बहुउपयोगी डेटा सेन्टर निर्माण गर्दै वर्ल्डलिङ्क, भवन निर्माणका लागि माग्यो प्रस्ताव

  
बहुउपयोगी डेटा सेन्टर निर्माण गर्दै वर्ल्डलिङ्क, भवन निर्माणका लागि माग्यो प्रस्ताव

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले काठमाडौंको मातातीर्थमा बहुउपयोगी डेटा सेन्टर निर्माणको काम अघि बढाएको छ ।

सोमबार डेटा सेन्टरका लागि आवश्यक भवन निर्माण गर्न सार्वजनिक रुपमा प्रस्ताव माग गर्दै कम्पनीले यसको प्रक्रिया अघि बढाएको हो ।

इच्छुकले आउँदाे सोमबारसम्म आवेदन दिनसक्ने जनाइएकाे छ । यसअघि २५औं वार्षिक उत्सवको अवसरमा देशका १४ सहरमा डेटा सेन्टर निर्माण गर्ने घोषणा कम्पनीले गरेको थियो ।

सोही योजना अन्तर्गत कम्पनीले पहिलो चरणमा काठमाडौंको मातातीर्थमा कम्पनीको सबैभन्दा ठूलो डेटा सेन्टर निर्माणको काम अघि बढाउन लागेको हो ।

आगामी डेढ वर्षभित्र सेवा नै सञ्चालनमा ल्याउने गरी कम्पनीले यो परियोजना अघि बढाएको जनाएको छ । यो डेटा सेन्टरकाे लागत विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन ।

तर, यसअघि भएको घोषणा अनुसार देशका १४ सहरमा डेटा सेन्टर निर्माणको लागि कूल तीन अर्ब रुपैयाँ लाग्नेछ ।

कम्पनीका अनुसार काठमाडौंमा निर्माण हुने डेटा सेन्टरका लागि आवश्यक डिजाइनको काम सम्पन्न भइसकेको छ । जसको काम भारतीय कम्पनी एयरटेल नेक्स्ट्रा डेटाले गरेको हो । जुन एयरटेलको डेटा भेन्चर कम्पनी हो ।

बाँकी सहरमा निर्माण हुने डेटा सेन्टरका लागि आवश्यक डिजाइनको काम चलिरहेको कम्पनीले जनाएको छ ।

पछिल्लो समय नेपालमा इन्टरनेट ट्राफिकका साथै डिजिटल सेवाको उपयोगमा उल्लेखनीय वृद्धिलाई लक्षित गर्दै कम्पनीले डेटा सेन्टर निर्माणको काम अघि बढाएको हो । जुन सुरक्षित र भरपर्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त तथा सुविधा भएको डेटा सेन्टरको रुपमा निर्माण हुने कम्पनीले जनाएको छ ।

 

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय