लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीका सबै स्थानीय तहले निति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।
जिल्लामा रहेका तिन नगरपालिका तथा तिन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरेका हुन् । जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकाले सबैभन्दा बढी १ अर्ब ११ करोड १४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पर्यटन विकासलाई केन्द्रमा राखेर ल्याईएको बजेटमा शिक्षा, स्वास्थ्य र स्थानीय रोजगारीलाई प्राथमिकतामा राखिएको छ । नगरले चालु आर्थिक वर्षको भन्दा चार करोड बजेट बढाएर ल्याएको छ । सन्धिखर्क नगरसभाको १८ औं अधिवेशनमा नगर उपप्रमुख मिश्रा आचार्यले बजेट सार्वजनिक गरेकी हुन् ।
देशकै ठुलो नगरपालिका शितगंगाले ९३ करोड ६७ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख गिता भाट क्षेत्रीले प्रस्तुत गरेको बजेटमा कृषी, एकिकृत बस्ती निर्माण, उन्नत बिउपल उत्पादन र स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने मुख्य उद्देश्य राखिएको छ ।
भुमिकास्थान नगरपालिकाले बुधवार साँझ ८३ करोड ९४ लाख ७४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरका उपप्रमुख बालकृष्ण बञ्जाडेले बजेट सार्वजनिक गर्दे समपुरक क्षेत्रबाट विनीयोजन भएका योजना कार्यान्वयनमा जोड दिईएको बताए । सँगै स्थानीयलाई रोजगारी, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन भएको नगरले जनाएको छ ।
मालारानी गाउँपालिकाले ६२ करोड ९२ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ । मालारानी गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । उपाध्यक्ष दीपा पोखरेलले बजेट सार्वजनिक गर्दै सडकलाई कालोपत्रे गर्ने, कृषि, पर्यटन प्रवद्र्धन गर्दै स्थानीयलाई स्वरोजगार बनाउने उल्लेख गरेकी छिन् ।
जिल्लाको पाणिनी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागी ७२ करोड २० लाख ७४ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतमले सार्वजनिक गरेको बजेटमा कृषि उत्पादनलाई मुख्य रुपमा उठाईएको छ । शिक्षामा सुधार, स्वास्थ्यमा सहज पहुँच, पूर्वाधार विकास, पालिकाभित्रका सडकलाई सुधारसहित स्थानीय तथा युवालाई कृषि उद्यममा जोड्ने र रोजगारीका अवसर सृजना गर्ने लक्ष्यसहित यो वर्षको बजेट केन्द्रित रहेको पालिकाको भनाई छ ।
यस्तै छत्रदेव गाउँपालिकाले ५४ करोड ९ लाख ५५ हजार ७० रुपैयाँको बजेट पारित गरेको छ । पुरानै कार्यक्रम र योजनाहरुलाई निरन्तरता दिइएको पालिकाले जनाएको छ । पालिकाभित्र शैक्षिक गुणस्तर वृद्धि गर्ने, कृषि उद्यमलाई बजेट मार्फत सम्बोधन गर्न खोजिएको छ । पालिका उपाध्यक्ष मनी पन्थीले गाउँसभा मार्फत बजेट सार्वजनिक गरेकी हुन् ।