‘सरकार मेरी छोरीको भविष्य अन्धकार नपारिदिनू, मेरो दुःखको जिम्मा मै लिउँला!’

बस्ती उजाडिएपछि १० कक्षा पढ्ने छोरीको भविष्यलाई लिएर चिन्तित छिन् आमा

समाचार सारांश
Auto Generated by AI
  • महिनाअघि सडक दुर्घटनामा श्रीमान् गुमाएकी देवकी थापाको जीवन त्यसबेलादेखि नै कष्टकर बनेको छ।
  • श्रीमानको क्षतिपूर्तिबाट किनेको सुकुम्बासी बस्तीको सानो झुपडी पनि सरकारी डोजरले भत्काएपछि उनी घरबारविहीन भएकी छिन्।
  • खुट्टाको गम्भीर शल्यक्रिया गर्नुपर्ने र छोरीको पढाइको चिन्ताले पिरोलिएकी उनी अहिले निकै दयनीय अवस्थामा सहयोगको याचना गरिरहेकी छिन्।

४१ महिनाअघिको एक गोधूली साँझमा उनको जीवनको दियो झ्याप्प निभ्यो!

२०७९ असोज १२ गतेको साँझ पाँच बजेको त्यो त्रासदी दोलखा कालिञ्चोककी देवकी थापा सम्झन पनि चाहन्नन्। उनको जीवन त्यही घटनाले थमाएको ऐँठनमा चलिरहेको छ।

त्यस दिन देवकी र उनका श्रीमान् रामकुमार थापा घरायसी किनमेल सकेर कोठा फर्कँदै थिए। कोटेश्वर चोकको बाटो काट्ने ठाउँ नजिकै उभिएर श्रीमान् पारितिर हेर्दै थिए। देवकी श्रीमानकै छेउमा उभिएर बजारको चहलपहल नियाल्दै थिइन्।

सडकमा सवारी साधनको भीड बढ्दै थियो, पेटीमा बटुवाहरूको सन्ध्याकालीन चहलपहल पनि बाक्लिँदै थियो।

एक्कासि एउटा बाइक बत्तिँदै आयो। के भयो भनेर देवकीले सोच्न पनि भ्याएकी थिइनन्, श्रीमान-श्रीमती दुवै पेटीमा बजारिन पुगे।

त्यसपछि के भयो, देवकी बताउन सक्दिनन्। बाँकी कुरा उनको आँसुले बताउन थाल्छन्।

दुर्घटनाको केही बेरपछि श्रीमान-श्रीमती दुवैलाई उद्धार गरी प्रहरीले अस्पताल पुर्‍यायो। देवकीको खुट्टाको नली हाड भाँच्चिएको रहेछ। श्रीमान् रामकुमार अत्यन्त गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका थिए। पेटीमा बजारिन पुगेकाले उनको अवस्था नाजुक थियो।

‘डाक्टरले कोसिस त गर्नुभयो। तर दैवको अगाडि कसको के जोर चल्नु! विधाताले उस्तै लेखेको रहेछ। उहाँको प्राणपखेरू उडिहाल्यो!’ देवकीले रूँदै सुनाइन्।

यसरी देवकीको जीवनको दियो एकाएका निभेको थियो।

देवकी निभेको जीवनको दियालो फेरि जगाउने भगीरथ प्रयत्नमा थिइन्। बाबु बित्दा ११ वर्षमा हिँडिरहेकी छोरी १० कक्षामा पुगेकी थिइन्। त्यही दुर्घटनामा क्षतविक्षत भएको खुट्टा तंग्रिँदै थियो। जीवनका घाउखत बिस्तारै निको हुँदै जालान्, जीवनमा फेरि घाम उदाउला भन्ने आसमा थिइन् उनी।

१७ वर्षीय किशोर विपिन सुनारले चलाएको मोटरसाइकलले उनको जीवनमा कहिल्यै निको नहुने पीडा थमाएको थियो। मुद्दा अदालतमा अद्यापि विचाराधीन छ।

क्षतिपूर्तिवापत् देवकीले पाँच लाख रूपैयाँ पाएकी रहिछन्। त्यो पैसाले उनको जीवन निर्वाह हुन सक्दैनथ्यो। न उनको पीडाको पुर्ताल हुनु!

कलिली छोरीको अनुहार हेर्दै आफ्नो पीडा लुकाउँदै उनले त्यही पैसालाई सहारा बनाएर अघि बढ्ने प्रयत्न गरिन्।

पाँच लाख रूपैयाँले काठमाडौंमा एक पाइलो जमिन पनि आउँदैनथ्यो। कसैले उनलाई सुनाइदियो — जडिबुट्टीको सुकुम्बासी बस्तीमा तीन लाखमा ओत लाग्न मिल्ने छाप्रो आउँछ।

आफ्नै भन्न मिल्ने ओत लाग्ने ठाउँ आउँछ भनेपछि देवकीले दायाँबायाँ हेरिनन्। सोध्ने, सल्लाह लिने नजिकका मान्छे पनि थिएनन्।

उनले भोलिको बाटो नहेरी तीन लाखमा झुपडी किनिन्। बचेको पैसाले जीवन निर्वाहका लागि अत्यावश्यक सामग्री खरिद गरिन्।

‘मलाई के थाहा हजुर! यो दिन हेर्नुपर्छ भन्ने थाहा भएको भए अरू नै उपाय लगाउँथेँ। छोरीको भविष्य सोचेँ,’ उनी फेरि भक्कानिइन्।

छोरी सञ्जिताले ८ कक्षासम्म सुकुम्बासी बस्तीकै सरस्वती आधारभूत विद्यालयमा पढिन्। ९ कक्षा उनले सुविधानगरपारि रहेको सिद्धेश्वर स्कुलमा पढ्दै थिइन्।

दुःख र अभावको ताडनाबीच हुर्किएकी उनको पढाइ मध्यम छ। उनको पढाइमा काठमाडौंमै कार्यालय रहेको साथसाथ भन्ने संस्थाले भरथेग गरिरहेको थियो। हुर्किंदै गरेकी छोरीको आभायुक्त अनुहार हेरेर आफ्नो पीडा भुलाउने कोसिसमै थिइन् देवकी।

अचानक आइतबार उनको थाप्लामाथि सरकारी डोजर खनियो। सरकारी डोजरले देवकीको वर्तमान मात्रै होइन छोरी सञ्जिताको भविष्य पनि उखेलिदियो।

अहिले उनी पूरापूर बेसहारा छिन्।

‘ओत लाग्ने एउटा झुपडी पनि नासिएपछि हामी गरिबको जाने ठाउँ कहाँ छ र! गाउँमा एक पाटो खोरियाबारी हुँदो हो, त्यही पनि जेठाजुले भोगचलन गरिरहनुभएको छ। सबैलाई खान पुग्ने भएको भए उहीँ बसिहाल्थ्यौं। सहर केलाई पस्नुपर्थ्यो र!’ देवकी फेरि रोइन्।

डोजरले बस्ती उखेलेको रात उनी आफन्तको शरण परिन्। उस्तै गरिबी, अभाव र ताडनाबीच जीवनको रथ धकेलिरहेका उनका आफन्तीले पनि कतिञ्जेल शरण दिनु!

सोमबार उनी सुकुम्बासी नाम लेखाउन बायाँ हातले छोरी समाउँदै, दायाँ हातले बैसाखी समाउँदै त्रिपुरेश्वरस्थित रंगशालाको स्क्रिनिङ सेन्टर पुगेकी थिइन्।

आँसुपच्छे उनलाई हामीले त्यहीँ फेला पारेका हौं।

केही सहायता मिलिहाल्छ कि भनेर उनले त्यहाँ भेटिएजति सबैसँग हारगुहार गरिरहेकी थिइन्।

१५ वर्षमा टेकेकी छोरीलाई धेरै पढाउने उनको धोको छ। कसैले भरथेग गरिदिन्छन् कि, सहायताको हात बढाइदिन्छन् कि भनेर उनी याचनाकै स्वरमा भनिरहेकी थिइन्, ‘मेरो जीवन त दुःखमै बितिगयो, यसले चाहिँ थोरै भए पनि बाटो पाए हुन्थ्यो!’

यो सहरमा त्यस्तो को मान्छे भेटिएलान्? उनकै अन्तरमनले यसो भन्छ।

अहिले १० कक्षा सुरू हुने बेला भएको छ। बासको ठेगान छैन। सरकारी सेल्टरमा झिटीगुन्टा उठाएर लैजाने तागत उनीसँग छैन।

महानगरपालिकाले सहायता देला भनुँ भने उनका सामान आइतबारको रात सडकमै अलपत्र थियो। उनले आफन्त नगुहारेको भए त्यो सामान त्यहीँ अलपत्र पर्थ्यो।

दुःखको गर्तभित्रबाट धेरै दुःख सुनाउन उनलाई मन छैन।

डाक्टरले असार ३ गते शल्यक्रियाको मिति दिएको छ। पोल्टामा सय रूपैयाँ पनि छैन। पैसाकै कारण चैत २५ गतेको मिति आफैले सारेकी थिइन्। फेरि मिति सार्दा थप जटिलता आउँछ भनेर चिकित्सकले भनिसकेका छन्। अब मिति धकेल्न मिल्दैन।

कता हात पसारेर त्यसका लागि रकम जुटाउनु! अहँ उनले केही सोचेकी छैनन्।

जाँदाजाँदै उनले हामीलाई यति चाहिँ भनिन्, ‘सरकार मेरो छोरीको भविष्य अन्धकार नपारिदिनू! मेरो दुःखको जिम्मा म नै लिउँला!’

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय