लक्ष्मण घिमिरे ।
अर्घाखाँची जिल्लाका दुई उद्यमी पुरस्कृत भएका छन् । स्थानीय स्तरमा व्यवसाय गरिरहेका दुई जना उद्यमीलाई पुरस्कृत गरिएको हो ।
उद्योग, बाणिज्य तथा उपभोक्ता हित निर्देशनालयले अर्घाखाँचीको एस.पी व्लक तथा टायल उद्योग र सुपादेउराली साबुन एण्ड सरफ उद्योगलाई नगदसहित सम्मान गरेको हो । टायल उद्योगका शान्ता खत्री र सरफ उद्योगका बसन्ता खड्का रिजाललाई घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले एक कार्यक्रमका बिच नगद ४० हजार रुपैंयासहित सम्मान गरेको कार्यालय प्रमुख दुर्गा न्यौपानेले बताईन् ।
‘जिल्ला भित्रका उत्कृष्ट उद्यमी सम्मान तथा प्रोत्साहन पुरस्कार’ कार्यक्रम अनुसार उनिहरु छनौट भएको कार्यालयले जनाएको छ । उद्योग मार्फत रोजगारी सृजना तथा मुलुकको आर्थिक उन्नयनमा योगदान पुर्याएको भन्दै उनिहरु सम्मानित भएका हुन् ।
यसैबिच उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर रुपन्देहीको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको सहजीकरणमा उपभोक्ता जागरण तथा उद्यमीसँग अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले सरकारले उपभोक्ता र उद्यमी दुवैका लागि यस्ता अन्तरक्रिया कार्यक्रम आवश्यक रहेको बताए । उनले उद्यमीका समस्या उद्यमी सम्बन्धि प्रदेश ऐन बनाउँदा उठान गर्ने प्रतिबद्धता जनाए । ‘राज्यले असिमीत रोजगारीका अवसरहरु उपलब्ध गराउन सक्दैन, उनले भने, ‘बेरोजगारीका समस्या धेरै समाधान गर्ने निजी क्षेत्रले हो, यसका लागि धेरै उद्योग, व्यवसाय फस्टाउन आवश्यक छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, अर्घाखाँची उद्योग वाणिज्य संघका महासचिव तुल्सीराम खनाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको कार्यपत्र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख दुर्गा न्यौपानेले प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रम उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक इश्वरी चन्द्र अर्यालको अध्यक्षता र घरेलु कार्यालयका हुम बहादुर विकको संचालनमा सम्पन्न भएको थियो ।