२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

अर्घाखाँचीबाट वैदेशिक रोजगारीमा गएका मध्ये ४७ जनाले ज्यान गुमाए

अर्घाखाँचीका आधा लाख मानिस विदेशमा, यो वर्ष ८ हजार भन्दा बढी रोजगारीका लागी बाहिरिए

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीबाट वैदेशिक रोजगारीमा गएका मध्ये विगत तिन वर्षमा ४७ जनाले ज्यान गुमाएका छन् ।

रोजगारीका लागी श्रम स्विकृती लिएर वैदेशिक रोजगारीमा गएका अर्घाखाँचीका ४७ जनाले ज्यान गुमाएका छन् जसमध्ये ९ जनाको यसै वर्ष मृत्यु भएको छ । गएको तिन वर्षमा ठुलो संख्यामा ज्यान गुमाईरहँदा ७४ जना गम्भिर बिरामी परेका तथा अंगभंग भएका सुरक्षित आप्रवासन (सामी) को तथ्याङ्कमा उल्लेख छ । यसै वर्ष जेष्ठ मसान्तसम्म मात्र १८ जना गम्भिर बिरामी परेका तथा अंगभंग भएका छन् ।

हालसम्म अर्घाखाँचीबाट ५५ हजार २१३ जना वैदेशिक रोजगारीमा गएकामा ४७ जनाले ज्यान गुमाएको र ७४ जना अंगभंग तथा गम्भिर बिरामी परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साझेदारीमा काम गरिरहेको सुरक्षित आप्रवासन (सामी) का लुम्बिनी प्रदेश संयोजक जिया उल हकले बताए ।

यो संख्या श्रम स्विकृती लिएर वैदेशिक रोजगारीमा गएकाहरुको मात्र हो । गैरकानुनी ढंगले जाने, प्रक्रिया पुरा नगरी वा पर्यटन भिषामा जाने तथा अध्ययन भिषामा जानेहरुको तथ्याङ्क भने फरक पर्न सक्ने उनले बताएका छन् ।

अर्घाखाँचीबाट आर्थिक वर्ष ०७९/०८० मा ९ हजार ५२६ जना रोजगारीका लागी विदेश गएका थिए । चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ८ हजार १७५ जनाले वैदेशिक रोजगारीका लागी देश छाडेको सुरक्षित आप्रवासन (सामी) का अर्घाखाँची शाखाका सहजकर्ता अम्बिका बेल्वासेले बताईन् ।

उनका अनुसार ८ हजार १७५ मध्ये ६३३ जना महिला रोजगारीका लागी विदेशिएका हुन् । जुन कुल संख्याको ८ प्रतिशत हुन आउँछ ।

यस्तै अर्घाखाँचीमा अहिलेसम्म वैदेशिक रोजगारी ठगीका १० ओटा उजुरी परेका छन् । जसमध्ये चार ओटा उजुरी छिनोफानो भएका छन् भने ६ ओटा प्रक्रियामा रहेका छन् । ठगी गर्नेहरुबाट १० लाख ४६ हजार रुपैंया पिडितलाई फिर्ता गराईएको प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जानकारी दिए ।

९३ प्रतिशत जनसंख्या खाडीमा

देशभर बाट विदेश जानेको संख्या ठुलो छ । विसं. २०६३/०६४ साल यता गएको बैशाख मसान्तसम्म ७७ लाख २० हजार ७०८ जनाले श्रम स्विकृती लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना रोजगारीका लागी विदेश गएका थिए । यो संख्या गएको १७ वर्ष यताको उच्च संख्या हो । चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ६ लाख ९ हजार ६९९ जना वैदेशिक रोजगारीमा गएका छन् ।

अहिले सम्म विदेश जानेहरुको कुल ९३ प्रतिशत जनसंख्या मलेशिया तथा खाडी मुलुकमा गएका छन् । बाँकी ७ प्रतिशत नागरिक जापान, बहराईन, कोरिया, क्रोएशिया लगायतका देशमा छन् ।

ठुलो संख्या विदेशमा रहेका नागरिकले सरकारलाई तिर्नुपर्ने विप्रेषण अर्थात रेमिटान्सको रकमले मुलुकको कुल गा्रह्यस्त उत्पादन (जिडिपी) मा टेवा पुगेको छ । कुल गा्रह्यस्त उत्पादन (जिडिपी) संग रेमिटान्सको तुलना गर्दा करिब २३ प्रतिशत हिस्सा हुन आउँछ ।

राष्ट्रको खर्च धान्न वैदेशिक रोजगारमा गएका नेपाली नागरिकको अहम भुमिका रहेको देखिन्छ । यस्तै वैदेशिक मुद्रा संचितिमा समेत रेमिटान्स प्रमुख श्रोत हो ।

देशमा भित्रिएको पैसा कहाँ गएको छ ?

विदेशमा आर्जन गरेको पैसा कहाँ खर्च भएको छ भन्ने कुरा अझ रोचक छ । विदेशबाट पठाएको अधिकांश रकम दैनिक उपभोग्य सामान खरिद गर्नमै गएको तथ्याङ्कले देखाएको छ । विदेशबाट भित्रिएको पैसाको ७२.४० प्रतिशत रकम दैनिक घर खर्चमै गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

यस्तै ऋण तिर्न १५.८ प्रतिशत रकम खर्चिएका छन् । अध्ययनका लागी ४.६ प्रतिशत, घरजग्गामा १.९ प्रतिशत रकम खर्च भएको छ । भविष्यका लागी बचत प्रतिशत जम्मा १.९ रहेको छ ।

देशका ५६ प्रतिशत घरपरिवारले रेमिटान्स प्राप्त गर्छन् भने लुम्बिनी प्रदेशका ८९.६ प्रतिशत घरपरिवारले रेमिटान्स प्राप्त गर्छन । तर नेपालमा आएको पैसाको अधिकांश रकम घरखर्चमै गएको देखिन्छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय