‘जंक फुड’को आदत घटाउने प्रयास

ल्याटिन अमेरिकाका केही देशले खाद्य लेबलिङलाई आवश्यक ठान्न र प्रोत्साहित गर्न थालेका छन्

आजभोलि बाहिर खान जाँदा जंक (पत्रुखाना) बाहेकका विकल्प निकै कम भेट्टाइन्छ । तिनमा चिनी, नुन र केमिकलयुक्त प्रशोधित खाद्यवस्तु भरमार पाइन्छ । साथै, तपाईंले ‘लो फ्याट’ ‘ग्लुटेन–फ्री’, ‘केटो–फ्रेन्डली’ र ‘रेसायुक्त’जस्ता शब्दजालसहितका आक्रामक मार्केटिङको कुहिरो पनि सामना गर्नुपर्नेछ, जसले ती खाद्यपदार्थ सुआहार हो कि भन्ने भ्रम दिन्छ ।  खाने कुराको प्याकेजिङमा उल्लेखित पोषण–लेबल विश्लेषण गर्ने समय, धैर्य वा कौशल नभएका व्यक्तिका लागि भरपर्दाे मार्गदर्शन पाउन कठिन छ । यो सवालमा उपभोक्ताहरूलाई प्याकेटको अग्रभागमा एकै नजरमा पोषणसम्बन्धी महत्वपूर्ण जानकारी दिने प्रणाली सहयोगी हुन सक्छ ।

अत्यधिक चिनीयुक्त सोडा वा अन्नलाई प्रशोधन गरी तयार गरिने ब्रेकफास्ट अस्वस्थ्यकर भएको चेतावनी दिने संकेत वा लेबललाई उदाहरणका रूपमा लिन सकिन्छ । तथापि, यसप्रकारको लेबलमा अधिकांश ठूला खाद्य उत्पादक (म्यानुफ्याक्चरर्स) का रुचि हुन्न । तर, ल्याटिन अमेरिकाका केही देशले खाद्य लेबलिङलाई आवश्यक ठान्न र प्रोत्साहित गर्न थालेका छन् । केही प्रारम्भिक प्रमाणले यो तरिकाले मानिसहरूको खाने तौरतरिकामा सकारात्मक प्रभाव पार्न थालेको देखाएको पनि छ ।

चिली, मेक्सिको, ब्राजिल र अन्य दर्जनाैँ देशले खाद्य लेबलिङमा बदलाव गर्ने काम गरेका छन् । अनुसन्धानले यी कदमले मानिसलाई पोषणको गुणस्तर बुझ्न र उनीहरूको खरिद बानी सुधारमा सहयोग गर्न सक्ने देखाएको छ । चिलीले सन् २०१६ मा विद्यालयहरूमा पत्रुखाना (जंक फुड) र पत्रुपेयमा प्रतिबन्ध लगाउने, चेतावनीयुक्त–लेबलहरू लगाउनुपर्ने, अस्वस्थकर खाद्यवस्तुको विज्ञापनमा प्रतिबन्ध लगाउनेजस्ता अनेकौँ नियम ल्यायो । अनुसन्धाताले यसपछि चिनी र सोडियमजस्ता तत्व उच्च भएका पेयको खपतमा करिब २५ प्रतिशतले कमी आएको पाए । चेतावनी–लेबलले खाद्य आपूर्तिमा चिनी, सोडियम र स्याचुरेटेड फ्याटको कमी ल्याएको पनि पाए ।

उरुग्वेमा सन् २०२० मा प्रकाशित एक सर्वेक्षणले पोषणसम्बन्धी चेतावनीको प्रारम्भिक प्रभाव मूल्यांकन गर्दा चेतावनी–लेबल पढेका ५८ प्रतिशत सहभागीले सो उत्पादन खरिद गर्ने आफ्नो निर्णय परिवर्तन गरेको पायो । यसरी निर्णय परिवर्तन गर्नेमध्ये १७ प्रतिशतले कम हानिकारक सोही प्रकृतिको उत्पादन रोजेको र १८ प्रतिशतले चाहिँ त्यस खालको उत्पादन नकिन्ने निर्णय गरेको बताएका थिए । प्याकेटको अगाडि चेतावनी–लेबल राख्ने प्रबन्ध गरेका चिलीलगायत देश स्वास्थ्यलाई संवैधानिक अधिकारका रूपमा अभिलिखित गरेका देश हुन् । (मेक्सिकोको सर्वाेच्च अदालतले हालसालै स्वास्थ्य अधिकारकै हिस्साको रूपमा प्याकेजिङको अग्रभागमा लेबल लगाउनुपर्ने नियमलाई स्वीकार गरेको छ ।)

