शितगङ्गाको समृद्धिका लागि सबै राजनीतिक दलका घोषणा पत्रका राम्रा पक्षलाई समेटेर काम गर्नेछु : गिता भाट

  
शितगङ्गाको समृद्धिका लागि सबै राजनीतिक दलका घोषणा पत्रका राम्रा पक्षलाई समेटेर काम गर्नेछु : गिता भाट

यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । उम्मेदवारहरु घरघरमा भोट माग्नमा व्यस्त छन् । मुलुकको पहिलो पार्टी एमाले एक्लै चुनावमा भिड्दै छ भने उसका बिरुद्ध पाँच दलिय गठबन्धन बनेको छ । शितगंगामा एमालेले चर्चित नेतृ गीता भाटलाई उपमेयरको उम्मेदवार बनाएको छ । चुनावी एजेण्डा,जित्ने आधार र समग्र चुनावी गतिविधिमा आधारित रहि लुम्बिनीपोष्टले उपमेयर पदका उम्मेदवार गिता भाटसँग गरेको कुराकानीको सम्पादित अंश । 

  • तपाइलाई मतदाताले भोट किन दिने ? 

म सक्षम व्यक्ति हो । उपमेयरको रुपमा विजयी भएपछि मैले उत्कृष्ट ढंगले काम गर्न सक्छु । चुनावमा गरेका हरेक प्रतिवद्धताहरु सहजै रुपमा पुरा गर्ने विषयमा विश्वास दिलाउन चाहन्छु । जनताको वास्तविक समस्यामा जानकार छु। फेरीपनी जनताको घरघरमा पुगेर समस्या बुझ्ने छु र समाधान खोज्ने छु । अहिले गठबन्धनको नाममा महिलाको प्रतिनिधित्व गर्ने अधिकारलाई हनन् गरिएको छ । एउटै पार्टीबाट चुनाव लड्दा प्रमुख वा उप– प्रमुख मध्ये एक महिला हुनु पर्ने कानुनी व्यवस्था छ । गठबन्धन गर्नेहरुले महिला उम्मेदवार खडा गर्न सकेका छैनन् । यो महिला माथिको अन्याय हो । हाम्रो पालिकामा गठबन्धनको तर्फबाट मेयर उपमेयरमा दुबै जना पुरुषहरु प्रतिस्पर्धामा हुनुहुन्छ । हाम्रो पार्टीले हरेक पालिकामा महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । सम्पूर्ण महिला दिदिबहिनी आमाबुवा, दाजुभाईको रोजाइमा म पर्छु भन्नेमा ढुक्क छु । शिक्षा, स्वास्थ्य कृषि, पर्यटन, खेलकुद क्षेत्रको विकास गर्न, बेरोजगारी समस्यको हल गर्न, महिला सशक्तिकरण, सामाजिक सुरक्षाको क्षेत्रका काम गर्न र पूर्वाधारको क्षेत्रमा पर्याप्त विकास गर्नका लागि मैले उम्मेदवारी दिएकी हुँ ।  

  • तपाइका चुनावी एजेण्डा के के हुन ?

हामीले मतदाता सामु प्रतिवद्धता पत्र लिएर आएका छौं । थुप्रै एजेण्डाहरु अघि सारेका छौं । शितगंगाको विकासका लागि लागि थुप्रै लोकप्रिय र दीगो विकासका कार्यक्रमहरु अघि सारेका छौं । शितगंगा प्राकृतिक श्रोत र साधनले सम्पन्न पालिका हो । हाम्रो पालिकाले थुप्रै संभावना बोकेको छ । कृषिको क्षेत्रमा प्रचुर संभावना छ, पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण कामहरु गर्न सकिने आधारहरु छन् । विज्ञ, विशेषज्ञहरुको सल्लाहमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि उल्लेख्य कामहरु गर्ने योजना निर्माण गरेका छौं । हामी निर्वाचित हुनसाथ पञ्चवर्षिय योजनाहरु निर्माण गरी परिणाम दिने गरी काम अघि बढाउने छौं । हामीले गरेका कामका नतिजाहरु प्रत्येक वर्ष देखिदै जानेछन् । कृषि, घरेलु तथा साना उद्योगको माध्यमबाट युवाहरुलाई रोजगारी सिर्जना गर्नेछौं । महिला, बालबालिका, वृद्धवृद्धा, अपागंता भएका व्यक्ति, दलित, गरिव, पिछडिएको वर्गको उत्थानका लागि विशेष कार्यक्रम ल्याउने छौं । ‘समृद्ध शितगंगा, सुखी शितगंगाबासी’को अभिभारा पुरा गर्नका लागि हामी चुनावी मैदानमा छौ । 

  • जित्ने आधार के/के हुन ? 

