लक्ष्मण घिमिरे ।
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफु आगामी निर्वाचनमा उम्मेद्वार नहुने स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री आचार्यले आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा आफु उम्मेद्वार नभएको स्पष्ट पारेका हुन् । (नेकपा) एमाले अर्घाखाँचीबाट आचार्यको नाम प्रतिनिधीसभा उम्मेद्वारमा जाने अड्कलबाजीका बिच उनले आफु अहिले फरक जिम्मेवारीमा रहेकाले उम्मेद्वार नहुने बताएका हुन् ।
संघिय सांसदमा तँपाइको चर्चा छ नि भन्ने पत्रकारहरुको प्रश्नमा उनले आफू हाल मुख्यमन्त्रीकै जिम्मेवारीमा रहेकाले संघीय निर्वाचनमा नउठ्ने बताएका हुन्। ‘अहिले म मुख्यमन्त्री नै छु। मुख्यमन्त्री भइसकेको अवस्थामा संघीय निर्वाचनमा उम्मेदवारी दिन्नँ, उनले भने, ‘अबका दुई वर्ष प्रदेशमै रहेर काम गर्छु, त्यसपछि पार्टीको जिम्मेवारी सम्हाल्नेछु।’
अर्घाखाँचीबाट अबको उम्मेद्वार को हुन्छ भन्ने प्रश्नमा मुख्यमन्त्री आचार्यले हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारे। ‘अहिलेसम्म कुनै निर्णय भएको छैन। पार्टीको बैठक बसेर निर्णय हुनेछ’ उनले भने।
उम्मेद्वार चयनका सन्दर्भमा उनले नयाँ पुस्ताको भावनालाई कदर गर्नुपर्नेमा जोड दिएका छन्। जेन जी पुस्ताको भावना बुझ्दै तुलनात्मक रूपमा कान्छो उम्मेद्वार उठाउनु पर्छ भन्ने सल्लाह दिएको मुख्यमन्त्री आचार्यले बताए।