कुनै समय अमेरिका जानकारीमूलक खाद्य लेबलिङका लागि विश्वमा अग्रणी थियो । सन् १९६० को दशकमा कंग्रेसले खाद्य कम्पनीले अन्तरराज्य कारोबार हुने आफ्ना सबै उत्पादनमा ‘सामग्री सूची’ उल्लेख गर्नुपर्ने कानुन पास गर्‍यो । त्यसको सात वर्षपछि प्रोटिन, कार्बाेहाइड्रेट, बोसो र सूक्ष्म पोषकको मात्रा र क्यालोरीलाई समेत उल्लेख गर्नुपर्ने गरी केही खाद्यवस्तुमा पोषण लेबलिङ विस्तार गरियो । प्याकेजिङमा पोषण तत्वहरूबारे भ्रामक दाबीहरू बढ्न थालेपछि ‘न्युट्रेसन लेबलिङ एन्ड एजुकेसन एक्ट’ले प्रतिक्रियास्वरूप सन् १९९० मा खाद्य कम्पनीलाई आफ्ना उत्पादनमा ‘मानवीकृत पोषण फ्याक्ट प्यानल’ राख्नुपर्ने बनायो । तर, कंग्रेसले यस उद्योगलाई सहुलियतको रूपमा केही ‘खाद्य लेबल’मा खाद्य तथा औषधि प्रशासन(एफडिए)बाट अनुमति लिएर रोगको जोखिम कम रहेका दाबी मुद्रण गर्न छुट दियो । ओट्सले ‘कोलेस्ट्रोल कम गर्ने’ वा ‘मुटुका लागि स्वस्थकर’ रहेको दाबीसहितको लेबल लगाउन पाउने भयो । अहिले करिब ६० प्रतिशत अमेरिकी आहार प्रशोधित खाद्यपदार्थबाट परिपूर्ति हुन्छ, जुन मधुमेह, हृदय रोग र क्यान्सरको बढ्दो जोखिमसँग सम्बन्ध भएका खाद्यवस्तु हुन् । यसर्थ, सरकारले चेतावनी–लेबलहरू अद्यावधिक गर्ने यही समय हो ।

सन् २०२२ मा ह्वाइट हाउसले एफडिउलाई खाद्यवस्तुका प्याकेटमा पोषणबारे जानकारी प्रदर्शन गर्ने मानकीकृत प्रणालीबारे अनुसन्धान र प्रस्ताव गर्न सक्ने अख्तियारी दिएको थियो । एफडिएले लगत्तै एउटा सार्वजनिक सुनुवाइ आयोजना गर्‍यो र लक्षित समूहहरूको बैठक आयोजना गर्‍यो । उसको प्रस्ताव आउँदै छ । गत डिसेम्बरमा इलिनोइसका सांसद जान चाक्वस्की र कनेक्टिकटका सिनेटर रिचर्ड ब्लुमेन्थलले एफडिएलाई अस्वस्थकर खाद्य तथा पेयपदार्थका लागि चेतावनी–लेबल विकास गर्न दिने कानुन पेस गरेका छन् । खाद्यपदार्थ उत्पादक कम्पनीले नयाँ खाद्य लेबलविरुद्ध अदालतको ढोका ढकढक्याउन सक्छन् । अमेरिकी कानुनअन्तर्गत कर्पाेरसनलाई पनि विभिन्न सन्दर्भमा मानिसकै रूपमा हेरिन्छ र उनीहरूलाई पनि अभिव्यक्तिको स्वतन्त्रताको हक छ ।

खानाको स्वस्थकर लेबलबारे सुसूचित गर्न युरोेपेली संघका केही मुलुकले ‘न्युट्री–स्कोर’ भनिने प्रणाली उपयोग गर्छन्, जसले खाद्यवस्तुलाई ‘ए (अत्यन्त स्वस्थकर)’ देखी ‘इ (कम स्वस्थकर)’को स्केलमा स्तरीकरण गर्छ । नुन र चिल्लोका कारण फ्रान्समा बिक्री हुने चिप्सले ‘सी’ ग्रेड पाएको छ । अन्य थुप्रै मुलुकले चिनी, नुन, क्यालोरी र चिल्लोको लेबलबारे सूचित गर्न ट्राफिक लाइट सिस्टम अर्थात् उच्च (रातो), मध्यम (पहेंलो) र न्यूनतम (हरियो) रंगको लेबल प्रयोग गर्छन् । इक्वेडरमा बिक्री हुने न्युटे«लाको प्याकेटको धेरैजसो हिस्सा यस्तै लेबलले ढाकेको हुन्छ । चिलीलगायत मुलुकले चिनी, नुन, चिल्लो र क्यालोरीबारे सचेत गराउन ‘ब्ल्याक अक्टागोन (कालो रंगको अष्टकोण चिह्न)’ उपयोग गर्छन् । अनुसन्धाताहरू यो लेबलिङ ‘ट्राफिक लाइट’ र ‘न्युट्री–स्कोर सिस्टम’ भन्दा निकै सफल भएको बताउँछन् ।

चिलीलगायत देशमा चेतावनी–लेबल नीतिले म्यानुफ्याक्चररलाई कम प्रशोधनतर्फ अग्रसर हुन प्रोत्साहित गरेको छ । स्पष्ट हौँ, सम्पूर्ण अमेरिकीलाई स्वस्थ आहार प्रदान गर्ने दिशाका थुप्रै चरणमध्ये यो एउटा चरण हो । ‘फ्रन्ट–अफ–प्याकेज लेबलिङ’ नीति–निर्माताहरूका लागि उपलब्ध उत्तम विकल्पमध्ये एक हो र यसले केही ठाउँमा काम गर्न थालिसकेको छ । यसले अमेरिकामा पनि काम गर्न सक्छ ।

(मोर्गन खाद्य प्रणालीविद् हुन् । बिटम्यान कोलम्बिया युनिभर्सिटीको ‘मेलम्यान स्कुल अफ पब्लिक हेल्थ’का खाद्यसम्बन्धी विशेष सल्लाहकार हुन् ।)
न्युयोर्क टाइम्सबाट

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय