फागुन २१ गते हुने निर्वाचनमा भाग लिने उम्मेद्वारको टुंगो लगाउन बसेको नेपाली कांग्रेस अर्घाखाँचीको बैठक बिना निश्कर्ष सकिएको छ । उम्मेद्वार सिफारिश गर्न बसेको बैठक शुक्रवारका लागी सरेको हो ।
जिल्ला कार्यसमितिले आयोजना गरेको बैठकमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, क्षेत्रिय सभापति, पालिका सभापति, भातृ तथा सुभेच्छुक संस्था लगायतलाई आमन्त्रण गरिएको थियो । दिनभर पार्टी कार्यालयमा छलफल भएपनी बैठकले कुनै निचोड निकाल्न सकेन । शुक्रवार बस्ने बैठकले प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा उम्मेद्वारको टुंगो लगाउने जिल्ला सचिव कृष्ण खनालले जानकारी दिए ।
हलमा सभापति श्रेष्ठको नाम एकल सिफारिश गर्नुपर्ने माग उठ्यो, तर पार्टी मिलाउनु पर्छ भनेर मानेनन्
हलमा बोल्ने अधिकांश वक्ताले अबको उम्मेद्वार नयाँ तथा युवा अनुहार हुनुपर्छ भनिरहेका थिए । हलमा सभापति श्रेष्ठको नाम एकल रुपमा सिफारिश गर्न नाराबाजी नै भयो । सबैजसोले सभापतिको नाम एकल रुपमा पठाउनु पर्ने आवाज उठाएपनि स्वयं सभापति राजी भएनन् । उनले भने ‘म सभापति हँु, सबैलाई मिलाएर लैजानु मेरो दायित्व हो । म आफै आफ्नो एकल नाम पठाउन शोभा दिदैन ।’
युवादेखी जेष््ठ नागरिक सम्मले सभापती श्रेष्ठलाई दवाब दिँदापनि उनी राजी भएनन् । अन्य जिल्लामा उम्मेद्वारका लागी रस्साकस्सी चलिरहँदा अर्घाखाँचीमा एकल नाम सिफरिश गर्न सबैले जोड दिंदा सभापति राजी नहुँदा बैठकनै अन्यौलमा प¥यो ।
लुम्बिनी पोष्टसंगको कुराकानीमा सभापति श्रेष्ठले एकल नाम पठाउन दवाब आएको बताए । ‘साथीहरुले एकल नाम सिफारिश गर्न अनुरोध गर्नुभएको हो, उनले भने,‘म सभापतिका नाताले पार्टीलाई एकढिक्का बनाएर लैजानु पर्छ ।’ सबै साथीहरुको भावनाको कदर गर्दै समेट्ने प्रयास गर्नेछु ।
उनका अलावा लेखनाथ पोख्रेल, मुक्तीराम श्रेष्ठ लगायत पनि आकाँक्षी छन् । जो आएपनि टेस्टेड पात्र आउन नदिन कांग्रेसका युवाहरुले दवाब बढाएका छन् ।
सँधै पुरानै अनुहार र पात्र बोकेर निर्वाचनमा जान नसकिने भन्दै युवा टोलीले एकल नाम सिफारिश गर्न दवाब दिएको हो । उनिहरुको जोडबलमा एकल उम्मेद्वार सिफारिश गर्न जिल्ला कार्यसमितिलाई दवाब बढेको छ ।
