार्य कर्ता हरुको लाइन हुन्थ्यो अहिलेको जस्तो मोबाइल फोन को सुविधा थिएन एकै पटक मान्छे घरमा आए पछि मात्रै थाहा हुन्थ्यो। फेरि आँखा मिच्दै उठेर उनीहरुलाई पकाउने, खुवाउने गर्दा एक,दुई बज्थ्यो फेरी चार बजे उठेर घरको काम धन्दा पानी पँधेरो सुरु हुन्थ्यो। एउटा घोडा, दुई ओटा भैंसी र एउटा गाई सधैं हुन्थ्यो। घरमा काम गर्ने मान्छे पनि हुन्थें तर पनि भ्याई नभ्याई हुन्थ्यो। बाहिर बाट हेर्दा कसकी बुहारी कसकी श्रीमती नामै काफी थियो।

तर उहाँमा कहिल्यै त्यो किसिमको घमण्ड, न लबाई, खबाई, चाल चलनमा झल्किन्थ्यो। घरमा सबैले खाइ सके पछि लास्टमा जे जस्तो हुन्छ त्यही खाएर बस्नु हुन्थ्यो।तर कहिल्यै कसै सँग वा माइतमा गएर गुनासो गर्नु भएन।

सबैको उदाहरण बनेर रहनु भयो दुलाई त चमलापाटाकि जस्तो हुनु पर्दछ भन्थे। हप्तामा दुई तीन ओटा ब्रत जहिले हुन्थ्यो। जाडोमा हात, खुट्टा पटपटी फुट्थेयो। छोरा छोरीले काम गरेर सघाउने भनेको मन लागेको बेला मात्रै थियो। नाता, गोता,इष्ट मित्र,साना, ठूला,धनी गरीब सबै सँग समान ब्यबहार गर्ने दुलाईमा कहिले रीस,झगडा,अँध्यारो मुख भन्ने थिएन सासु बुहारीको पनि जहिले मेलमिलाप सधैं भरी एक नास देखिन्थियो। 

अहिले सहर बजारको बसाई भए पनि हजुरबुवा यो संसार बाट बिदा हुनु भयो, बुढी हजुर आमा हुनुहुन्छ, छोरा छोरी, बुहारी, नन्द,ज्वाइँ चेला भान्जा, भान्जी सबै उच्च ओहोदाका मानिसहरूलाई आफ्नो इज्जत र सत्कारमा कुनै कसर बाँकी राख्नु हुँदैन। मेला पातको दुःख त अहिले छैन होला तर घर परिवार इष्ट मित्र सबैको हाँसी हाँसी चित्त बुझाइदिने चमलापाटे दुलाई जहिले भान्सामा देखिन्छ।

न त उहाँलाई केही ठूलो चाहना छ न त ठूलो सपना । बिहान सबेरै उठेर नुवाई धुवाई गर्ने गेट अगाडि पानीले सफा गरे पछि उहाँको पूजा दुई घण्टा सम्मको त्यो बीचमा अझै सिदीएको छैन चिया खानु पर्यो, खाना छिटो छिटो पकाउनु पर्यो भन्दै घर परिवार सबै जना कराउनु हुन्छ।

त्यस पछि सुरु हुन्छ उहाँको दैनिकी दस बजे सम्म पहिला बच्चा बच्ची साना हुँदा त्यति रमाइलो को मतलब पनि थिएन गाउँ घरमा सधैं कामको चटारो। अहिले भजन, कीर्तन गाउँने हजुर आमा सँगै नाच्ने गाउने तीजमा पनि रमाइलो गर्ने गरेको देखेकी छु।

अझै पनि नेपालको पूर्व मेची देखि पस्सिम महाकाली सम्म हिमाल, पहाड,तराई तिर धेरै चमलापाटे दुलाई जस्ता नारी हरु हुनुहुन्छ। उहाँहरुलाई पनि हिर्दय देखि नमन् गर्न चाहन्छु। चमलापाटे दुलाईको उपाधि पाउँनु भएकी नारी अरु कोही नभएर हामी पाँच सन्तानकी आमा हुनुहुन्छ।

उहाँको आशीर्वाद र प्रेरणाले हामी सबैलाई आज सम्म राम्रो छ। हामी अहिले सम्म आमाको मुख हेर्न भन्दै आमालाई भेट्न सायद कुनै पनि छोरा छोरी गएका छैनौ होला । न त उहाँलाई कुनै आस छ फोनमा कुरा गर्यो एक दुई ओटा फोटा फेस बुक र टिक टकमा राख्यो सिद्धियो । आज माता तीर्थ औँसीको हजुर आमा र मम्मीलाई मुटु भरीको माया, सम्मान र नमन् टक्र्याउन चाहन्छु ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय