२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

खाना खेर नफालौं

निरन्तर खाद्यान्न खेर जाँदा विश्व अर्थतन्त्रमा प्रभाव मात्र पर्दैन जलवायु परिवर्तन, प्राकृतिक नोक्सानी र प्रदूषणसमेत बढ्छ। संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रमले सन् २०२२ दिएको प्रतिवेदअनुसार सबै महादेशका घरपरिवारको एक अर्बवटा भन्दा धेरै खाना एक दिनमा खेर गएको देखाएको छ। जब कि ७८.३ करोड मान्छेहरू भोकमरीले ग्रस्त छन् भने एक तिहाई खाद्य असुरक्षाको चपेटमा छन्।

२०२२ मा खाद्य खेर जानाले १.०५ अर्ब टन (खान नमिल्ने भागहरू समेत) फोहोर उत्पन्न भयो। खेर जाने खानामध्ये ६० प्रतिशत घरपरिवार तहमा, २८ प्रतिशत खाद्य सेवाको जिम्मेवारी पूरा गर्दा र १२ प्रतिशत खुद्रा तहमा हुने गरेको पढ्न पाइन्छ। संसारको आधाभन्दा बढी वार्षिक अनाज २.३ अर्ब टन बराबर खेर गएको देखिन्छ।

जलवायु परिवर्तन/वैश्विक तापक्रम वृद्धिका लागि मिथेन ग्यास प्रमुख कारक मानिन्छ। उभ्रेका खाद्य पदार्थ ल्यान्डफिल्ड साइटमा कुहिनाले हरित गृह ग्यास मिथेन उत्पादन हुन पुग्छ । यो घरपालुवा जनावरसमेतले उत्सर्जित गर्छन्। खाद्य नोक्सानी तथा खेर जाँदा ८ देखि १० प्रतिशत वैश्विक हरित गृह ग्यास उत्सर्जन हुन पुग्छ जो हवाई क्षेत्रले गरेभन्दा पाँच गुना बढी हो भने जैविक विविधता नोक्सानीबाट हेर्दा संसारभरिको कृषि योग्य जमिनको एक तिहाइ देखिन्छ। अर्कातिर पानीको प्रयोग मात्रै हेर्दा यो खाद्य उत्पादन प्रक्रियाभन्दा अगाडिदेखि गलाएर÷सडाएर निष्क्रिय पारेपछि पनि चाहिने हुनाले अत्यधिक प्रयोग हुन्छ। सम्भवतः १७ सय खर्ब लिटर पानी प्रत्येक वर्ष खेर जान्छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक मानवलाई हरेक दिन लगभग १५ देखि २० लिटर पानी आवश्यक पर्छ। अर्कोतिर नेपालमा बाली लगाएको जमिनमध्ये २५ प्रतिशतमा मात्र सिँचित छ।

धनी देशको तुलनामा गरिब देशले वार्षिक दोब्बर कम उपभोगका लागि खाद्य उत्पादन गर्छन्। मध्यम र उच्च आय भएका देशहरूमा खाद्य आपूर्ति शृंखलाका अन्तिम चरणहरूमा बढी नोक्सान भएको देखिन्छ भने विकासशील देशहरूमा प्रारम्भमै अधिक हुन्छन्। देश र क्षेत्रको मौसमअनुसार बढी गर्मी हुने ठाउँमा खाद्य खेर मात्रा धेरै हुन्छन् किनकि धेरै मात्रामा ताजा खानेकुराको उपभोग हुनुका साथै खान नहुने भाग पनि बढी फालिन्छन्। सहरभन्दा गाउँमा कम खाद्य खेर जान्छ। गाउँघरमा खेर जाने खानेकुरा घर पालुवा जनावरलाई खुवाउने र कुहाएर घरेलु मल बनाउने चलन छ। खाद्यान्न विभिन्न तहमा नोक्सान हुन्छ।

नेपालमा टिपेको तरकारी तथा फलफूल २० देखि ५० प्रतिशत नोक्सान हुन्छ। नेपालीहरूको करुणा, उदारता र उल्लासको प्रमुख चाड दसैं र तिहारको अवधिमा सबैभन्दा बढी खाना खेर जाने गर्छ। सामाजिक दबाबले भोजभतेरमा धेरै थरी खानेकुरा बनाउने, चाहिनेभन्दा बढी पस्किने र उभ्रेका खानेकुरा सुरक्षित राख्न पर्याप्त भण्डारण सुविधा नहुनाले खेर जाने गर्छ। त्यसैगरी बजारीकरण र कमजोर बजार प्रणाली अर्को प्रमुख कारण हो। राष्ट्र संघीय प्रतिवेदनअनुसार औसत नेपालीले लगभग ७९ किलो खाना हरेक वर्ष खेर फाल्छन्। विडम्बना अझै पनि १५.१ प्रतिशत जनता गरिबीको रेखामुनि छन्। फोहोरमैला व्यवस्थापन गर्दा सबै सरोकारवाला पक्षहरूलाई समेटेर ल्यान्डफिल साइटको छनोट र निर्माण गर्दा लगानीको समुचित प्रयोग हुन्छ।

खाद्यान्न खेर जानु एक जटिल एवं बहुपक्षीय मुद्दा हो। यसलाई घटाउन सरोकारवालाको सहभागिता अनिवार्य हुन्छ। कसिला आधार निर्धारण गरेर तथा निरन्तरको मापन र नीतिको सही कार्यान्वयन गरेर साझेदारी संयन्त्र निर्माण गरी जापान र बेलायतले क्रमशः ३१ प्रतिशत र १८ प्रतिशत नोक्सानी घटाउन सफल भएका छन्। खाद्य खेर जान नदिने प्रणालीको उपयुक्त विकास नहुँदा सतत् विकास लक्ष्य (१२.३) अनुसार २०३० सम्म आधा घटाउने लक्ष्य न्यून तथा मध्यम आय मुलुकलाई गाह्रो छ। जबकि विकसित देशले व्यावहारिक मार्ग अपनाएर खेर गएको खाद्यान्न मूल्यांकन गर्न थालिसकेका छन्।

खाद्यान्न खेर जान नदिन भण्डारण तथा यातायात, प्याकेजिङ तथा लेबलिङमा सुधार र खाद्य दानमा प्रोत्साहित गर्नुपर्छ। स्मार्ट प्याकेजिङमा रहेको सेन्सरको मद्दतले तात्कालिक सूचना लिएर खानेकुराको ताजगी र गुणस्तर अनुगमन गर्न सकिन्छ। ब्लकचेन टेक्नोलोजीमार्फत खानेकुरालाई आलीदेखि थालीसम्म खेर गयो कि गएन भनेर पछ्याउन सकिन्छ। यस प्रविधिले खाद्य आपूर्ति शृंखलामा पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्छ।

खरिदारी गर्नुभन्दा अघि योजना बनाउने तथा आवश्यक मात्रा मात्र खरिद गर्ने, उभ्रेका खानालाई फ्रिजमा राख्ने, चाँडै बिग्रिन सक्नेलाई उमालेर/पकाएर/मिश्रण गरेर (पाउरोटी, जाम, ससेज, सुप बनाएर) राख्नु पर्छ। खानेकुराका विभिन्न परिकार बनाउन तथा प्रयोग गर्न सिकाउने माध्यम उपलब्ध छन्–वेबसाइट (बिग ओभन, सुपर कुक, माइ फ्रिज फुड आदि) र एप्स (इपिक्युरियस, अल रेसिपी आदि)। खुद्रा बिक्रेताकोमा बचेका र रेस्टुरेन्टमा उभ्रेका खाना घर लिएर जाने वा दान गर्न प्रोत्साहित गरेमा दिगो र उत्तरदायी उपभोगमा जोड पुग्छ। उपभोक्ताहरूलाई सचेत र शिक्षित गराउने हो भने ७४.१ लाख टन हरित ग्यास उत्सर्जन रोक्न सकिन्छ।

‘खाद्य बचत तथा खाद्य बाँडचुँड’ जस्ता कार्यक्रम सञ्चालनले खाना दान गर्न सघाउ पुर्‍याउँछ। यस्ता कुरा स्कुल तहदेखि नै पाठ्यक्रममा राखेर विद्यार्थीलाई सिकाउन सकिन्छ। कलेज तहमा चाहिँ डिजिटल क्याफटेरियामार्फत उपभोग प्रवृत्ति विश्लेषण गर्न सकिन्छ। खाद्य बैंकको अवधारणाले खाद्यान्न खेर जाँदैन।

जनताको आचार, व्यवहार, प्रवृत्ति र मनोवृत्ति आदिमा परिवर्तन ल्याउनु जरुरी हुन्छ। कृत्रिम बौद्धिकता (एआई) को प्रयोगले खाद्यवस्तुको भण्डारण कहाँ के कति छ ठम्याएर सोलाई आवश्यक ठाउँमा वितरण/बाँडचुँड गर्न सकिन्छ। त्यसैगरी खेर गएकोलाई नयाँ प्रविधि ‘एरोबिक कम्पोस्टिङ’ को प्रयोग गरी मल बनाउन सकिन्छ।

अन्त्यमा, खाद्यान्न खेर जान नदिन धनी–गरिब दुवै देशको विकासको प्रमुख लक्ष्य हो। राष्ट्र संघका अनुसार विश्व जनसंख्या २०५० सम्ममा १०.५ अर्ब पुग्ने अनुमान छ। त्यो बढ्न जाने खाने मुखहरू (लगभग ३३%) लाई खुवाउन ७० प्रतिशत थप खाद्य उत्पादन गर्नु पर्ने हुन्छ। त्यसैले आलीदेखि थालीसम्म खाद्य नोक्सानी घटाउने/हटाउने अभियानमा लागिहाल्नुपर्ने देखिन्छ। खेर गएको खानालाई विसर्जनको प्रबन्ध गर्न हरेक देशका सरकार वा नगरपालिका (नेपालमा स्थानीय निकाय) ले अतिरिक्त व्यय भार व्यहोर्नुपरेको छ।

विश्व बैंकका अनुसार जति खाद्यान्न नोक्सानी घटाइन्छ, त्यति नै बराबरको बढेको अन्नबाली उत्पादनको आय हुन आउँछ। भनाइको मतलब १० प्रतिशत नोक्सानी घटाउन सके १० प्रतिशत बढी उत्पादन वृद्धिको बचत हुन आउँछ। यो गर्न सके पृथ्वी मात्र होइन, पानी, ऊर्जा, श्रम, पुँजी र जग्गासमेत जोगिन पुग्छ। खाद्यान्न मानवलाई खुवाउनका लागि हो, ल्यान्डफिल साइट भर्न होइन। @nagariknews.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय