लक्ष्मण घिमिरे ।
अर्घाखाँची,असार १७ । अर्घाखाँचीमा दुई युवतीले विवाह गरेका छन् । विवाहपछी जोडीले समलिंगी विवाह दर्ता गराएको छ ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका निवासी फुलमायाँ (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी निरमायाँ (नाम परिवर्तन) ले यही २०८२ जेठ १८ गते विवाह गरेका थिए । अर्घाखाँचीको एक वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
अर्घाखाँचीकी २३ वर्षिय फुलमायाँ र कपिलवस्तुकी २० वर्षिय निरमायाँ आवश्यक कागजात सहित विवाह दर्ता गर्न आएपछी दर्ता गरिएको वडा सचिवको भनाई छ । ‘सुरुमा अली अन्यौलता जस्तै भयो,वडा सचिवले भने,‘सम्बन्धित ठाउँमा सोधपूछपछी विवाह दर्ताको प्रमाणपत्र दियौं ।’
विवाह दर्तामा अर्घाखाँचीकी फुलमायाँलाई दुलाहा र कपिलवस्तुकी निरमायाँलाई दुलही उल्लेख गरिएको छ । पछिल्लो डेढ वर्षदेखी उनिहरु प्रेम सम्बन्धमा थिए ।
पछिल्लो समय नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएपछि यो विवाह दर्ता सम्भव भएको हो । पछिल्लो केही वर्षयता समलिंगी विवाह दर्ता गर्न ‘छुट्टै रजिस्टर’ कायम गरी विवाहलाई अस्थायी रूपमा दर्ता गर्न थालिएको हो ।
(हाललाई परिचय गोप्य राख्ने विवाहित जोडीको आग्रहपछी सबै परिचय गोप्य राखिएको छ ।)