१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

छत्रदेव गाउँपालिका : आम निर्वाचन शैलीमा विद्यालयको चुनाव

राजनितीले सामुदायिक विद्यालय विकृत

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । बिहिवार बिहानै छत्रदेव गाउँपालिका–४ स्थित एक विद्यालयमा आम निर्वाचनकै झल्को आउने गरी मत पेटिका, मतपत्र, सुरक्षा निकाय र चारै तिर डोरी लगाएर राखिएको थियो ।

केही स्थानिय आएर मत हालेर फर्किएको देखिन्थ्यो । निर्वाचनमा जस्तै दुई खेमामा मतदाता विभाजित थिए । उम्मेद्वारहरु मत मागि रहेका थिए । उम्मेद्वारका अँघिपछी समर्थकहरुको घुँईचो थियो ।

सन्दर्भ थियो विद्यालय व्यवस्थापन समितिको निर्वाचन । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर–४, केरुङ्गाको महेन्द्र विद्याबोध नेत्रलाल राममणी माध्यमिक विद्यालयमा बिहिवार दिनभर आम निर्वाचनकै शैलीमा व्यवस्थापन समितिको निर्वाचन भएको छ ।

चार जना सदस्य पदका लागि ८ जना चुनावी मैदानमा छन् । जसमध्ये चार जना महिला र चार पुरुष उम्मेदवार छन् । बिहान ८ बजेबाट सुरु भएकोे मतदानमा कुल २१९ मतदाता (अभिभावक) रहेका विद्यालयले जनाएको छ ।

दुई बजेसम्म मतदानको समय राखिएकामा २१९ मत मध्ये १७८ मत खसेको थियो । मतगणनामा सबैभन्दा बढी मत टेबल चुनाव चिह्नले पाएको छ । टेबल चुनाव चिह्नका उम्मेद्वारले सबैभन्दा बढी ९६ मत र पुस्तक चुनाव चिह्नका उम्मेद्वारले सबैभन्दा कम ६० मत पाएका छन् । यस्तै पंखा चुनाव चिह्नले ९५, केरा चुनाव चिह्नले ९०, करुवा चुनाव चिह्नले ८९, सरस्वती चुनाव चिह्नले ६६, षटकोण चुनाव चिह्नले ६४ र घडी चुनाव चिह्नले ६२ मत पाए ।

९ मत बदर भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुल्सिराम न्यौपाने जानकारी दिए । अब निर्वाचित चार जना अभिभावकले अध्यक्षको छनौट गर्नेछन् ।

राजनितीले सामुदायिक विद्यालय विकृत
देख्दा चुनाव चिह्न लिएर निर्वाचन प्रक्रियामा भाग लिएजस्तो देखिएपनी राजनितीक भागबण्डा नमिल्दा दलिय आधारमा प्रतिस्पर्धा भएको हो ।

निर्वाचित चारै जना नेकपा (एमाले) निकट रहेका र पराजित चारै जना नेपाली कांग्रेस निकटका थिए । शिक्षामा राजनिती ओपन सेक्रेट कुरा हो । यहाँका सामुदायिक विद्यायलमा राजनिती भागबण्डा हुनु, दलिय प्रतिस्पर्धा हुनु कुनै नौलो कुरा होईन ।

शिक्षा नियमावली २०५९ मा सामुदायिक विद्यालयमा व्यवस्थापन समिती गठन गर्ने प्रावधान छ । यसैलाई प्रतिष्ठाको लडाईका रुपमा दलहरुले लिंदै आएका छन् । आफ्नो पक्षका उम्मेद्वारलाई विद्यालयमा टेकाउन विद्यालयहरुमा राजनिती हुने गर्दछ । जसको परिणाम सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरलाई हेरे पुग्छ ।

व्यवस्थापन समितिको छनौट गर्दा यो तहसम्मको राजनिती गर्ने स्थानीय नेता, कार्यकर्ताले विद्यालयलाई सपार्नुको साटो विकृत बनाई रहेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय