लक्ष्मण घिमिरे ।
अर्घाखाँची,जेठ २२ । नेकपा (एमाले) अर्घाखाँचीले आगामी साता जिल्ला अधिवेशन गर्दैछ । नयाँ नेतृत्व चयन गर्न एमाले अधिवेशनको चटारोमा छ ।
यही जेठ २६ र २७ गते अधिवेशन गर्ने तयारी गरेको एमालेले सबै वडाबाट प्रतिनिधी छनौट गरेर ल्याईसकेको छ । जिल्लाका ६१ वडा, आयोजक कमिटी, विषेश ईलाका र जनसंगठन गरेर कुल ५६६ प्रतिनिधी छनौट भएर आएका नेकपा (एमाले) अर्घाखाँचीले जनाएको छ ।
जिल्ला आयोजक कमिटीका तर्फबाट १०७ जना, एक्काईस वटा जनसंगठनबाट ८३ जना र विषेश इलाकाबाट १५ जना गरी २०५ जना छनौट भएका छन् । यस्तै सन्धिखर्क नगरपालिकाबाट ८६ जना, शितगंगा नगरपालिकाबाट ६० जना, भुमिकास्थान नगरपालिकाबाट ५३ जना, मालारानी गाउँपालिकाबाट ६९ जना, पाणिनी गाउँपालिकाबाट ४५ जना र छत्रदेव गाउँपालिकाबाट ४८ जना गरी ३६१ जना छनौट भएका छन् ।
अध्यक्ष सहित पाँच पदाधिकारी तथा ८५ सदस्य गरी ९० जना नयाँ नेतृत्व चयन हुनेछन् । अधिवेशनको तयारी तिव्र पारिएको एमालेले जनाएको छ । अधिवेशनलाई भव्य बनाउन १ हजार १ सय ११ जनाको मुल कमिटी बनाएर तयारी थालिएको हो ।
९औं जिल्ला अधिवेशन गर्न लागेको एमालेमा हाल जिल्ला अध्यक्ष रहेका पिताम्बर भुसाल र प्रेम नारायण गैरे आकांक्षी देखिएका छन् । स्पष्ट दुई गुट देखिएको अर्घाखाँचीमा अधिवेशन हुन केही दिनमात्र बाँकी रहँदा अध्यक्षमा आकांक्षी देखिएकाहरु बिच संवाद जारी रहेको पार्टीले जनाएको छ । अध्यक्ष भुसालले सर्वसहमतीको प्रयास भईरहेकाले अंतिम क्षणसम्म मिल्न सक्ने बताए । ‘हामी सर्वसहमत बनाउने प्रयत्नमै छौं,उनले भने,उम्मेद्वारी दर्ता गर्ने बेलासम्म सबै कुरा मिल्न सक्छ ।’
लुम्बिनी प्रदेश अधिवेशनमा स्पष्ट दुई धारमा विभाजन भएका अर्घाखाँचीका नेता महासचिव शंकर पोख्रेल र उपाध्यक्ष बिष्णु पौडेल कित्तामा उभिएका छन् । शंकर पोख्रेल खेमाको नेतृत्व प्रदेश ‘क’ सांसद चेतनारायण आचार्यले गरेका छन् भने विष्णु पौडेल खेमाको नेतृत्व प्रदेश ‘ख’ सांसद रामजी प्रसाद घिमिरेले गरिरहेका छन् ।
अर्घाखाँचीमा एमाले भित्र चेतनारायण आचार्यको दबदबा छ । पार्टीको केन्द्रिय सदस्य समेत रहेका आचार्य हाल लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री हुन् । जिल्ला पार्टीमा र केन्द्रमा समेत उनको प्रभाव राम्रो छ । उनी शंकर पोख्रेल निकट मानिन्छन् । उनको समर्थन पिताम्बर भुसाललाई छ ।
यता बिष्णु पौडेल निकट मानिएका सांसद रामजी प्रसाद घिमिरेको व्यक्तीगत प्रभाव राम्रै छ । उनका उम्मेद्वार प्रेम नारायण गैरे हुन् । घिमिरेकै कारण लुम्बिनी प्रदेश अधिवेशनमा बिष्णु पौडेल पक्षले अध्यक्ष जितेको चर्चाका बिच जिल्लामा पनि अर्को पक्षलाई धक्का दिन सक्ने अनुमान गरिएको छ ।
तर, प्रतिनिधी छनौट सकिएसंगै हौसिएको आचार्य पक्ष र हालसम्म अध्यक्ष वा अन्य पदमा खुलेर उम्मेद्वारी घोंषणा गर्न नसकेको घिमिरे पक्ष पर्ख र हेरको अवस्थामा रहनुले शंसय पैदा भएको छ । सर्वसहमतीको प्रयास भएकाले प्रचारलाई त्यती महत्व नदिएको दुवै पक्षका नेताहरुको भनाई छ ।
आचार्य पक्षमा पिताम्बर भुसाल, नरेन्द्र क्षेत्री, शम्भु पोख्रेल लगायत नेता खुलेका छन् भने घिमिरे पक्षलाई जनार्दन खनाल, प्रेम नारायण गैरे, श्रीकृष्ण भुसाल लगायत नेताहरुको साथ छ ।
अध्यक्षका प्रत्यासी प्रेम नारायण गैरेले नेतृत्वका लागी यसअँघीं नै सहमती भईसकेकाले यसपाली नेतृत्व आफुले पाउनु पर्ने बताए । यसअँघीं एक खाले राजनितिक सहमती भईसकेको विषयमा बेईमानी गर्न नहुने उनको भनाई छ । ‘अहिलेको नेतृत्वले चाहे सर्वसहमत हुन सक्छ,‘उनले भने,सहमती भईसकेको विषयमा पेलेर जाने निती लिए निर्वाचन हुन्छ ।’
अध्यक्ष बाहेकका पदमा समेत आकांक्षी धेरै भएकाले मिलाउन हम्मेहम्मे परेको छ । उपाध्यक्ष, सचिव र दुई उपसचिव पदका लागी दर्जन बढी नेता आकांक्षी छन् । सबै पदमा सर्वसहमत बनाउन कसरत चलिरहेको छ ।
अधिवेशनको लोगो सार्वजनिक
नवौं जिल्ला अधिवेशनको तयारी गरेको एमालेले ‘लोगो’ सार्वजनिक गरेको छ । अधिवेशनलाई पर्वको रुपमा मनाउन तथा कार्यक्रमलाई भव्य र आकर्षक बनाउन जिल्लाको छुट्टै लोगो बनाएर सार्वजनिक गरिएको एमाले कार्यालय सचिव लिला बिकले जानकारी दिए ।
पार्टी कार्यालय सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरिएको थियो । जिल्लाको पहिचान हुने ऐतिहासिक तथा धार्मिकस्थल र पार्टीको चुनाव चिह्न, झण्डा राखेर लोगो बनाईएको छ ।