विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको गुरुयोजना आवश्यक बजेट अभावमा पूरा हुन सकेको छैन । राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले आयोजना गरेको लुम्बिनी विकास कोषबाट भए गरेका ‘कामकारबाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजना’ विषयक छलफलमा कोषका अधिकारीहरुले यस्तो गुनासो गरेका हुन् ।
गुरुयोजनाअनुसारका काम गर्न १३ अर्ब बजेट आवश्यकपर्नेमा हालसम्म रु सात अर्बमात्र प्राप्त भएको कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले जानकारी दिए ।
लुम्बिनीलाई२०७१ मा राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखिएको थियो । गौरवको आयोजनाका रुपमा राखे पनि बजेट आवश्यक मात्रामा प्राप्त हुन सकेको छैन ।
बैठकमा सहभागी सांसदहरु उदयबहादुर बोहरा, इन्दिरादेवी गौतम, विष्णुकुमारी सापकोटा, राजेन्द्रलक्ष्मी गैरे, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया र सभापति सोनाम गेल्जेन शेर्पाले विश्वभर फैलिएका करिब एक अर्ब बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा गुरुयोजनाले निर्दिष्ट गरेका काम सक्न आवश्यक बजेट र जनशक्तिको व्यवस्था हुनुपर्नेमा जोड दिए । उनीहरुले लुम्बिनी क्षेत्रका प्राचीनता नबिग्रने गरी विकास गरिनुपर्नेमा ध्यानाकर्षण गराएका थिए ।
विश्वभर रहेका बौद्धमार्गी र गैर बौद्धमार्गी पनि शान्तिका अग्रदूत शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी आउन चाहने भएकाले त्यसको प्रचारप्रसार र आवश्यक संरचना विकास गरिनुपर्नेमा सांंसदहरुले जोड दिएका थिए । लुम्बिनी क्षेत्रमा क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्ध गरी तीन जना बुद्धको जन्म भएकाले यो क्षेत्रलाई पवित्र तीर्थस्थलका रुपमा विकास गरी विश्वभरबाट धार्मिक पर्यटक भित्र्याइनुपर्ने उनीहरुको भनाइ थियो ।