लक्ष्मण घिमिरे ।
अर्घाखाँची, २४ बैसाख । तथा सिचाइ डिभिजन कार्यलय अर्घाखाँचीले चालु आर्थिक बर्षमा जारी बिकाश निर्माणका कामहरुको स्थलगत निरिक्षण गरेको छ ।
सिंचाईका कुलो तथा कार्यालयले गरेका कार्यहरुको निरिक्षण गर्नुका साथै गुणस्तरताको स्थलगत अनुगमन गरिएको हो ।
जिल्ला समन्वय समिती प्रमुख जिवनारायण कोईराला, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, प्राविधिक रामजि भट्टराई, वीर बहादुर बिसी, सिवपुर सडक डिभिजन प्रमुख सबिन कोईराला, ईलाका प्रहरी कार्यालय ठाडाका प्रमुख (ईन्स्पेक्टर) दिपक सिंह बिष्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, नेपाल पत्रकार महासंघका सचिव लक्ष्मण घिमिरे, शितगंगा नगरपालिका वडा नम्बर-२ का अध्यक्ष राम बहादुर गोर्खा क्षेत्री, उपभोक्ता समितिका पदाधिकारी, लाभान्वित नागरिक लगायतको सहभागितामा योजनाहरुको अनुगमन भएको हो ।
सडक र सिंचाई निर्माण गर्दा समन्वय अभावले भोग्नु परेको सास्तीका विषयमा समेत गहन छलफल भएको थियो । बर्षाको समय सुरु हुने भएकाले सन्धिखर्क-गोरुसिंगे सडकको व्यवस्थापन र रोपाईको समय पनि भएकाले निर्माण भएका कुलोहरु संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवालाहरुको माग छ ।
जिल्ला समन्वय प्रमुख तथा अनुगमन समितिका संयोजक जिवनारायण कोइरालाले जिल्लामा रहेका विकासे अड्डाहरुबिच समन्वय आवश्यक रहेको बताए । कार्यालयहरूबिच एक आपसमा समन्वय गरि काम गर्दा सहज हुनुका साथै योजनाहरु दिगो हुने बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले अहिलेसम्म गरिएका कामहरु गुणस्तरहिन नदेखिएको भन्दै गुणस्तरमा सम्झौता नहुने बताए । सम्बन्धित कार्यालय, सम्बन्धित वडा कार्यालय, नगर वा गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला अनुगमन समिति, पत्रकार, लगायत आम उपभोक्ताले पनि कामको निगरानी गरिरहेकाले निर्माण व्यवसायीहरु स्वयं सचेत रहेको विश्वास लिएको उनको भनाई छ ।
शितगंगा र सन्धिखर्क नगरका विभिन्न स्थानमा निर्माण भएका कुलो निरिक्षण गरिएको र देखिएका समस्या समाधान गर्न पहल गरिएको जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