मैले केहि कुरा माथि पनि उल्लेख गरेँ । मेरा जित्ने आधार धेरै छन् । म सिङ्गो शितगंगामा राम्रोसँग भिजेकी छु । सामाजिक अभियन्ता र राजनीतिककर्मी को रुपमा सबैको घरघरमा पुगेर दुःख सुखमा साथ दिएकी छु । म शितगंगाबासीका लागि परिचत अनुहार हो । उपमेयरका थुप्रै काम, कर्तव्य र अधिकारहरु हुन्छन् । न्यायीक समितिको संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ । मैले कानुन र समाजशास्त्रमा स्नातकोत्तर गरेकी छु । मेरो अध्ययनले पनि मेरो जिम्मेवारीलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने छ । यसपटक मैले विजयी हासिल गर्ने कुरामा कुनै दुविधा छैन । मेरो उम्मेदवारीले शितगंगाबासी बुवाआमा दाजुभाइ दिदि बहिनीहरुमा एक खालको उत्साह थपिएको छ । धेरैले सहयोग गर्ने विश्वास दिलाउनुभएको छ त्यसैले यसपाली मेरो जित सुनिश्चित छ । 

  • अघिल्लो पटक पनि तपाइ उपमेयर पदको उम्मेदवार बनेर पराजित हुनुभएको थियो, पाँच दलिय गठबन्धनलाई पराजित गरेर विजयी बन्न सक्नुहोला ? 

अघिल्लो पटक पनि एमालेका बिरुद्ध कांग्रेस, माओवादी केन्द्रको गठबन्धन भएको थियो । गठबन्धन भएपनि म झिनो मतान्तरले पराजित भएकी थिएँ । तर यसपटकको गठबन्धन सफल नहुने निश्चित छ । जनता धेरै सचेत बनिसकेका छन् । पार्टीका नेता कार्यकर्ता असाध्यै मेहनत पूर्वक गतिशीलका साथ प्रचार प्रसारमा लागिरहनु भएको छ । हाम्रो भेटघाट तथा सभाहरुमा जनताको असाध्यै उत्साहजन उपस्थिति देखिएको छ । म चुनाव प्रचारको क्रममा जहाँ पुगेकी छु त्यहाका मतदाताले मलाई आत्मदेखि नै माया गर्नुभएको छ । यस पटक शितगंगामा हाम्रो संगठन निकै बलियो बन्दै गइरहेको छ । नेकपाको निरन्तरता स्वरुप माओवादीबाट धेरै नेता,कार्यकर्ता पार्टीमा समाहित हुनुभएको छ । कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा परित्याग गरी धेरै नेता, कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ । म नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेको भएपनी अन्य राजनीतिक दलमा आस्थाराख्ने थुप्रै मतदाताले मलाई मत दिने प्रतिबद्धता ब्यक्त गर्नुभएकोले यसपटक मैले जित हासिल गर्नेमा कुनै शंका छैन ।

  • अन्त्यमा केही भन्नू छ कि ?

यो पटक पनि अघिल्लो पटक उम्मेदवार बनेका हामी मेयर पदमा बसन्त श्रेष्ठ र उपमेयरमा म गिता भाट भिड्दै छौँ । हामी दुबै जना पार्टीमा खटेका, जनताको सेवा गरेका र आगामी दिनमा पनि थुप्रै काम गर्न सक्ने क्षमता भएका व्यक्ति हौं । त्यसैले एकपटक हामीलाई नगर प्रमुख, उपप्रमुख भएर सेवा गर्ने मौका दिनुहुन्छ भन्नेमा विश्वस्त छौँ । हामीले जितेपछि हाम्रो नेतृत्वमा सामाजिक रुपान्तरणको अभियान अघि बढाउने छौ। 

चुनाव जस्ले जितेपनि सबै मिलेर जाने हो । त्यतिबेला हामीले राजनीतिक आग्रह राख्ने छैनौं । सबै राजनीतिक दलका साथीहरूसङ्ग सङ्गै बसेर उहाँहरुका राम्रा कुराहरूलाई समेटेर साझा योजना निर्माण गर्ने नीति अबलम्बन गर्नेछौ

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय