दिल्लीका स्पिनर आश्विन अनफिट, सन्दिप खेल्ने प्रबल सम्भावना

  
दिल्लीका स्पिनर आश्विन अनफिट, सन्दिप खेल्ने प्रबल सम्भावना

एजेन्सी । आईपीएल क्रिकेटको क्वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच विहिवार प्रतिस्पर्धा हुँदैछ ।

जारी आईपीएलको क्वालिफायर–१ मा आज बेलुका पौने आठ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्लीले प्रतिस्पर्धा गर्दैछन् ।आजको खेलको विजेता टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ । इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ ।

 

स्पिनर रविचन्द्रन आश्विन अनफिट

आजको खेलमा दिल्ली क्यापिटल्सका बलर रविचन्द्रन आश्विन पूर्णरूपमा फिट नभएको खबर बाहिर आएको छ । लिग चरणको अन्तिम खेलमा आश्विन समस्यामा देखिएका थिए । आरसीबी विरुद्धको सो म्याचमा उनले चार ओभरमा महत्वपूर्ण एक विकेट लिएर १८ रन मात्र दिएका थिए । तर, आश्विन आफ्नो चार ओभर सक्ने बित्तिकै मैदान बाहिरिएका थिए । त्यसपछि उनी फिल्डिङका लागि मैदान प्रवेश गरेका थिएनन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनको घुँडामा चोट लागेको छ ।

आश्विन जारी सिजनको सुरुवातमा पनि घाइते भएका थिए । फिल्डिङका क्रममा उनको हातमा चोट लागेको थियो । र, आश्विनले केही म्याच पनि गुमाएका थिए । आज मुम्बई विरुद्धको पहिलो क्वालिफायर खेलमा उपलब्ध हुन नसके आश्विनको स्थानमा दिल्लीले कसलाई खेलाउने छ भन्ने कुरा रोचक रहनेछ ।

के सन्दिपले पाउलान् मौका ?

भारतीय पूर्वक्रिकेटर तथा वर्तमान कमेन्टेटर आकाश चोपडा यो विषयमा स्पष्ट छन् । उनी भन्छन्, ‘यदि आश्विन फिट नभए उनको स्थानमा लेग स्पिनर सन्दीप लामिछानेलाई खेलाउनु पर्छ । विदेशी कोटाबाट अघिल्लो म्याच खेलेका डानियल साम्सलाई विश्राम दिनुपर्छ । र, उनको स्थानमा फास्ट बलरको रूपमा हर्षल पटेललाई आज दिल्लीले मैदान उतार्नुपर्छ ।’ कोभिड–१९ को महामारीका कारण भारतबाट आइपीएल यूएई सारिएको थियो । दिल्लीको टोलीमा यूएईको भूमि सम्भवतः सन्दीपले सबैभन्दा राम्रोसँग बुझेका थिए ।

सन्दीपले यूएईमा एकदिवसीय अन्तर्राष्ट्रिय, ट्वान्टी–२० अन्तर्राष्ट्रिय, अफगान प्रिमियर लिगदेखि टी–१० लिग सबै यूएईमा खेलेका थिए । जबकि धेरै भारतीय र विदेशी खेलाडीका लागि यो भूमि बिरानो जस्तै थियो । यस्तो अवस्थामा सन्दिपले राम्रो प्रदर्शन गर्न सक्ने आँकलन थियो । तर, चार जना मात्र विदेशी खेलाडी खेलाउने नियमले उनी टिममा पर्न सकेका थिएनन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय