लक्ष्मण घिमिरे ।
अर्घाखाँची,पौष २३ । अर्घाखाँचीमा ‘छैठौं अर्घाखाँची महोत्सव–२०८१’ हुने भएको छ । सन्धिखर्कमा पर्यटन महोत्सव एवं कृषि तथा औद्योगिक प्रदर्शनी मेला हुने भएको हो ।
अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा यही पुष २९ गतेदेखि माघ १२ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले जानकारी दिए ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पु¥याउने उद्देश्यसहित महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा अर्घाखाँचीका धार्मिक तथा पर्यटकिय स्थलको पहिचानसहितको डिजिटल बोर्ड राखिने भएको छ । त्यसबाहेक कृषि र स्थानीय उत्पादन तथा साना उद्योगबाट उत्पादन भएका आयआर्जन हुने वस्तुको लागि निःशुल्क स्टलको व्यवस्था मिलाइएको अध्यक्ष मिश्रले जानकारी दिए ।
स्थानीय व्यापारीहरुलाई ५० प्रतिशत छुटमा स्टलको व्यवस्था गरिएको, स्थानीय कलाकारलाई महत्व दिईने तथा स्थानीय प्रतिभा पहिचानका लागी डान्स आईडल र टिकटक प्रतियोगिता सञ्चालन गरिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
यसबाट आर्थिक गतिविधी हुने तथा स्थानीयले आफ्ना उत्पादन विक्रिवितरण गर्न सक्नेगरी मेला हुनेछ । मेला अवधीभर तिन करोड रुपैयाको कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।
मेलालाई व्यवस्थीत बनाउन आयोजकले विभिन्न उपसमिति बनाएर काम गरिरहेको छ ।

