राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले पार्टी स्थापना दिवसको अवसरमा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न गरेको छ । दोस्रो वार्षिकोत्सवलाई अभियानको रुपमा मनाईरहेको पार्टीले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ४ मा रहेको वीरेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी आज दन्त परिक्षण शिविर सम्पन्न गरेको जिल्ला संयोजक हरिप्रसाद भुसालले बताए ।
करीब ९० जनाको दाँतको परिक्षण गरिएको शिविरमा विद्यार्थीहरु र स्थानीयहरुको समेत सहभागिता रहेको थियो । अर्घाखाँची निदान डेन्टल क्लिनिकसंगको सहकार्यमा सम्पन्न शिविरमा धेरैजसो बालबालिकाहरुको दाँतमा किराले खाने समस्या देखिएको दन्त चिकित्सक सन्ध्या अधिकारीले जानकारी दिईन् ।
पार्टी स्थापनाको अवसरमा रास्वपा अर्घाखाँचीले जिल्लामा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । आज दन्त शिविर सम्पन्न गरेको पार्टीले सात गतेसम्म चरणवद्ध कार्यक्रमहरु घोषणा गरेको छ । ५ गते रक्तदान र ६ गते वृक्षारोपण कार्यक्रम आयोजना गरेको रास्वपा अर्घाखाँचीले यही असार ७ गते सन्धिखर्क र शितगंगाको ठाडामा वृहत चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखेको जनाएको छ ।