३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

नेपाली कांग्रेस इतिहासकै कमजोर : संजय गौतम

लक्ष्मण घिमिरे ।
अर्घाखाँची,पुष १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य संजय गौतमले पार्टी इतिहासकै कमजोर भएको बताएका छन् ।

हिंजोको नेपाली कांग्रेस जस्तो आजको नेपाली कांग्रेस नरहेको उनको भनाई छ । सन्धिखर्कमा आयोजित नेपाली कांग्रेसको ‘सय दिने विशेष अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य गौतमले पार्टीमा उत्साह र जाँगर नभएको बताए ।

गौरवशाली इतिहास बोकेको पार्टी विधिसंवत नचल्दा समस्या आएको उनको जिकिर छ । ‘पार्टी विधी र विधानमा चलेन,उनले भने,‘सिस्टममा नचल्दा समस्या भएको छ ।’ नेताहरुको स्वेच्छाचारी व्यवहारका कारण पार्टी कमजोर बन्दै गएको उनको भनाई छ ।

०८२ साल भित्रै महाधिवेशन हुन नसके पार्टी थप क्षयिकरण हुने उनले बताए । समयमा महाधिवेशन भए पार्टी फरक ढंगले अँघीं बढ्ने भन्दै गौतमले ०८४ को निर्वाचन कांग्रेस अनुकुल हुने बताए । वर्तमान नेतृत्वको कार्यशैली, आचरण र विगतको अभ्यास हेर्दा समयमा महाधिवेशन सम्पन्न नहुने दिशामा अग्रसर भईरहेको बताए ।

पार्टीको महाधिवेशन कुन समयमा हुन्छ भन्ने कुराले आगामी निर्वाचनको मतपरिणामलाई समेत असर गर्ने भएकाले समयमै महाधिवेशन हुनुपर्ने उनको भनाई छ । ’आगामी २०८४ को निर्वाचनमा कांग्रेसको पोजिशन कहाँ हुने भन्ने कुराको निर्धारण महाधिवेशन कहिले हुन्छ भन्ने कुरासंग जोडिएको छ, गौतमले भने,’समयमै महाधिवेशन भएन भने पार्टीले ठुलो क्षती व्यहोर्नु पर्छ ।’
पार्टी सभापति जो भएपनि आफुहरुको चिन्ता समयमा आन्तरिक निर्वाचन हुनुपर्छ भन्ने रहेको उनको भनाई छ ।

प्रतिनिधीसभा सांसदसमेत रहेका गौतमले नेपाली कांग्रेस सम्मिलित सरकार सहि ढंगले प्रस्तुत हुन नसके देशले निकास पाउन नसक्ने भन्दै दुई ठुला दलले जनतामा आशा जगाउने गरी काम गर्नुपर्ने बताए । शक्तिशाली र ठुला पार्टी मिल्दासमेत जनताले भरोसा गर्ने वातावरण निर्माण नगर्ने हो भने राजनितिप्रती नै झन् वितृष्णा बढ्ने उनको धारणा छ ।

संविधान संशोधन लगायतका विषयमा सरकार गम्भिरताका साथ लागेकाले सबैलाई स्विकार्य हुने गरी संविधान संशोधन हुने बताए । ’चाहिने र नभई नहुने कुरामा सर्वसहमती हुन्छ भन्ने मलाई विश्वास छ, उनले भने,’बढी गिजोल्ने हो भने अन्य तत्वहरु खेल्ने मौका पाउँछन् ।’

संविधान संशोधनका विषयमा दुवै दल र सरकार गम्भिर हुनुपर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय