लक्ष्मण घिमिरे ।
अर्घाखाँची, साउन ९ । लुम्बिनी प्रदेशको मन्त्री छनौटमा बेवास्ता गरिएको भन्दै नेपाली कांग्रेस प्रदेश समितिले आपत्ती जनाएको छ । प्रदेशको मन्त्री छनौट गर्दा पार्टीलाई पुर्णतय बेवास्ता गरेर एकलौटी केन्द्रले सिफारिश गरेको भन्दै लुम्बिनी प्रदेश समितिले असन्तुष्टी व्यक्त गरेको हो ।
लुम्बिनी प्रदेश समिति सभापती अमर सिंह पुनले ध्यानाकर्षण पत्र जारी गर्दै संघियता एवं समावेशिताको मर्म र पार्टिको विधान विपरित निरंकुश शैलीमा मन्त्रीहरु छनौट हुँदा प्रदेश संरचना कमजोर हुने जनाएका छन् ।
प्रदेश पार्टीको अन्तर सम्बन्ध, अन्तर समन्वय र सह अस्तित्वमा सरकार गठन हुनुपर्ने भन्दै पार्टीका साथीहरुको मनोभावना विपरित गरिएको कार्यमा पुनर्विचार गर्न चेतावनी दिइएको छ । वैधानिक प्रकृया कुल्चेर गरिएको निर्णय नसच्चाए आफुहरु अप्रिय कदम चाल्न बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
‘संघियता र प्रदेश संरचनाप्रती वितृष्णा पैदा भइरहेका बेला माथी बसेर डंडा चलाउने प्रवृत्ती ठिक होइन, सभापती पुनले भने,’निर्णय पुनर्विचार नगरे साथीहरु संग सल्लाह गरेर यथोचित निर्णय गर्छौं ।’ सरसल्लाह बिनै माथी बाट निर्णय थोपरिएको उनले बताए ।
केन्द्रीय नेतृत्वले पेलेर लैजान खोजेकाले पहिलो चरणमा ध्यानाकर्षण गराइएको उनले बताए । प्रत्येक पटक केन्द्रिय नेतृत्वबाट हेपिएको भन्दै उनले यसको प्रतिवाद गर्ने बताए ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेपछी कांग्रेसले पाँच मन्त्री पाउने सहमती भएको थियो । कांग्रेस सभापती शेर बहादुर देउवाले पाँचमध्ये चार मन्त्री संस्थापन पक्षबाट सिफारिश गरेका थिए । बुधवार भएको मन्त्रीमण्डल विस्तारमा कांग्रेसका चार जना मन्त्रीले सपथ लिएका छन् । नाम सिफारिश भएपनी बर्दियाका जन्मजय तिमिल्सिना भने सपथ ग्रहणमा उपस्थित भएनन् । अन्तिम समयमा उनलाई सभापती देउवाले ब्याक गराएको बताईएको छ । संस्थापन पक्षकै तिमल्सिनालाई किन रोकियो भन्ने स्पष्ट भएको छैन ।
इतर पक्षका प्रचण्ड विक्रम न्यौपाने तथा संस्थापन पक्षका धनेन्द्र कार्की, सरोज थापा र बादशाह कुर्मीले मन्त्री पदको सपथ लिएका छन् । एउटा खाली रहेको स्थानमा कसलाई पठाउने भन्ने यकिन नभएको नेताहरुले बताएका छन् ।